Newsroom

२ महिनामा ५०४ जना महिला/बालिका/किशोरी माथि हिंसा, ५२ प्रतिशत हिंसाका जिम्मेबार १७ देखि ३५ बर्ष उमेर समूहका युवाहरु 

05 Jul 2021


 
पृष्ठभुमि 

ओरेकले यस निषेधाज्ञाकोसमयमा ५०४ जना महिला/बालिका तथा किशोरी माथि विभिन्न प्रकारका हिंसा भएको पाईएको छ । गएको २ हप्तामा मात्र(असार १ देखि श्रावण १५ गतेसम्म) १३३ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको तथ्याँकले देखाएकोछ । 

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको २ वटा हटलाईन, २३ जना मनोविमर्शकर्ता, विभिन्न जिल्लामा रहनु भएका महिला मानव अधिकार रक्षकहरु, साझेदार महिला सामुदायीक संघसंस्थाहरुसंगको समन्वयमा यी घटनाहरु अभिलेखिकरण गरिएका हुन्। यी मध्ये १०० वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका छन्। संस्थाले विगतका बर्षहरुदेखि नै माथि उल्लेखित स्रोत तथा संस्थाहरुको सहयोगमा घटना संकलन गर्दै आएको छ ।

अभिलेखीकरण भएका हिंसाका घटना मध्ये सबैभन्दा बढी ५१ प्रतिशत २५६ वटा घरेलु हिंसा, १० प्रतिशत (५१ वटा) सामाजिक हिसा, २० प्रतिशत (१०० वटा बलात्कार), १ प्रतिशत (६ वटा बलात्कारको प्रयास), ३ प्रतिशत (१५ वटा) यौन दूव्र्यवहार, ६ प्रतिशत (३० वटा) हत्या, २ प्रतिशत (१० वटा) हत्या प्रयास, १ प्रतिशत (७ वटा) आत्महत्या, १ प्रतिशत (६ वटा) मानव बेचविखन भएका घटना संकलन भएका छन्। यसैगरी ५ प्रतिशत (२३ वटा) अन्य प्रकारका हिंसा जसमध्ये ३ वटा आत्महत्या प्रयास, ३ वटा एसिड आक्रमण, १६ वटा अलपत्र पारिएका र १ वटा विद्युतीय अपराधसंग सम्बन्धित घटना रहेका छन्। हिंसा गर्ने व्यक्तिहरुमा सबैभन्दा बढी ४६ प्रतिशत (२३४ जना) श्रीमान्रहेका छन्, १८ प्रतिशत (८९ जना) परिवारको सदस्यहरु र १९ प्रतिशत (९४ जना) छिमेकी रहेका छन्। 

हिंसा प्रभावितहरुको उमेर समूहलाई विश्लेषण गर्दा सबैभन्दा बढी १७ देखि २५ वर्ष र २६ देखि ३५ बर्ष उमेर समूहका महिलाहरु हिंसाको सबैभन्दा उच्च जोखिममा रहेको पाइएको छ । यस उमेर समूहका ३०–३० प्रतिशत १५३ र १४९ जना रहेका छन् । यस्तैगरी ३६ देखि ४५ बर्ष उमेर समूहका ११ प्रतिशत (५६ जना), ४६ देखि ५५ बर्ष उमेर समूहका ५ प्रतिशत (२४ जना) ५६ बर्षभन्दा माथिका उमेर समूहका २ प्रतिशत (१० जना) महिलाहरु विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन्। १६ बर्षभन्दा कम उमेरका २० प्रतिशत (१०३ जना) बालिकाहरु हिंसाबाट प्रभावित भएका छन्भने उमेर समूह थाहा नभएका ९ जना हिंसाबाट प्रभावित भएको तथ्याँक अभिलेखीकरण भएको छ ।

यस्तै, हिंसामा संलग्न आरोपित व्यक्तिहरुको उमेरको आधारमा हेर्दा सबैभन्दा धेरै२६ देखि ३५ वर्ष उमेर समुहका ३३ प्रतिशत (१६८ जना) युवाहरु रहेका छन्। यसैगरी २१ प्रतिशत (१०५ जना) जना ३६ देखि ४५ बर्ष उमेर समुहका, १९ प्रतिशत (९५ जना) १७ देखि २५ वर्ष उमेर समुहका यवाहरु, ९ प्रतिशत (४४ जना) ४६ देखि ५५ वर्ष उमेर समूह, ६ प्रतिशत (२९ जना) ५६ बर्षभन्दा माथि उमेर समूहका पुरुषहरुबाट हिंसा भएको पाइएको छ । साथै६५ जना उमेर समुह थाहा नभएका पुरुषहरु र ३ जना १६ वर्ष भन्दा कम उमेरका बालकहरु पनि हिंसामा संलग्न भएको पाइएको छ । तथ्याकंकोआधारमा ३५ वर्षभन्दा कम उमेरका ८० प्रतिशत महिला/बालिका/किशोरीहरुले विभिन्न किसिमका हिंसा भोग्नुपरेको र आरोपित मध्ये १७ देखि ३५ वर्ष उमेर समूहका ५२ प्रतिशत युवाहरु हिंसाको प्रमुख जिम्मेबार रहेको देख्न सकिन्छ ।

यसरी देशको युवा शक्ति नै हिंसामा संलग्न हुनुले समग्र देशको विकासमा नै असर परिरहेको छ । त्यसैले समाजमा रहेको महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तनका लागि व्यक्ति परिवार तथा समाज सवै स्तरमा व्यवहार परिवर्तनमा केन्द्रित भई कार्यक्रमहरु संचालन गर्न आवश्यक छ । साथै पुरुषहरुमा रहेको अधिनायकबादी पुरुषत्वका कारण महिलामात्र प्रभावित भएका छैनन स्वयं पुरुषहरुले पनि विभिन्न किसिमका असरहरु भोग्नुपरेका कुरालाई अघि सार्दै सकारात्मक पुरुषत्व र समानतामुलक समाज निर्माणका लागि जुट्न सवैमा हार्दिक आव्हान गर्दछौं । जसले लैगिंक समानता, महिला तथा बालिकाको पहिचान र समान अस्तित्वलाई स्वीकार गर्दैसम्मान गर्ने वाताबरण तयार गर्न मद्धत पुग्नेछ । साथै हिंसालाई सत्ता र शक्तिको आडमा लुकाउनेर हिंसा प्रभावितलाई नै घटनाको दोषि देख्ने दृष्टिकोणबाट माथि उठि घटनालाई कानुनी दायरामा ल्याउने र दण्डहिनताको स्थिती अन्त्य गर्ने वातावरण तयार गर्न सहयोग पुग्नेछ भन्ने अपेक्षा गरेका छौं ।

लैंगिक हिंसाको सवाल सम्बोधनका लागि बहुपक्षिय समन्वय आवश्यक छ । त्यसैले सवै सरोकारवाला निकायहरुहरुलाई लैंगिक हिंसाको हालको स्थिति प्रति ध्यानाकर्षण गराउँदै सामुहिक रुपमा अघि बढ्न अपिल गर्दछौं ।संस्थासँग आबद्ध मनोविमर्शकर्ताहरुले टेलिफोन तथा सामाजिक संजालको प्रयोग र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट ७४९ जनालाई मनोविमर्श सेवा प्रदान गरेका छन्। जसमध्ये कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित ५११ र लैंगिक हिंसा प्रभावित/ प्रभावितको परिवारका सदस्य २३८ जना रहेका छन्।

धन्यवाद 

लुभराज न्यौपाने
कार्यकारी निर्देशक