WOREC In Media

समाज बदल्दै किशोरी

15 Sep 2021

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ निवासी सुनिता हरीजन किशोरी अधिकार मञ्च रूपन्देहीकी उपाध्यक्ष हुन् । २०५९ साल ४ महिना २८ गते आमा निर्मला हरिजन र बुबा बेकरू हरिजनको कोखबाट जन्मिएकी सुनिता अहिले १८ वर्षकी भइन ।किशोरी सशक्तिकरण तथा बालविवाहविरुद्ध अभियानमा सक्रिय उनी श्री बलरामपुर मा.वि १० कक्षामा अध्यानरत मेधावि छात्रा हुन । सामान्य परिवारमा हुर्केकी सुनिता गाउँकै सचेत किशोरी मध्येमा पर्छिन् ।३ वर्ष पहिले आफ्नै वडामा गठन भएको किशोरी अधिकार मञ्चको अध्यक्षको 
जिम्मेबारी ग्रहण गरेकी उनी त्यसको एक वर्षपछि जिल्लास्तरीय किशोरी अधिकार मञ्चकी उपाध्यक्षको पद सम्हाल्न पुगिन । किशोरी अधिकार मञ्चमा बसेर उनले धेरै प्रकारका क्षमता विकास तथा सीपमुलक तालिमहरू (प्रतिवेदन लेखन, प्याड बनाउने तालिम, क्षमता विकास जस्ता) प्राप्त गरिन ।

तालिमहरू प्राप्त गरिसकेपछि उनको व्यक्तित्व तथा समाजमा समेत ठूलो परिवर्तन ल्याउन सकेकी छन् । बाहिर हिंड्डुल गर्न समेत गाह्रो पर्ने उनको समाजमा उनकै सचेतना, निडरता, लगनशीलता, मिहेनत र इमान्दारिताले अन्य किशोरीप्रतिको दृष्टिकोणमा परिवर्तन आएको छ ।अहिले उनी २ वर्ष अगाडि केयर नेपालद्वारा सुरुवात गरीएको गाउँ बचत तथा ऋण संस्थाको कार्यक्रम चलाइरहेकी छन् । यो कार्यक्रम जिल्लाभर सुरुवात गरिएता पनि अहिले उनको समूहमा मात्र सक्रिय छ । यसको उद्देश्य हप्ताको एकदिन किशोरीहरू एकै स्थानमा भेला हुने, थोरैथोरै रकम बचत गर्ने, त्यो बचत रकमलाई ब्याज आउने गरी लगानी गर्ने, गाउँघरमा भएका किशोरीका तथा अन्य समस्याका बारेमा छलफल गर्ने, लगानी गरेवापत प्राप्त भएको रकम समाजसेवाको निम्ति लगाउने हो । 

उनको समूह अहिले पनि त्यही काममा निरन्तर छ । उनले चलाइरहेको बचतको कार्यक्रमअन्तरगत तीन वटा गाउँका १८ जना किशोरीबाट सुरुवात भएको हो । अहिले ४८ जना किशारी सोही समूहमा आबद्ध छन् ।समूहमा आबद्ध किशोरीहरू हप्तामा २० रुपैयाँ बचत गर्छन् । हप्ताभरीका गाउँका समस्याहरूका बारेमा छलफल गर्छन्, समस्या निराकरण कसरी गर्न सकिन्छ सो को बारेमा छलफल चलाउँछन् । रुपैयाँ बचत जम्मा गर्ने एउटा बाकस बनाएका छन् । लगानी गरी बाँकी रहेको रकम, खाताहरू सबै बाकसमा राख्छन् र चाबी लगाउँछन् । त्यो चाबी अध्यक्ष र उपाध्यक्षले राख्ने गर्छन् । लगानीबाट प्राप्त गरेको ब्याज वापतको रकमले विपन्न परिवारका दुईजना किशोरहरूलाई ६ महिना अगाडि शैक्षिक सामग्रीहरू उगलब्ध गराएका छन् ।उनले समाजका निम्ति थुपै कामहरू गरेकी छन् । ६ जना किशोरीहरूको उनकै पहलमा नागरिकता बनेको छ । ४ जना किशोरीहरूलाई पढ्नका लागि प्रोत्साहन गरेकी छन् । आजकाल उनलाई समाजका कुसंस्कारका विरुद्ध बोल्न र अधिकारका बारेमा बोल्न पाउँदा आनन्द लाग्छ ।सुनिताकै कारण गाउँका अन्य किशोरीलाई बालविवाहविरुद्ध उभिन सघाएको छ ।