Home :: Press Release :: Contact :: Login
संविधान सभा/व्यवस्थापिका–संसद
महिला सभासद् समूह/महिला समूहको नियमावली, २०६५
प्रस्तावनाः मुलुकमा लोकतन्त्र स्थापनार्थ भएका हरेक राजनीतिक आन्दोलनमा महिलाहरुले पुर्याएको योगदानको स्मरण गर्दै आजसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलव्धीहरुलाई संस्थागत गर्न, संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मर्म अनुरुप राज्यको अग्रगामी पुनर्संरचनामा सघाउ पुर्याउन, विद्यमान लैङ्गिक असमानता हटाई न्याय र समानतामा आधारित समतामूलक समाज निर्माण गर्र्न, महिलाहरुको साझा सवालमा आपसी सद्भाव र समझदारी कायम गर्दै नयाँ संविधानमा महिला हक अधिकारका सवाललाई सुनिश्चित गर्न सामूहिक रुपले क्रियाशील रही राज्यको राजनीतिक, आर्थिक, सामाजिक लगायत सबै क्षेत्रमा महिलाहरुको भूमिकालाई प्रभावकारी बनाउन संविधान सभा/व्यवस्थापिका–संसदका महिला सदस्यहरुको समूह गठन र तत् सम्वन्धमा अन्य व्यवस्था गर्न वाञ्छनीय भएकोले संविधान सभाका अध्यक्ष/व्यवस्थापिका–संसदका सभामुखको सहमति र महिला सभासद्हरुको स्वीकृतिमा यो नियमावली जारी गरिएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस नियमावलीको नाम “संविधान सभा/व्यवस्थापिका–संसद महिला सभासद् समूह/महिला समूहको नियमावली, २०६५” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुने छ।
२. परिभाषाः (१) विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस नियमावलीमा–
(क) “समूह” भन्नाले नियम ३ बमोजिम गठन भएको संविधानसभाका महिला सदस्यहरुको समूहलाई सम्झनु पर्छ।
(ख) “अध्यक्ष” भन्नाले संविधानसभाको अध्यक्षलाई सम्झनु पर्छ।
(ग) “उपाध्यक्ष” भन्नालेे संविधान सभाको उपाध्यक्षलाई सम्झनु पर्छ।
(घ) “सभामुख” भन्नाले व्यवस्थापिका–संसदको सभामुखलाई सम्झनु पर्छ।
(ङ) “उपसभामुख” भन्नालेे व्यवस्थापिका–संसदको उप–सभामुखलाई सम्झनु पर्छ।
(च) “सदस्य” भन्नाले नियम ३ बमोजिम गठित समूहको सदस्यलाई सम्झनु पर्छ र सो शव्दले समूहको कार्यकारिणी समितिको पदाधिकारी समेतलाई जनाउँछ।
(छ) “पदाधिकारी” भन्नाले समूहको कार्यकारिणी समितिको पदाधिकारीलाई सम्झनु पर्छ।
(ज) “महासचिव” भन्नाले व्यवस्थापिका–संसदको महासचिव सम्झनु पर्छ र सो शव्दले महासचिव नरहेको अवस्थामा महासचिवको काम गर्न सभामुखले तोकेको व्यवस्थापिका–संसद सचिवालयको अधिकृत कर्मचारी समेतलाई जनाउँछ।
(झ) “संयोजक” भन्नाले महिला सभासद् समूह/महिला समूहको कार्यकारिणी समितिको संयोजकलाई सम्झनु पर्दछ।
(ञ) “सह–संयोजक” भन्नाले महिला सभासद् समूह/महिला समूहको कार्यकारिणी समितिको सह–संयोजकलाई सम्झनु पर्दछ।
(ट) “पूर्ण भेला” भन्नाले समूहको सम्पूर्ण सदस्यहरुको बैठकलाई सम्झनु पर्दछ।
३. समूहको गठनः (१) संविधान सभा/व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने महिला सभासद्/महिला सदस्यहरुको एक समूह गठन गरिएको छ।
(२) उपनियम (१) बमोजिम गठित समूहमा संविधान सभा/व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण महिला सदस्यहरु सदस्य हुन सक्नेछन्।
(३) समूहको नाम नेपालीमा ”संविधान सभा/व्यवस्थापिका–संसद महिला सभासद् समूह” रहनेछ। जसलाई अंग्रेजीमा ऋबगअगक या तजभ ध्य्कभल : झदभचक या ऋयलकतष्तगभलत ब्ककझदथिरीभनष्कबितगचभ(एबचष्बि्कभलत भनिनेछ।
(४) समूहको कार्यालय व्यवस्थापिका–संसद सचिवालय परिसरभित्र रहनेछ।
४. समूहको उद्देश्यः समूहका उद्देश्यहरु देहाय बमोजिम हुनेछन् :
(क) नयाँ बन्ने संविधानमा महिला हक अधिकारलाई सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने,
(ख) मुलुकमा शान्ति स्थापना गरी दिगो विकास र समुन्नति कायम गर्ने मार्गमा महिला सभासद्हरुको भूमिकालाई प्रभावकारी बनाउने,
(ग) संघीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन प्रणालीको मर्म अनुरुप राज्यको अग्रगामी पुनर्संरचना गर्न सक्रिय सहभागी हुने,
(घ) राज्यले लिने समग्र नीति निर्माणमा महिला सभासद्हरुको रचनात्मक योगदान र भूमिकालाई सुदृढ बनाउने,
(ङ) संविधान सभा, व्यवस्थापिका–संसद र सरकारका विभिन्न अङ्गहरु वीच राजनैतिक, आर्थिक, सामाजिक–सांस्कृतिक रुपान्तरण लगायत जनहितका सवालमा समन्वयात्मक रुपमा कार्य गर्ने,
(च) महिला वर्गलाई शसक्तिकरण गरी राष्ट्रिय जीवनका हर क्षेत्रमा बहुआयामिक भूमिका निर्वाह गर्न सक्षम र सक्रिय बनाउन क्रियाशील रहने,
(छ) राज्यको हरेक संरचनामा महिला वर्गको समानुपातिक र समावेशी सहभागिता सुनिश्चित गर्न क्रियाशील हुने,
(ज) महिला हक हितका सवालमा सदस्यहरुको विशेषज्ञता विकास गर्ने,
(झ) राष्ट्रहित र जनहित अनुकुल राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा पारित सन्धि, अभिसन्धि एवं प्रतिवद्धताहरु कार्यान्वयन गराउन पहल गर्ने,
(ञ) लैंगिक भेदभाव लगायत सबै प्रकारका विभेद अन्त गर्न पैरवी गर्ने, लविङ्ग गर्ने तथा आवश्यक नीति निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने।
(ट) महिलामाथि हुने हिंसाका सम्बन्धमा तत्काल आवश्यक कार्य गर्ने।
५. समूहका कार्यहरुः समूहले नियम ४ मा उल्लिखित उद्देश्य पूरा गर्न निम्नानुसारका कार्यहरु गर्न सक्नेछः
(क) नयाँ संविधानमा महिला हक अधिकारलाई सुनिश्चित गर्न एकीकृत धारणा वनाई आपसी सद्भाव र समझदारीका आधारमा सशक्त ढंङ्गले क्रियाशील रहने।
(ख) महिलाहरुसंग सम्वन्धित विषयमा संविधान सभा र व्यवस्थापिका–संसदमा हुने छलफलमा महिलाको हित रक्षार्थ सहभागी हुने र प्रचलित कानूनहरुमा समयानुकुल संशोधन गर्न र आवश्यकता अनुरुप नयाँ कानून निर्माण गर्न अग्रसर हुने।
(ग) संविधानसभा/व्यवस्थापिका–संसद सचिवालयमा रहेको महिला श्रोत केन्द्रलाई महिलासंग सम्वन्धित सबै सूचना एवं जानकारीहरु एकीकृत रुपमा उपलव्ध हुन सक्ने गरी विकसित गर्ने।
(घ) उद्देश्य अनुकुलका विषयहरुमा देशभित्र सभा सम्मेलन, सेमिनार, गोष्ठि र छलफल कार्यक्रम सञ्चालन गर्ने। साथै नयाँ संविधानमा समावेश हुनु पर्ने महिला हक अधिकारका विषयमा विज्ञ, सरोकारवाला एवं जनसाधारण महिला हरुको राय सल्लाह लिई महत्वपूर्ण सुझावहरु लाई संविधानमा समावेश गर्न पहल गर्ने।
(ङ) उद्देश्य अनुरुप महिला हक हित लगायत सबै सवालमा संविधानसभा र व्यवस्थापिका–संसदका समिति एवं उप– समितिहरुलाई आवश्यक सुझाव एवं सिफारिस गर्ने।
(च) महिला सम्वन्धी सरकारी खर्चको विनियोजन रकम साथै सरकारी कार्यक्रमहरुको रेखदेख तथा मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव दिने।
(छ) महिलाको हित प्रवर्द्धन र महिला सशक्तिकरण गर्न र उद्देश्य अनुरुप स्वदेश वा विदेशमा आवश्यक अध्ययन अवलोकन भ्रमण आदिको व्यवस्था गर्न समूहको कार्यकारिणी समितिको निर्णयानुसार सम्बन्धित क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी संघ सस्थाहरुसंग सम्बन्ध र सम्पर्क स्थापित गरी अनुभव र विचार आदान प्रदान तथा अन्य उपयोगी कार्य गर्ने।
(ज) समूहका सदस्यहरु तथा समूहको सचिवालयमा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न विभिन्न अनुसन्धानमूलक तथा विकासका कार्यहरु गर्ने।
६. आर्थिक श्रोत एवं सहयोग जुटाउने : (१) समूहका सदस्यहरुले समूह संचालनका लागि कार्यकारिणी समितिले निर्धारण गरे बमोजिमको आर्थिक सहयोग गर्नु पर्नेछ।
(२) कार्यकारिणी समितिले नेपाल सरकार, विदेशी संघ संस्था तथा व्यक्तिबाट आवश्यक सहयोग लिन सक्नेछ।
७. समूहको कार्यकारिणी समितिः (१) समूहको साधारण सभाले २३ सदस्यीय एक कार्यकारिणी समितिको गठन गर्नेछ।
(२) उपनियम (१) बमोजिम गठन हुने कार्यकारिणी समितिमा संविधान सभा/व्यवस्थापिका–संसदमा रहेको दलीय संरचनाको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व हुने गरी संयोजक, सह–संयोजक, सचिव र कोषाध्यक्ष लगायतका पदाधिकारी र अन्य १८ जना सदस्य रहनेछन्।
(३) कार्यकारिणी समितिले विभिन्न विषयमा उपसमिति तथा कार्यदलहरु गठन गरी कामको बाँडफाँड गर्न सक्नेछ।
(४) कार्यकारिणी समितिले आवश्यकता अनुसार समूहको सल्लाहकार मनोनयन गर्न सक्नेछ। मनोनयन गर्दा समावेशी हुने गरी मनोनयन गर्नुपर्नेछ।
८. समूहको कार्यकारिणी समितिको बैठकः (१) समूहको कार्यकारिणी समितिको बैठक कम्तिमा महिनाको एक पटक बस्नेछ। बैठक बस्ने स्थान, समय र दिन संयोजक र निजको अनुपस्थितिमा सह–संयोजकले तोके बमोजिम हुनेछ।
(२) समितिको बैठकको अध्यक्षता संयोजकले गर्नेछ। निजको अनुपस्थितिमा सह–संयोजकले र दुवैको अनुपस्थितिमा सचिवले बैठकको अध्यक्षता गर्नेछ।
९. पदावधिः (१) समूहका पदाधिकारी लगायत सदस्यहरुको पदावधि संविधानसभा अवधिभरको लागि हुनेछ।
तर समूहको संयोजक समूहको कार्यकारिणी समितिका सदस्यहरुमध्येबाट प्रत्येक तिन/तिन महिनामा चयन हुनेछ।
(२) समूहका पदाधिकारीहरु पुनः निर्वाचित हुन सक्नेछन्।
१०. सदस्यताको समाप्तीः (१) देहायको अवस्थामा समूहको सदस्यता समाप्त भएको मानिनेछ :
(क) संविधान सभाको सदस्य नरहेमा।
(ख) स्वेच्छाले समूहमा बस्न नचाहेमा।
११. समूहको पूर्ण भेलाः समूहको कार्यकारिणी समितिको निर्णयानुसार समूहको पूर्ण भेला बस्न सक्नेछ।
१२. समूहको साधारण सभाः (१) समूहको साधारण सभा सामान्यतः वर्षको एकपटक कार्यकारिणी समितिले तोकेको दिनमा बस्नेछ र आवश्यकतानुसार कार्यकारिणी समितिले एकभन्दा बढी पटक पनि साधारण सभा बोलाउन सक्नेछ।
(२) साधारण सभाले समूहको कार्यकारिणी समितिको निर्वाचन गर्नेछ।
(३) सभाले समूहको वार्षिक कार्यक्रम र बजेट पारित गर्नेछ।
(४) सभाले नियमावलीमा संशोधन गर्न आवश्यक ठानेमा सो को लागि साधारण बहुमतको समर्थन सहित कार्यकारिणी समिति मार्फत संशोधनको मस्यौदा पेश गर्न सक्नेछ।
(५) साधारण सभाले कार्य समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ।
१३. गणपूरक संख्या र निर्णयः (१) समूहको कार्यकारिणी समितिमा सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरु उपस्थित भएमा वैठकको गणपूरक संख्या पुगेको मानिनेछ।
(२) समूहको साधारण सभा र पूर्ण भेला बस्नको लागि समूहका तत्काल कायम सम्पूर्ण सदस्य संख्यामध्ये उपस्थित सदस्यहरुको बहुमतलाई गणपूरक संख्या मानिनेछ।
(३) समूहमा सहमतिको आधारमा निर्णय गरिनेछ तर बहुमतको निर्णय समूहको निर्णय मानिनेछ। मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ।
१४. संयोजकको काम, कर्तव्य र अधिकारः यस नियमावलीमा उल्लेख भएको कामको अतिरिक्त समूहको संयोजकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) समूहको उद्देश्य पूरा गर्न नेतृत्व प्रदान गर्ने।
(ख) समूहको समन्वयकर्ताको रुपमा कार्य गर्ने।
(ग) समूहको बैठक बोलाउन सचिवलाई निर्देशन दिने।
(घ) समूहको साधारण सभाको अध्यक्षता गर्ने।
१५. सह–संयोजकको काम, कर्तव्य र अधिकारः समूहको संयोजकको अनुपस्थितिमा संयोजकले गर्ने सम्पूर्ण कार्य गर्नु सह–संयोजकको कर्तव्य हुनेछ।
१६. सचिवको काम, कर्तव्य र अधिकारः (१) संयोजकको निर्देशनमा रही सचिवलेे निम्न लिखित कामहरु गर्नेछः
(क) बैठकको कार्यसूची तयार गरी बैठक समक्ष पेश गर्ने।
(ख) समूहको वार्षिक कार्य योजना तयार पारी अनुमोदनका लागि बैठक समक्ष पेश गर्ने।
(ग) समूहले गरेका निर्णयहरुको कार्यान्वयन सम्बन्धमा भए गरेका कार्यहरुको प्रतिवेदन तयार गरी बैठक समक्ष पेश गर्ने।
(घ) समूहका बैठकबाट भएका निर्णयहरु सुरक्षितसाथ राख्ने।
(ङ) समूहको बैठकबाट पारित भै सुम्पिएका अन्य कार्यहरु गर्ने।
(२) सचिवले आफ्नो कुनै जिम्मेवारी कार्यालय सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ।
१७. कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः समूहको कोषाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
(क) समूहको निर्णय बमोजिम समूहको कोषमा रकम जम्मा गर्ने र खर्चको अभिलेख राख्ने।
(ख) समूहको आय व्यय सम्वन्धी विवरणको लेखा राख्ने र लेखापरीक्षण गर्ने।
(ग) जिन्सी सामानहरुको संरक्षणको व्यवस्था मिलाउने।
(घ) समूहको वार्षिक आय व्ययको विवरण र वार्षिक बजेट तयार गरी कार्यकारिणी समितिबाट पारित वार्षिक कार्यक्रम र बजेट समूहको साधारण सभा समक्ष पेश गर्ने।
१८. समूहको कोष, खाता संचालन र लेखा परिक्षणः (१) समूहलाई प्राप्त हुने सहयोग रकम समूहको नाममा छुट्टै खाता खोली जम्मा गरिनेछ।
(२) कोषको खाता संचालन समूहको कार्यकारिणी समितिको संयोजक र सचिव मध्ये कुनै एक र कोषाध्यक्षको संयुक्त दस्तखतवाट संचालन हुनेछ।
(३) कोषको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ।
(४) आय–व्यय, कोषको संचालन र लेखा परिक्षणका लागि आवश्यक आर्थिक कार्यविधि समूहको कार्य समितिले तय गरे बमोजिम हुनेछ।
१९. व्यवस्थापिका–संसद सचिवालयले समूहलाई गर्ने सहयोगः (१) व्यवस्थापिका–संसदको महासचिवले सचिवालयको एक अधिकृत कर्मचारीलाई समूहको कार्यालय सचिव भै काम गर्न र आवश्यकता अनुसार अन्य कर्मचारीलाई समूहको कार्यमा खटाइ सहयोग गर्न सक्नेछ।
(२) कार्यालय सचिव समूहको कामको सन्दर्भमा समूह र कार्यकारिणी समितिप्रति उत्तरदायी हुनेछ।
(३) समूहको कार्यालयका लागि आवश्यक भौतिक साधन सहितको कार्य कक्ष सचिवालयले उपलव्ध गराउनु पर्नेछ।
(४) समूहलाई सहयोग स्वरुप प्राप्त भौतिक सम्पत्ति व्यवस्थापिका–संसद सचिवालयको जिन्सी खातामा आम्दानी बाँधी समूहले उपयोग गर्नु पर्नेछ।
२०. समूहको कार्यालय सचिवको काम, कर्तव्य र अधिकारः समूहको कार्यालय सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) संयोजकको आदेशानुसार बैठकको सूचना सदस्यहरुलाई उपलव्ध गराउने।
(ख) समूहको बैठकको अभिलेखहरु सुरक्षित राख्ने।
(ग) समूहको बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्ने सिलसिलामा पत्राचार गर्ने।
(घ) समूह र व्यवस्थापिका–संसद सचिवालय बीच समन्वय गर्ने।
(ङ) समूह एवं संयोजकले तोकेका अन्य कार्यहरु गर्ने।
२१. नियमावलीमा संशोधनः समूहको साधारण सभाको साधारण बहुमतबाट यस नियमावलीमा आवश्यक संशोधन गर्न सकिनेछ।