कार्तिक १९, २०७८ सन्जु पौडेल
लुम्बिनी — उमेरले १८ पुगेकी सुनिता हरिजन रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा बस्छिन् । कक्षा ११ मा अध्ययनरत उनी देख्दा सानी भएपनि बोली र व्यवहारमा भने परिपक्व भइसकेकी छन् ।
सानो छँदा लजालु स्वभावकी सुनिता अहिलेको अवस्थामा जसरी बोल्ने र क्रियाशील भई काम गर्छिन् भन्ने उनका अभिभावकले सोचेका थिएनन् । तिनै लजालु सुनिता 'किशोरी अधिकार मञ्च' नामक संस्थाको रुपन्देही अध्यक्ष भई १ हजार १ सय किशोरीको नेतृत्व गरिरहेकी छन् ।
विगत २ वर्षदेखि काम गरिरहेको यो मञ्चले तराई-मधेशमा बस्ने किशोरीले भोग्नुपरेको समस्या, बालविवाहको असर, शिक्षाको आवश्यकता, किशोरीको अधिकार के ? के गर्न पाइने ? के नहुने ? दाइजो विरुद्धको लडाई आदिमा जानकारी दिने र चेतना फैलाउने काम गरिरहेको छ ।
मञ्चको स्थापना सिद्धार्थ समुदाय समाजले गरेको थियो । अहिले भने ओरेक नेपाल र केयर नेपालको सहयोगमा यो मञ्च चलिरहेको सुनिताले बताइन् । पहिले यसमा ३ हजार ६ सय सदस्य थिए । अहिले संख्या घटेपनि बिस्तार गर्ने योजना आफ्नो रहेको उनले बताइन् ।
'संस्था स्थापना हुँदा कोषाध्यक्ष थिए,' उनले भनिन्, 'अहिले जिल्लाको जिम्मेवारी छ ।’ आफू अध्यक्ष भइसकेपछि धेरै शाखा विस्तार र सचेतना अभियान सञ्चालन गरी किशोरी र तीनका अभिभावकलाई सचेत बनाइराखेको उनले बताइन् ।
सुनिता घरको भरपुर सहयोग र हौसलाले मञ्चका निम्ति लागिपरेर काम गरिरहेको सुनाउँछिन् । आफ्नै क्षेत्रका दिदीबहिनी पढ्न नपाएको, घरदेखि बाहिर ननिस्केका दृश्य केलाउँदा आफूलाई भाग्यमानी ठानेको सुनिताले सुनाइन् ।
विद्यालयको पढाई, मञ्चको काम, बाहिर हिँडिराख्नुपर्ने हुँदापनि परिवारले लिन र छोड्न जाने, काममा सघाउने गरिदिँदा सुनितालाई अघि बढ्न सहज भएको छ । 'तिमीलाई हेरी अन्य किशोरी पनि घरबाहिर निस्केर बोल्न सक्छन् भन्नुहुन्छ,' उनले भनिन्, 'छोरी भएर यति गरेकोमा गर्व लागेको सुनाउनुहुन्छ ।'
विगतका दिनमा मधेसी समुदायका किशोरी केही कक्षासम्म पढ्न विद्यालय जाने, केही कक्षा उत्तीर्ण भएपछि विवाह हुने र बच्चा जन्माएर बस्ने परिपाटी त्यागी छोरीले पढ्न पाए भने केही गर्छन्, छोरीलाई पनि छोरासरह अधिकार प्रदान गर्नुपर्छ भन्ने सन्देश मञ्चले दिन सकेको बताइन् । सुरुसुरुमा सुनितालाई मन्चको बारे घर-घर गएर गएर किशोरीहरू र उनीहरूका अभिभावकलाई सम्झाउँदा सास्ती नै भयो । उनी सम्झिन्छिन्, 'हाम्रो छोरी बिगारेर बढी बोल्ने बनाउने भइस्, नआइजा, जस्ता भनाई पनि सुनियो ।'
तर, अभियानको निरन्तरता र किशोरी साक्षरताका लागि ती बोली र वचन सहेर अभिभावक र किशोरीलाई सचेत गराउने काममा विस्तारै सफल भइरहेको उनले बताइन् । जिल्लाका हरेक गाउँमा घरघरै गई छोरीको अवस्था, उनीहरूको स्वास्थ्य, शिक्षा र बोल्न पाउने अधिकार बञ्चित भए नभएको स्थिती बुझ्ने गरेको भन्दै उनले हरेक छोरीलाई अब्बल बनाई आफ्ना लागि लड्न सक्ने क्षमतावान बनाउने उद्देश्य आफ्नो र मञ्चको रहेको सुनाइन् । किशोरीका लागि कार्यक्रम गर्दा एक फोनको आधारमा आउने, सिक्ने, आफ्नो गाउँमा प्रयोग गर्ने बानी विकास भइसकेको र यसलाई थप सशक्त बनाउने कोशिस आफ्नो रहेको उनको भनाई छ ।
किशोरी अधिकार मञ्चको लुम्बिनी प्रदेशका हरेक जिल्लामा शाखा बिस्तार गर्दै अघि बढ्ने योजना सुनिताको छ । उनले अहिले जिल्ला भ्रमण गर्ने, नयाँ शाखा बिस्तार गर्ने र चेतना फैलाउने काम गरिरहेकी छन् । सबैभन्दा ठूलो कुरा उनी आफ्नो कामबाट कामबाट खुसी छन् । किशोरीका सवालमा आवाज उठाउन र उनीहरूलाई बाहिरी समाजसँग घुलमिल गराई अघि बढाउन लागिपरिरहने उनको भनाई छ । आफू सधैंभरी यसरी नै क्रियाशील हुन नपाएपनि आफूसँगैका सहकर्मी र अन्य बहिनीलाई तयार गरी अभिभावकत्व निभाउन तल्लीन रहने उनको प्रतबद्धता बताइन् ।