२०७८ मंसिर २५ गते १३:०४
महिला हिंसा समाजको त्यो कुरुप तस्वीर हो जसले महिलालाई मान्छेका रुपमा सामान्य अधिकारको उपभागबाट पनि बञ्चित बनाइरहेको हुन्छ ।
हामी अहिले विज्ञान र प्रविधिको युगमा छौँ । जटिलभन्दा जटिल काम पनि प्रविधिको माध्यमबाट निकै सरल र सहज ढंगले फत्ते भइरहेका छन् । तर यही प्रविधिको युगमा महिलामाथिको हिंसाको प्रकृति र प्रवृति भने झन्झन् चरम र निकृष्ट तरिकाबाट हुँदैछ ।
मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको धारा एकले भन्छ, ‘सबै नागरिक जन्मजात र मर्यादा तथा अधिकारमा समान हुन्छन् ।’ तर बिडम्वना नेपाल मात्रै हैन विश्वका कुनै पनि देश महिला हिंसा मुक्त हुन सकेका छैनन् ।
सबै महिला हिंसाको उच्च जोखिममा छन् । संसारभरका ३५ प्रतिशत महिला घरेलु हिंसाबाट प्रभावित छन् । एक तथ्याङ्कनुसार विश्वमा हरेक दिन १३७ जना महिला आफ्नै परिवारका सदस्य वा पाटर्नरबाट मारिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोगेकै हुन्छ ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले सन् २००८ देखि हरेक वर्ष प्रकाशित गर्दै आएको पुस्तक ‘अन्वेषी’ले नेपालमा महिला हिंसाका घटना बढेको देखाउँछ । ओरेकले गत वर्ष श्रावण २०७६ देखि असार २०७७ सम्मको अवधिमा १ हजार ७ सय ७ वटा हिंसाका घटना र श्रावण २०७५ देखि असार २०७६ सम्म १ हजार ३ सय १९ वटा महिला हिंसाका घटनाको अध्ययनसहितको विष्लेषण गरेको थियो ।
संस्थाले अभिलेख गरेका घटनाको विश्लेषण गर्दा प्रदेश नं १ बाट सबैभन्दा बढी महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । प्रदेश नं १ मा ३३ प्रतिशत (५८२) जना, प्रदेश नम्बर २ मा २९ प्रतिशत (५१५ जना), वाग्मती प्रदेशमा ७ प्रतिशत (११९ जना), लुम्विनी प्रदेशमा १२ प्रतिशत, (२०९ जना), कर्णाली प्रदेशमा १२ प्रतिशत (२१३ जना), सुदरपश्चिम प्रदेशमा ७ प्रतिशत (१३० जना) र गण्डकी प्रदेशबाट जम्मा ०.२ प्रतिशत (९४ जना) महिलामाथि हिंसाका घटना अभिलेख गरिएको छ ।
हिंसाको अवस्था
१ हजार ७ सय ७२ वटा घटनामा सबैभन्दा बढी ६३ प्रतिशत (एक हजार ११६ जना) महिलामाथि आफ्नै घरभित्र हिंसा भएको छ । हिंसा गर्नेहरू सबैभन्दा बढी श्रीमान् र घरपरिवारका सदस्यहरू छन् । १ हजार ११० घरेलु हिंसा मध्ये ७० प्रतिशत (८६० जना) महिला श्रीमान्बाट र २३ प्रतिशत (२५० जना) महिला घरपरिवारका सदस्यबाट हिंसामा परेका छन् ।
नेपाल प्रहरीमा आर्थिक वर्ष २०७७–०७८ मा आएका उजुरी मध्ये सबैभन्दा धेरै घरेलु हिंसा कै घटना छन् । यसवर्ष १४ हजार २ सय ३२ वटा उजुरी प्रहरीमा आएका छन् । यो तथ्याङ्कले हिंसा सहन हुन्न भन्ने चेतना महिलामा बढेको अनुमान गर्न सकिन्छ । यद्यपि हिंसाको चरम अवस्थामा पुगेपछिमात्र पीडित प्रहरीकहाँ पुग्ने गरेको यथार्थ भने जगजाहेर छ ।
यस्तै महिलामाथि घरेलु हिंसापछि सबैभन्दा बढी सामाजिक हिंसा भएको पाइएको छ । अन्वेषीमा उल्लेख तथ्याङ्कनुसार १५ प्रतिशत (२६५ जना) महिलामाथि सामाजिक हिंसा भएको छ । जसमा ६६ प्रतिशत (१७४ जना) छिमेकी, २० प्रतिशत (५३ जना) महिलाले आत्मीय र नजिक ठानेका साथी, ५ प्रतिशत (१३ जना) साथी, २ प्रतिशत (६ जना) परिवारका सदस्य, २ प्रतिशत (५ जना) अविवाहित तर संगै बसेका व्यक्ति, ४ प्रतिशत (११ जना) सेवा प्रदायक संस्थाका अधिकारी, ०.४ प्रतिशत (१ जना) शिक्षकबाट र १ प्रतिशत (२ जना) महिलामाथि कुनै पनि सम्बन्ध नभएका अपरिचित व्यक्तिबाट सामाजिक हिंसा भएको छ ।
यही अवधिमा नेपाल प्रहरीमा ८४ वटा उजुरी बालविवाहविरुद्ध र बोक्सीको आरोपमा महिलालाई यातना दिइएका ६१ वटा उजुरी दर्ता भएका छन् । बालविवाह र बोक्सीको आरोपमा यातना दिएका दुवैथरीका उजुरी अघिल्ला वर्षहरूमा भन्दा क्रमशः बढ्दै गएको पाइएको छ । यस वर्ष ८ सय ५२ वटा बहुविवाहका उजुरी प्रहरीमा दर्ता भएको पनि तथ्याङ्कमा उल्लेख छ ।
यस्तै यस वर्ष ११ प्रतिशत (१८७ जना) महिलामाथि बलात्कार र २ प्रतिशत (३६ जना) महिलामाथि बलात्कारको प्रयास भएको छ । ५६ प्रतिशत (१०४ जना) महिलामाथि छिमेकीबाट १५ प्रतिशत (२८ जना) परिवारका सदस्यबाट, १७ प्रतिशत (३१ जना) महिला आफूले आत्मीय ठानेका साथीबाट बलात्कृत भएका छन् । यसैगरी ५ प्रतिशत (९ जना) साथीबाट, ३ प्रतिशत (५ जना) सेवा प्रदायक संस्थाका अधिकारीबाट, २ प्रतिशत (४ जना) अविवाहित तर संगै बसेका साथीबाट ३ प्रतिशत (६ जना) महिला अपरिचित व्यक्तिबाट बलात्कार भएको तथ्याङ्कले देखाएको छ । प्रभावित महिलामध्ये सबैभन्दा बढी ४५ प्रतिशत (८४ जना) बलात्कारका घटना १६ वर्षमुनिका बालिकामाथि भएको तथ्याङ्मा उल्लेख छ ।
अन्वेषीमा उल्लेख भए अनुसार यस वर्ष ४ प्रतिशत (६८ जना) महिलामाथि यौन हिंसा भएको छ । जसमध्ये सबैभन्दा बढी ३८ प्रतिशत (२६ जना) यौन हिंसा महिलाले आत्मीय ठानेका साथीबाट भएको छ । त्यसैगरी २५ प्रतिशत (१७ जना) छिमेकीबाट, १५ प्रतिशत (१२ जना) परिवारका सदस्यबाट, सात प्रतिशत (५ जना) अविवाहित तर संगै बसेका साथीबाट यौन हिंसामा परेका छन् । यसैगरि एक प्रतिशत (१ ज्ना) साथीबाट, एक प्रतिशत (१जना) सेवा प्रदायक संस्थाका सदस्यबाट, एक प्रतिशत (१ ज्ना) शिक्षकबाट र तीन प्रतिशत (२ जना) महिलामाथि अपरिचित व्यक्तिवाट यौन हिंसा भएको पाइएको छ ।
संकलन गरिएको तथ्याङ्कअनुसार ०.८ प्रतिशत (१५ जना) महिलाको हत्या भएको छ भने ०.५ प्रतिशत (९ जना) महिलामाथि हत्याको प्रयास भएको छ । हत्याका घटनामध्ये ४६ प्रतिशत (११ जना) श्रीमान्बाट, ३३ प्रतिशत (८ जना) परिवारका सदस्यबाट, चार प्रतिशत (१ ज्ना) महिलाको आफूले आत्मीय ठानेको साथीबाट र १७ प्रतिशत (४ जना) को छिमेकीबाट हत्या भएको पाइएको छ ।
यस्तै एक प्रतिशत (२० जना) महिला यस वर्ष बेचबिखनमा परेका छन् । सबैभन्दा बढी ७० प्रतिशत (१४ जना) छिमेकीबाट, १५ प्रतिशत (३ जना) सेवा प्रदायकबाट, पाँच प्रतिशत (१ जना साथीबाट र १० प्रतिशत (२ जना) अन्यबाट महिला तथा बालिका बेचबिखन भएको पाइएको छ । यी मध्ये ९० प्रतिशत (१८ जना) साक्षर महिला बेचबिखनमा परेका छन् ।
यसैगरी चरित्रहत्या गरिएका कारण, दाइजो कम ल्याएको भन्दै दैनिक रुपमा यातना दिएका कारण र जवरजस्ती विवाह गरी शारीरिक तथा मानसिक हिंसा गरेका कारण ०.७ प्रतिशत (१२ जना) महिलाले आत्महत्या गरेका छन् भने ०.२ प्रतिशत (४ जना) महिलाले आत्महत्याको प्रयास गरेका घटना अभिलेखिकरण भएको छ । आत्महत्या गरेका मध्ये ८३ प्रतिशत (१० जना) विवाहित महिला रहेका छन् ।
अन्वेषीमा महिलामाथि अनलाइन तथा सामाजिक सञ्जालमार्फत भएका हिंसालाई साइवर अपराधका घटनाभित्र समेटिएको छ । यसवर्ष जम्मा हिंसाका घटना मध्ये १ प्रतिशत (९ जना) साइवर अपराधका घटना अभिलेख भएको छ ।
महिलामाथि भएका हिंसा तर थोरै संख्यामा अभिलेख भएका घटनाहरूलाई अन्य समूहमा राखी विश्लेषण गरिएको छ । यस समूहका घटनाहरूमा अपहरणमा परेका, ठगीमा परेका महिलालाई बेपत्ता बनाइएका तथा अलपत्र पारिएका घटना राखिएको छ । जसमा २ जना महिलालाई बेपत्ता बनाइएको तथा २२ जना महिला अलपत्र अवस्थामा फेला पारिएको, ४ जना अपहरणमा परेका र ३ जना ठगीमा परेका तथ्याङ्क उल्लेख छ ।
यस वर्ष सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसामा परे । कूल हिंसा प्रभावित मध्ये ७५ प्रतिशत (एक हजार ३ सय २२) साक्षर महिलामाथि हिंसा भएको तथ्याङ्कले निरक्षरको अवस्था के होला भन्ने भन्ने कुराको सहज अनुमान गर्न सकिन्छ । महिलामाथि भएको हिंसा र महिलाको वैवाहिक अवस्थालाई विश्लेषण गर्दा सबैभन्दा बढी ७६ प्रतिशत (३३८ जना) विवाहित महिलामाथि हिंसा भएको छ । पेशागत हिसाबमा सबैभन्दा बढी ४३ प्रतिशत (७५५ जना) आफ्नै घरभित्रको काममा संलग्न महिलाले हिंसा भोगका छन् ।
हिंसाको असर
घरभित्र होस् या बाहिर, आफ्नाबाट होस् या पराइबाट, महिलामाथि जुनसुकै प्रकारको हिंसा भए पनि त्यसको असर महिलाको शरीरमा पर्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । हिंसा भोगका ४० प्रतिशत महिलालाई शारीरिक, २६ प्रतिशतलाई मानसिक, आठ प्रतिशतलाई सामाजिक, चार प्रतिशतलाई आर्थिक असर पर्ने गरेको छ भने २३ प्रतिशतमाथि शारीरिक, मानसिक, आर्थिकलगायत सबै खाले असर पर्ने गरेको छ ।
जीवनसाथी नै सबैभन्दा घातक
हिंसा प्रभावित महिलाको पीडकसँगको सम्बन्धलाई विष्लेषण गर्दा महिलाहरू सबैभन्दा बढी श्रीमान्बाटै जोखिममा छन् । कूल हिंसा प्रभावित मध्ये ५१ प्रतिशत महिला आफ्नै श्रीमान्बाट, १९ प्रतिशत आफ्नै परिवारका सदस्यबाट, १८ प्रतिशत छिमेकीबाट, सात प्रतिशत आत्मीय व्यक्तिबाट हिंसामा परेका छन् ।
पितृसत्तात्मक सामाजिक संरचना, हानिकारक मूल्य मान्यता र गलत संस्कृतिका कारण महिलाले दोस्रो दर्जाको नागरिक भएर जिउन बाध्य छन् । सामाजिक रुपले मान्यता प्राप्त विवाह संस्थाभित्र आधाभन्दा बढी महिला आफ्नै जीवनसाथीबाट हिंसाको मारमा पर्नु पक्कै पनि चिन्ताको विषय हो । जन्मिदै पुरुषवादी संरचनाको छत्रछायामा हुर्के बढेका श्रीमान् (पुरुष)ले महिलालाई आफूभन्दा तल्लो दर्जा ठानेर दुव्र्यवहार गर्दा विवाह संस्थाप्रतिको विश्वास र मर्यादामाथि नै प्रश्न उठेको छ ।
अन्वेषीमा समावेश १ हजार ७ सय ७२ वटा घटना मध्ये ६४१ घटना विभिन्न पत्रपत्रिकाबाट समावेश गरिएको र बाँकी संस्थाले अभिलेखिकरण गरेको ओरेकको दाबी छ । ओरेकले अभिलेख गरेका घटना संचार माध्यमले प्रकाशन गरेका भए तापनि घटना दोहोरिन नदिन तिनलाई विश्लेषणमा समावेश नगरिएको उल्लेख छ ।
अन्त्यमा,
नेपाल विभिन्न मानव तथा महिला अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूको पालनकर्ता हो । नेपालको संविधान, २०७२ ले महिला हिंसालाई अपराध मानी सोही बमोजिमको कानुनी दण्ड–सजाय हुने कुरा निर्दिष्ट गरेको छ । मुलुकी ऐन एवम् अन्य विभिन्न ऐनको व्यवस्था छ ।
महिला हिंसासम्बन्धी विशेष ऐनका प्रावधानहरू छन् । ती ऐन र कानूनको कार्यान्वयनका लागि प्रक्रिया र नियमहरू निर्धारण गरिएका विनियमहरूको व्यवस्था भएको छ । महिला हिंसासम्बन्धी घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६, घरेलु हिंसा (कसुर तथा सजाय) नियमावली, २०६७, लैंगिक हिंसा उन्मूलन कोष (सञ्चालन) नियमावली, २०६६, लैंगिक समानता ऐन, २०६३, वैवाहिक बलात्कार ऐन, २०६३, महिला विरूद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धिको ऐच्छिक प्रलेखको अनुमोदन, सन् २००७, मानव वेचविखन (नियन्त्रण) ऐन सन् १९८६ लाई प्रतिस्थापन गर्न बनेको मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, सन् २००७, कार्यस्थलमा हुने यौनजन्य दुवर््यवहार (निवारण) ऐन, २०७१ आदि प्रावधानहरू छन् ।
महिलामाथि भइरहेका हिंसा र विभेदको अन्त्यविना महिलाको मानवअधिकार सुनिश्चित हुन सक्तैन । सामाजिक न्याय, समानता, देशको दिगो विकास र शान्तिका लागि महिलामाथि हुने हिंसाको समूल अन्त्य आजको आवश्यक हो । राज्यले देशको आधा भन्दा बढी जनसंख्यालाई पीडामा राखेर दिगो विकास लक्ष्य हासिल गर्ने सपना देख्नु निरर्थक हो ।
दीगो विकास लक्ष्यको लक्ष्य पाँचको लैङ्गिक समानता हासिल गर्न नेपालले २०३० सम्ममा सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता ११ प्रतिशतबाट ३३ पुर्याउने, लैङ्गिक असमानताको हालको सूचकाङ्क ०.४९ बाट घटाएर ०.०५ मा झार्ने र लैङ्गिक सशक्तिकरण मापनलाई ०.५७ बाट बढाएर ०.६९ पुर्याउने लक्ष्य तोकेको छ ।
यी लक्ष्य हासिल गर्न राज्यले सन् २०३० सम्ममा महिला र किशोरीविरुद्ध जुनसुकै क्षेत्र र स्थानमा हुने सबै प्रकारका विभेद अन्त्य गरी बेचबिखन, यौन र अरु प्रकारका शोषणलगायत सार्वजनिक र नीजि क्षेत्रमा हुने सबै प्रकारका हिंसा अन्त्य गर्नुपर्नेछ । बालविवाह, कम उमेरमा विवाह र महिला जनेन्द्रिय अङ्गभङ्ग गर्नेजस्ता सबै घातक हानिकारक व्यवहार र अभ्यास अन्त्य गर्न काम गर्नुपर्नेछ । तर सरकारको काम गर्ने गति कछुवा चालभन्दा पनि ढिला हुँदा यी लक्ष्य हासिल गर्न समस्यामात्रै हैन असम्भव हुने देखिन्छ ।
महिलामाथि हुने हिंसा महिलामात्रैको सवाल र समस्या हैन । यो राष्ट्रिय र राजनीतिक सवालको रूपमा स्थापित हुन जरुरी छ । महिलामाथि भइरहेको हिंसाको वास्तविक कारण र यथार्थलाई चित्रण गर्न देशमा वर्षभरि भएका महिला हिंसाका घटनाहरूको अध्ययनलाई समेटेर तयार पारिएको महिला हिंसाविरूद्धको वर्ष पुस्तक ‘अन्वेषी’ महिलामाथि हुने गरेका हिंसाका तथ्य तथ्याङ्कलाई बाहिर ल्याउने एक महत्वपूर्ण प्रयास पनि हो ।
महिलामाथि हुने हिंसाको समग्र अवस्थाका बारेमा एकिकृत राष्ट्रिय तथ्याङ्क राख्ने संयन्त्र नै छैन । संयन्त्रको यही टड्कारो आवश्यकताका बीच ‘अन्वेषी’को नियमित प्रकाशनले सामाजिक अध्ययेताहरूलाई राहत दिनेमा दुई मत छैन ।