Stories

महिला उद्यमशीलता सहजीकरण :डोमनी बती चौधरी

03 Jun 2021

आँगनभरि पाठापाठी खुदिरहेको थियो । बाँसको टाटीमा जँगलबाट ल्याएको घाँस झुन्ड्याएको थियो । सबै बाख्रा र त्यसका पाठापाठीहरु भोख लागेको कारण घाँस खानलाई तछारमछार गर्दै खाइरहेको थियो । उनीहरुलाई झग्डा नगरी घाँस खानका लागि सहयोग गरिरहेकी थिइन् डोमनी बती चौधरी । उनी लहान नगरपालिका वडा नं. १५ ढोडनामा बस्छिन् । उनको हातमा खसी बाख्रा पाल्ने जादु नै भएको गाउँ छिमेकले प्रंशसा गर्ने गरेको उहाँले हास्दै सुनाउनुभयो । 


उहाँसँगै छिमेकीहरुले पनि बाख्रा पाल्ने भनेर तीन वटा पाठी किनेर घरमा लगे । उहाँको पनि तिन वटा नै किन्ने योजना थियो तर घरको अर्को काममा अरु नगद खर्च भएका कारण उहाँले एउटा मात्रै पाठी किनेर घरमा लग्नुभयो । त्यो एउटा पाठीले ६ महिना पछि २ वटा पाटी नै जन्मायो । यसरी उहाँको आँगन भरि अहिले ३५ वटा बाख्रा, खसी र साना साना पाठापाठी छन् । 


५५ वर्षिय डोमनी बती चौधरीले ५ वटा छोरीको पढाई सकाएर पाँचै जना छोरीको घरजम गरेर पठाई सक्नुभएको छ  । कान्छो छोरा ओभरसियर गरेर काठमाण्डौको प्राइभेट कम्पनीमा काम गर्छन् भने उहाँको श्रीमानले बाख्रा पालनमा सहयोग गर्नुहुन्छ । 


उहाँले द्धन्द्धकालमा पनि २० वटा गाई जँगलको छेउमै पाल्नु भएको थियो । गाई र बाख्रा पालनबाट छोराछोरीको पढाई र बिहेको खर्च जुटाएको उहाँले सुनाउनु भयो । 


२०७७ कार्तिकमा ओरेक नेपालको आयोजनामा सामुदायिक संस्थाको पदाधिकारीहरुलाई बैकका म्यानेजरद्धारा एक दिने अभिमुखिकरण कार्यक्रम राखेको थियो । त्यो कार्यक्रममा उनी अग्रणी संजाल  सिरहाकी सदस्य भएको कारण सहभागी हुन पाउनु भएको थियो । त्यो कार्यक्रममा महिलाहरुले फर्म दर्ता गरेर व्यापार गर्छु भनेर आउँदा बैंकले लोन दिन नहिचकिचाउने कुरा सुन्नासाथ उनले घर जाने बितिकै फर्म दर्ता गर्ने निर्णय गर्नुभयो । 


२०७७ पुष १३ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा मोहित बाख्र्रा फार्म दर्ता गराउनु भयो । उनलाई बिना धितो लोन दिन्छ भन्ने कुरा पनि थाहा थिएन् तर अहिले बिना धितो लोन निकालेर फर्मलाई व्यवसायिक बनाउनका लागि लोनको प्रोसेस सकेर कामलाई अगाडि बढाउनु भएको छ । घरभन्दा टाडा चौरीमा बाख्राको फर्म बनाउन थालनी गर्नु भएको छ ।