दाङ्ग जिल्ला, घोराही नगरपालिका, वडा नं. ३, बालिममा आमा कविता शर्मा र बुवा गिरीराज शर्माकाी जेठी छोरीको रूपमा जन्म लिएकी नारायणी देवकोटाका ३ दाजुभाइ र २ बहिनी छन् । बाल्यकालमा घरको साँझबिहानको काममा आमालाई सघाउँदै विद्यालय जाने र फर्केपछि भाइबहिनीहरूको स्याहार गर्दैमा बित्यो ।
१० कक्षासम्म गाउँ नजिकैको विद्यालयमा पढिन् । पढ्दापढ्दै २० वर्ष पुगेपछि अब छोरीको विवाह गर्नुपर्छ भनेर बुवा आमाले इष्टमित्र लगाएर दंगीशरणमा बसोबास गर्दै आएका डोलराज देवकोटासँग उनको विवाह गरिदिए ।
बुहारी भएर घरमा भित्रँदा सासू, ससुरा, नन्द, देवर गरी ८ जनाको परिवार रहेको थियो । उनको दिनचर्या बिहानदेखि बेलुकासम्म घरधन्दा गर्दा र सासू, ससुराको स्याहार गर्दा एक छिन फुर्सद हुँदैनथ्यो ।
यसै क्रममा गर्भवती भइन् । गर्भावस्थामा पनि उचित स्यहार र आराम गर्न पनि पाइनन् । घरमा नै बच्चा जन्माइन्। यसै समयमा माइतमा आमाको मृत्यु भएको खबर सुनेर निकै दुःखित भइन् ।
२०६३ सालमा ओरेक नेपालले श्री पृथ्वी मा.वि.मा महिला स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ भन्ने खबर सुनेपछिको कुरा सम्झँदै नारायणी देवकोटा भन्छिन्, “मलाई पनि सेतो पानी बग्ने र तल्लो पेट दुख्ने समस्याले सताएको थियो । कसैलाई भन्न सकेको थिइनँ । शिविरमा म पनि जान्छु भनेर श्रीमान्सित अनुमति मागें । अनि गाउँका महिला दिदीबहिनीहरूसित शिविरमा आउँदा धेरै महिलाहरूको सहभागिता देखें ।“
महिलाहरूलाई पालैपालो टेन्टभित्र लगेर स्वास्थ्यको बारेमा जानकारी दिएको देखें । अनि मेरो पालो आयो । भित्र गएर धेरै कुरा सिक्न्ने मौका पाएँ । त्यही समयमा पाठेघर खसेको र यसलाई कति समयदेखि दबाएर आएका महिला दिदीबहिनीहरूका समस्याले मेरो मन छोयो ।
यस्ता समस्याहरू महिलामाथि भएका हिंसा जस्तै सानै उमेरमा विवाह गर्नु, बच्चा जन्माउनु, सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु आदि जस्ता कारणले महिलाको स्वास्थ्यमा गम्भीर असर परेको बारेमा ओरेकले त्यही समयमा दिएको अभिमुखीकरणबाट थाहा पाएँ ।
यी कुरा सुनेर मन प्रफुल्ल भयो । अनि मेरो पनि जँचाउने पालो आयो र जँचाएर घर फर्किंदा ढिला भइसकेको थियो ।
शिविरमा नै महिला स्वास्थ्य परामर्श केन्द्रबारे जानकारी पाएकी हुँदा अर्काे महिना पनि महिला स्वास्थ्य परामर्श केन्द्रमा गएँ । त्यहाँ दिएको सल्लाह अनुसार जडीबुटी प्रयोग गरेर मलाई सन्चो भयो ।
समुदायमा अन्य महिला दिदीबहिनीहरूलाई पनि जानकारी गराएँ । महिला स्वास्थ्यको लागि ओरेकले निःशुल्क उपचार गर्छ भनेपछि महिलाहरूलाई लैजान गाह्रो पनि भएन । स्वास्थ्य सेवा लिन आएका महिलाहरूलाई भेला गरेर म महिला हिंसा र यसले स्वास्थ्यमा कस्तो कस्तो असर पार्छ भनेर पनि जानकारी दिन थालें ।”
नारायणी भन्छिन्, “एक दिन महिला स्वास्थ्य परार्मश केन्द्रमा सेवा लिन आउने महिलाहरूको भेला भयो । म पनि त्यस कार्यक्रममा सहभागी भएँ । उक्त कार्यक्रममा धेरै कुरा सिक्ने मौका पाएँ । सोही कार्यक्रममा महिला स्वास्थ्य नेटवर्क गठन भयो ।
मलाई पनि त्यसमा बस्न मन लाग्यो । म पनि त्यसको सदस्य भएँ । अनि, हाम्रो गाउँमा पनि महिलाहरूलाई धेरै समस्या छ, त्यहाँ समूह गठन गर्नु पर्ने आवश्यक रहेको बताएँ । त्यसपछि त्यहाँ पनि महिला समूह गठन भयो ।”
समूहको निर्माण गर्न पहल गरेको बारे नारायणी भन्छिन्, “महिलाका समस्या पहिचान गर्न र समस्या समाधानका लागि समूहको जरुरी छ भनी जागृति महिला समूहको निर्माण गरें । यही समूहको सदस्यमा रहेर समुदायको विकासका लागि पनि काम गर्न थालें ।
समूहमा नियमित सहभागी हुन थालें ।अन्य सदस्यहरूसित मिलेर अन्य सामुदायिक काम पनि गर्न थालें । जागृति महिला सामुदायिक संस्थाको सदस्य भएर पनि धेरै काम गर्ने अवसर पाइरहेको छु ।
महिला दिदीबहिनीहरूलाई जम्मा गरेर विभिन्न विषयमा छलफल गराउन पाउँदा र आफूलाई पनि नयाँनयाँ कुरा सिक्न पाउँदा खुशी लाग्छ । अब त महिलाहरूलार्ई होच्याएर बोलेको पनि सुन्न मन पर्दैन ।”
यही समूहबाट नै महिला स्वास्थ्य सञ्जालको पनि गठन भयो । त्यस सञ्जाल मार्फत रहेर महिलालाई स्वास्थ्य अधिकारको बारेमा सचेत गराउँदै नारायणी अगाडि बढ्दै गइन् । कर्मक्षेत्रमा आफैंले पनि धेरै कुरा सिक्ने अवसर पाइन् ।
महिलाको स्वास्थ्य अधिकारको लागि निरन्तर लागिरहने कसम खाएकी छन् नारायणी देवकोटा भन्छिन्, “म कसैको सहयोग नपाउँदा पनि आफ्नो आत्मविश्वासको साथ महिला स्वास्थ्य अधिकारको लागि निरन्तर अगाडि बढिरहें ।
तर अहिले महिलाहरू एकजुट भई आफ्नो अधिकारको बारेमा बोल्न थालेपछि बिस्तारै सासू, ससुरा र श्रीमान्ले पनि सबै कुरा बुझ्नुभयो र सहयोग गर्न थाल्नुभयो ।
त्यसपछि मलाई काम गर्न झन् सजिलो भयो । म हरेक महिलाहरूलाई स्वस्थ्य भएको देख्न चाहन्छु । जान मन लागेको ठाउमा घुम्न र विभिन्न कार्यक्रमहरूमा सहभागी हुन मन पर्छ र अरूले कुरा काटेको ठ्याम्मै मन पर्दैन । फुर्सदको समयमा परिवारहरूसँग बस्न, दिदी बहिनीहरूसँग बसेर समस्याको बारेमा छलफल गर्न रमाइलो लाग्छ ।”
ठेगाना:दंगीशरण गाउँपालिका, वडा नं. ७, श्रीगाउँ
संलग्नता: जागृति महिला सामुदायिक संस्था, महिला स्वास्थ्य नेटवर्क, कृषि सहकारी संस्था, सिद्ध महिला बचत तथा ऋण सहकारी संस्था,
उमेर: ३४ वर्ष