Newsroom

महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” २०७७ लोकापर्ण

25 Nov 2020

महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” २०७७ लोकापर्ण महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्रि श्री लिलानाथ श्रेष्ठज्यू, राष्ट्रिय महिला आयोगकका सचिव श्री शान्ता अधिकारी भट्टराई, राष्ट्रिय मानव अधिकार आयोगका सचिव श्री वेदप्रसाद भट्टराइ र हिंसा प्रभावितहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष श्री शान्ती पाशवानले आज गर्नुभएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” को लोकार्पण २५ नोभेम्बर २०२० महिला हिंसा विरुद्धको दिवसका अवसरमा भर्चुअल रुपमा सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता संस्थाका कार्यकारी अध्यक्ष रामवती चौधरीले गर्नुभएको थियो र कार्यक्रमको उद्देश्यहरुमाथि प्रकाश पार्दै ओरेक नेपालका कार्यकारी निर्देशक श्री लुभराज न्यौपाने ज्यूले उपस्थिती सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

अन्वेषीको तयारीका लागि संयोजनको भुमिका निर्वाह गर्नुभएको संस्थाका कार्यक्रम अधिकृत सुलोचना खनालले अन्वेषीको विश्लेषणात्मक प्रतिवेदनको सांराशलाई प्रस्तुत गर्नुभएको थियो । पुस्तकमा “जुलाई २०१९ देखि जुन २०२०” सम्म ओरेक नेपालमा अभिलेखीकरण (सङ्कलन) गरिएका महिलामाथि भएका कूल १७०७ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण गरिएको छ । जसमध्ये सबैभन्दा बढी ६७.१ प्रतिशत ११४५ महिलाहरूमाथि घरेलु हिंसा भएको छ । त्यस्तै गरी ११.१ प्रतिशत (१८९) महिलाहरू सामाजिक हिंसाबाट, १०.४ प्रतिशत (१७८) महिलाहरू बलात्कारबाट, २.३ प्रतिशत (४०) महिलाहरू बलात्कारको प्रयासबाट, ३.७ प्रतिशत (६३) महिलाहरू यौनिक हिंसाबाट प्रभावित भएका छन् । यसैगरी ०.८ प्रतिशत (१३) महिलाहरूको हत्या, ०.१ प्रतिशत (२) महिलाहरूको हत्याको प्रयास, ०.६ प्रतिशत (१०) महिलाको बेचबिखन गरिएको र ३ जना महिलाहरुको बेचविखनको प्रयास भएको पाइएको छ भने, महिला हिसांकै कारण ३८ जनाले आत्महत्या गरेको र ४ जना महिलाले आत्महत्या प्रयास गरेका घटनाहरु अभिलेखीकरण भएका छन् । महिलामाथि सबैभन्दा बढी आफ्नै श्रीमान्बाट ५४ प्रतिशत (९२६) र घरपरिवारका सदस्यबाट १८ प्रतिशत (३०९) हिंसा भएको पाइएको छ । यस तथ्याङ्कले घरभित्रै महिला तथा बालिकाहरुमाथि हुने हिंसा र त्यसले निम्त्याएको जोखिम र असुरक्षालाई प्रस्तुत गरेको छ । महिलाहरू सबैभन्दा बढी आफ्नै भनिने  र सबै भन्दा बढी माया गर्ने भन्ने ठानिएका व्यक्तिहरूबाट नै असुरक्षित रहेका छन् भन्ने मान्यतालाई पुष्टी यस तथ्याङ्कले गरेको छ । महिलामाथि हुने हिंसा विशेषतः घरेलु हिंसालाई निजी र नितान्त घरभित्रको मामिलाका रूपमा मात्र लिइएको छ, हालसम्म पनि गम्भीर सवालका रूपमा घरेलु हिंसा स्थापित हुन सकेको छैन । देश भित्र स्थापित विभेदपूर्ण सामाजिक संरचनाहरूका कारण महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोणमा व्यक्तिगत देखि नीतिगत तहसम्म परिवर्तन हुन सकेको छैन जसका कारण घरेलु हिंसा तथा महिलामाथि हुने हिंसाले निरन्तरता पाउँदै आएको छ ।

कोभिड १९ को महामारीको समयमा महिला तथा बालिकामाथि भएको हिसाको जोखिमको अवस्थालाई समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । यस अवधि (चैत्र ११ २०७६ देखि श्रावण ६, २०७७ ) मा मात्रै कूल १०४२ जना महिला तथा बालिका माथि विभिन्न स्वरुपमा हिंसा भएको पाइएको छ । यस घटनालाई विश्लेषण गर्दा समग्र तथ्याँकको ६१ प्रतिशत भन्दा बढी घटना यसै समयमा घटेको देखिएको छ । त्यसैले महामारी तथा विपत्तीको अवस्थालाई मध्यनजर गर्दै जुनसुकै विषम परिस्थितिमा पनि हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहज रुपमा उजुरी गर्ने र न्याय पाउने वातावरण तयार गर्न सबै स्थानीय तह तथा निकायले उजुरी गर्ने र आवश्यक सेवा प्रदान गर्ने कार्यलाई संवेदनशिलताका साथ प्रभावकारी रूपमा सञ्चालनमा सरकारले जोड दिनुपर्दछ । 

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्रि श्री लिलानाथ श्रेष्ठज्यू ले महिलामाथि हुने हिंसा मानव अधिकार हनन्को निकृष्ट अपराध हो । हिंसा न्यूनीकरणका लागि मन्त्रालय सँधै प्रतिवद्ध रहेको र मन्त्रालयले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई आफ्ना नीति निर्माणमा लैंगिक समानता तथा हिंसा अन्त्यका लागि प्रभावकारी कदम चाल्न निर्देशन समेत दिएकोमा जोड दिनु भएको थियो । महिलामाथि हुने हिंसा अन्त्यका लागि सरकार लगायत प्रत्येक व्यक्ति, परिवार संघ संस्था आदि सबैको सहकार्य तथा ऐकेवद्धता आवश्यक रहेकोमा समेत जोड दिनु भएको थियो ।

राष्ट्रिय महिला आयोग का सचिव श्री शान्ता अधिकारी भट्टराइले सबैभन्दा बढी हिंसा घरभित्रै भएको तथ्याँकले उजागर गरेको छ त्यसैले घरभित्रबाट नै हिंसा निवारणका लागि अभियान सञ्चालन गर्नुपर्ने र हिसाको अन्त्यविना समानतामूलक समाजको निर्माण हुन नसक्ने भएकोले नेपाल सरकाले हिंसा विरुद्ध लिएको शून्य शहनशीलताको नीतिलाई कार्यान्वयन गर्ने तर्फ जोड दिनपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा हिंसा प्रभावित महिलाहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष शान्ती पाशवानले लामो र झन्झटिलो कानुनी प्रत्रिया, कानुनको प्रभावकारी कार्यान्व्यनको अभावले गर्दा हिंसा प्रभावित महिलाहरुले न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । साथै नेपाल सरकारले हिंसा प्रभावित महिलाहरुका लागि दिगो जीविकोपार्जनका कार्यक्रम ल्याएर आर्थिक शसक्तिकरण गर्नुपर्ने तर्फ जोड दिनु भएको थियो । 

संस्थाका कार्यकारी सदस्य तथा पुस्तकका सम्पादक दुर्गा कार्कीले कार्यक्रममा समग्र महिलामािथ भएको हिंसा र हिंसा प्रभावितहरुको न्याय पहुँचको अवस्थालाई जोड दिँदै आफ्ना भनाइहरु राख्नु भएको थियो भने सहभागीहरुलाई धन्यवाद सहित कार्यक्रमको समापन संस्थाका कार्यकारी सचिव श्री चाँदनी रानाले गर्नुभएको थियो । कार्यक्रमलाई सहजीकरण ओरेकको महिला हिंसा विरुद्धको अभियानका बरिष्ठ कार्यक्रम संयोजक सञ्जिता तिम्सिनाले गर्नुभएको थियो ।

कार्यक्रममा सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरु, पत्रकार तथा मानव अधिकारको सवालमा क्रियाशिल महिला मानव अधिकार रक्षकहरु÷अधिकारकर्मी लगायत गरी ८० भन्दा बढीको सहभागिता रहेको थियो ।


ओरेक नेपालले सन् २००८ देखि नै देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक“अन्वेषी”महिला हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ । महिलामाथि हुने हिंसाको अवस्था र महिलाको न्यायमा पहुँचको अवस्थालाई विश्लेषण गरी तयार गरिएको वर्ष पुस्तकले समग्र रुपमा महिलाको मानवअधिकार हनन्को अवस्था र यसको सम्बोधनका लागि समुदाय स्तरदेखि नीतिगत स्तरसम्म आवश्यक कार्यहरु गर्नका लागि सरोकारवालाहरुलाई दिशा निर्देश गर्ने विश्वास संस्थाले लिएको छ ।

प्रकाशन डाउनलोड लिंक अन्वेषी डाउनलोड गर्न क्लिक गर्नुहोस्