शोभा वि.क.को जन्म २०१४ सालमा भारतको नयाँ दिल्लीमा भएको थियो । उनका दाजुभाइ थिएनन् । तीन दिदीबहिनीमध्ये उनी जेठी छोरी हुन् । उनका आपना दाजुभाइ नभएकाले कारण समाजको उनलाई हेर्ने दृष्टिकोण निकै फरक रहेको उनको अनुभव छ ।
वंशानुगत कारणले उनका पनि छोरा नहुने भनेर शोभा र उनका बहिनीहरूलाई तिरस्कार गर्ने मान्छे पनि थिए समाजमा । उनका लागि स्कूल पढ्नु त सपना थियो । १३ वर्षको कलिलो उमेरमा हुदा नै उनका बुवाआमाले उनीभन्दा १५ वर्ष जेठो केटासँग बिहे गरिदिए ।
उनको बाल्यकाल भारतमा बितेको थियो । विवाहपछि नेपाली समाजका कामधन्दा गर्न नजान्दा उनले परिवारबाट शारीरिक र मानसिक यातना भोग्नुपरेको थियो । शोभालाई १५ वर्षको उमेरमा बच्चा जन्माउँदा धेरै समस्या भयो । श्रीमान्बाट पनि सहयोगको सट्टा यातना नै पाइन् ।
दुःख उनको लागि कहिल्यै नौलो बनेन । २०५८ सालमा लुथुरनले प्रौढ कक्षा सञ्चालन ग¥यो । उनले त्यो कक्षा पढेर केही कुरा सिकिन् । आफूले धेरै दुःख पाएकाले अरू दुःख पाउने मान्छेलाई पनि सहयोग गर्ने सोच उनको मनमा पैदा भयो ।
त्यसपछि मौका पाउँदा उनले समाजसेवा गर्ने अवसर गुमाइनन् । राती नै घरको सबै काम गरेर समाजसेवामा भाग लिन थालिन् । यसरी समाजसेवामा लागेर नै उनले सक्रिय महिलाको रूपमा आफूलाई चिनाउने मौका पाइन् । उनी र उनका श्रमिान् संयुक्त परिवारबाट छुट्टिएर बेग्लै बसे । बिस्तारै उनका छोरा पनि हुर्किए ।
श्रीमान् पनि उनलाई सहयोग गर्न थाले । समाजले पनि उनलाई पत्यार गर्न थाल्यो । २०७० सालमा माओवादी पार्टीमा प्रवेश गरिन् । त्यही वर्ष उनका श्रीमान्को मृत्यु भयो । दुःखलाई बिर्सन समाजसेवाले सहयोग गर्यो। २०७४ सालको स्थानीय निर्वाचनमा दलित महिला उमेदवार बनेर वडा सदस्यमा उठिन् पनि । निर्वाचनमा हार भए पनि उनी समाजसेवालाई निरन्तरता दिइरहेकी छन् ।
शोभाका तीन ओटा छोरा छन् । उनी अहिले परिवारसँग बसेकी छन् । उनका सबै छोराको बिहे भइसकेको छ । १८ जनाको परिवारमा उनी अभिभावक हुन् ।
सबै कुरा सामान्य छ । छोरीले किरिया गर्नु हुँदैन भनेर बुवा मरेपछि काकाको छोरालाई किरिया गर्न लगाएकी थिइन् उनकी आमाले । किरियामा बस्ने भाइले आमालाई ‘अपुताको किरिया गर्दा धेरै सोच्नुपर्छ ।’ भनेको कुराले उनको मुटुमा धेरै ठूलो चोट परेको थियो । अहिले छोरीले किरिया गर्न पाउनुपर्छ भनेर समाजमा मेरो ठूलो लडाइँ छ । धेरै छोरीहरूले बाबुको किरिया गरेको सुन्दा र देख्ता उनलाई आनन्द आउँछ ।
शोभा भन्छिन्, “पहिलो कुरा म महिला हँु । जन्मेको घरदेखि अहिलेसम्म मैले विभिन्न खालका हिंसा भोगेकी छु । महिला हिंसा छोरीको विषय हो भन्ने ठानेर नै त्यसका विरुद्ध लागेकी हुँ । २०७२ सालमा बाढीपछि ओरेक नेपालले दलित बस्तीमा समूह गठन ग¥यो ।
म त्यो समूहमा उपाध्यक्ष भएँ । अनि मैले धेरै कुरा सिक्ने मौका पाएँ । राम्रा कुरालाई मनमा राखेर, नराम्रो कुरालाई फालेर आफ्नै गतिमा निरन्तर अडिग भएर समाजसेवामा लागिरहें ।
मलाई बाटो देखाउने समाज र संघसस्ंथा एकदमै महत्त्वपूर्ण लाग्छ । पहिलेभन्दा महिलाका हक र अधिकारका कुरामा केही परिवर्तन भएको जस्तो लाग्छ । अझै पनि हाम्रो समाजमा अन्धविश्वास र कुरीतिको भण्डार छ ।
आफ्नी नातिनीलाई पहिलो पटक बोर्डिङ्ग स्कूलमा पढ्न पठाउने पहिलो दलित परिवार भनेर समाजमा कुरा भएको सुनेर सन्तुष्ट छु । मलाई सबैभन्दा मन पर्ने कुरा भनेको सबै बालबालिका स्कूल गइरहेको अवस्था नै हो ।
अहिले समुदायमा सानो उमेरमा भगेर बिहे गरेको भने पटक्कै मन पर्दैन । समाजसेवा गर्दै जाँदा आइपर्ने जुनसुकै काम गर्न तयार छु । पैसा कमाउने उद्देश्यले समाजसेवा गर्नु हुँदैन । निष्पक्ष तरिकाले सेवा गर्नु नै मानव धर्म हो ।”
ठेगाना: भजनी नगरपालिका, नयाँ बस्ती वडा नं. ५ कैलाली जिल्ला
संलग्न संस्थाहरू: दलित अधिकार समूह , महिला समूह
उमेर : ६२ वर्ष