WOREC In Media

सार्वजनिक स्थलमा महिला माथी हुने हिंसाका घटना बढ्दै

16 Dec 2021

सार्वजनिक स्थलमा महिला माथी हुने हिंसाका घटना बढ्दै

ओरेकमा ३ सय २१ वटा हिंसाका घटना

 

यमकला भुसाल

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार

तुलसीपुर,मंसिर २२ । घरैदेखि सुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ सुरु भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ ।

१६ दिने अभियानमा मात्र होइन हिंसा न्युनीकरणका लागि हरेक दिन विभिन्न सचेतनामुलक कार्यक्रमहरु भइ नै रहन्छन । तर तथ्याङक हेर्दा प्रत्येक वर्ष यसको दर बढ्दो देखिन्छ ।

नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पाँच जना महिला मध्ये कम्तिमा एक जना महिलाले आफ्नो जीवन कालमा मानसिक, शाररिक, तथा अन्य प्रकारका हिंसाबाट प्रभावित हुने गर्दछन ।

त्यस्तै नेपाल प्रहरीको तथ्यांकले नेपालमा दैनिक सरदर ६÷७ जना महिला तथा बालिका बलात्कारको शिकार हुने गरेका छन् । महिला विरुद्ध भैरहेका हिंसा मध्ये ७० प्रतिशतभन्दा बढी घरेलु हिंसा पर्छन् ।

त्यस्तै ओरेक नेपालमा २०२१ जनवरी देखि जुनसम्म १ हजार ६ सय ६३ महिलाविरुद्धका हिंसाका घटना भएका छन । तथ्याङ्क हेर्दा पछिल्लो समय सार्वजिक स्थलमा महिला तथा बालिका माथी हुने हिंसा बढेको देखिन्छ ।

सार्वजनिक स्थानमा भन्नाले सार्वजनिक बस, ट्याक्सी, हवाइजहाज आदि, शैक्षिक संस्थाहरू जस्तैः कलेज, विद्यालय, सिकाउने तथा तालिम दिने निकाय,यसैगरी औद्योगिक निकाय तथा अन्य कार्यक्षेत्र, सामाजिक सञ्जाल, संचार, साइवर स्पेश, सार्वजनिक बगैंचा, धार्मिकस्थान, सार्वजनिक धारा, कुवा, चौतारो, सडक, सडकपेटी, बसपार्क, यात्रु ओर्लने र चढ्ने ठाउँ र नागरिक अधिकारका आन्दोलन र प्रदर्शन गर्न बस्ने ठाउँहरू भन्ने बुझिन्छ ।

सार्वजनिक स्थानमा हुने हिंसाका बारेमा छलफल भए पनि त्यस्ता घटना उपर न्यायिक निकायमा उजुरी गर्ने, घटनाको छुट्टै अभिलेखीकरण र तथ्याङ्क संकलन तथा विश्लेषण गर्ने परिपाटी नेपालमा देखिएको छैन ।

सार्वजनिक स्थानमा हुने हिंसालाई हिंसाको रुपमा स्विकार नगरी यसलाई सामान्य घटनाका रुपमा लिने गरिएको छ ।

जसले त्यस्ता घटना धेरै सामान्यीकरण हुने र अभिलेखमा नआउने अवस्था छ । समग्रमा भन्ने हो भने सार्वजनिक स्थलमा हुने महिलामाथिका हिंसाका घटनाको न्यायोचित सम्बोधन हुन सकेको छैन ।

गत वर्ष ओरेक नेपालले तीन सय २१ जनालाई लिएर सार्वजनिक स्थलमा महिलाविरुद्ध हुने हिंसाको अवस्था अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा उनीहरूमध्ये ४० प्रतिशत (१२७ जना) ले सार्वजनिक यातायातमा आफूमाथि हिंसा भएको प्रतिक्रिया दिएका थिए । ति मध्य १० प्रतिशत (३१ जना) ले बाटोमा, नौ प्रतिशत (३० जना) ले शैक्षिक संस्थामा, सात प्रतिशत(२१ जना) ले भीडभाडमा, छ प्रतिशत (२० जना) ले एकान्त ठाउँमा आफूमाथि दुव्र्यवहार भएको बताएका थिए ।

त्यस्तै ५ प्रतिशत (१५ जना) ले बजार वा अन्य सार्वजनिक स्थलमा, चार प्रतिशत (१२ जना) ले स्वास्थ्य संस्थामा, तीन÷तीन प्रतिशत (१० र ९ जना) ले वित्तिय संस्था र होटेल, पब, डान्सबारमा, दुई प्रतिशत (५ जना) ले कार्यस्थलमा साथै ११ प्रतिशत (३६ जना) ले खेलमैदान, पार्क, पसलमा हिंसामा परेको बताएका थिए ।

साझँको समयमा बढी हिंसाका घटना

सार्वजनिक स्थलमा यस्ता खालका घटनाहरु साँझको समयमा सबैभन्दा बढी ४० प्रतिशत हुने गरेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै दिउंसोको समयमा २५ प्रतिशत,राती १० प्रतिशत,जुनसुकैसमय १३,राती १०,बिहानको समयमा ८ प्रतिशत र झम्मक साँझमा ५ प्रतिशत हिंसाका घटना हुने गरेका छन ।

जसमध्ये सबैभन्दा बढी २६ प्रतिशत घटना अपरिचित व्यक्तीबाटै हुने गर्दछन ।

त्यस्तै १३ प्रतिशत सेवाप्रदायकबाट,१२ प्रतिशत यातयातका चालक,सहचालकबाट,शिक्षक,सहकर्मी,साथीबाट १२,शक्तशाली व्यक्तीबाट १२,परिचित व्यक्तीबाट ९,नजिकको नातेदारबाट ५,सेवाग्राहीबाट ४ र अन्य ६ प्रतिशत घटना भएका छन ।

१२ प्रतिशत महिलाले मात्र आवाज उठाउँछन

सार्वजनिक स्थलमा हुने हिंसाका पिडितको प्रतिक्रिया अनुसार ३५ प्रतिशत महिला तथा बालिका सहने,चुपचाप बस्ने,कुनै प्रक्रिया दिदैनन् । १६ प्रतिशतले दोस्रो व्यक्तीलाई सुनाउछन । १५ प्रतिशत महिला वेवास्ता गर्ने र भाग्ने गर्दछन । त्यस्तै १२ प्रतिशतले मात्र आवाज उठाउँछन । ७ प्रतिशत शारिरिक बचावट,६ प्रतिशत मन नपराउने,३ प्रतिशत डराउने रिसाउने,२ प्रतिशत सम्बन्धीत निकायमा गुनासो गर्दछन भने २ प्रतिशतले हड्ताल गर्दछन । त्यस्तै १÷१ प्रतिशत महिला भने केही अन्योल हुन्छन भने केही सावधान रहन्छन

तुलसीपुरमा सार्बजनिक स्थलमा महिला तथा बालिका माथी हुने हिंसा सम्बोधनका लागि सार्बजनिक सुनुवाइ

महिला पुर्नस्थापना केन्द्र (ओरेक) दाङको आयोजनामा बुधवार तुलसीपुरमा सार्बजनिक स्थलमा महिला तथा बालिका माथी हुने हिंसा सम्बोधनका लागि सार्बजनिक सुनुवाइ कार्यक्रम भएको छ ।

सो अवसरमा महिला रक्षक सञ्जालका केन्द्रिय सचिव लक्ष्मी आचार्यले सामाजिक सांस्कृतिक,पारिवारिक,डर,त्रास,आर्थिक असुरक्षा,फाइदा,ज्ञान नभएर,आटँ वा साहस नभएर,न्यायप्रतिको अविस्वास लगाएका कारणले सार्वजनिक स्थलमा महिला तथा बालिकाले हिंसा सहन बाध्य भैरहेको बताइन ।

उनले सार्वजनिक स्थानमा महिलाबिरुद्ध हुने हिंसाको प्रभाव सम्बन्धमा अध्ययन गर्ने,त्यस्ता घटना तथा तथ्यहरुको विश्लेषण सहितको प्रमाणमा आधारित वकालत गर्ने,सामाजिक ब्यवहार मूल्यांकन गर्ने पद्दतिको विकास गर्ने,आफ्नो अधिकारको दाबी लिन सक्ने बनाउनका लागि महिला शसक्तिकरणका कार्यक्रमहरुको आयोजना गर्ने ,महिला मानब अधिकार सम्बन्धी कानूनी सचेतना (कानूनी प्राबधान तथा कानून कार्यान्यन गर्ने निकाय, निकायको सम्पर्क नम्बर तथा उपलब्ध सेवाहरुको बारेमा जानकारी) कार्यक्रम बिभिन्न समुदायसम्म पु¥याउन सकेमा मात्र हिंसा न्यनीकरणमा सहज हुने बताइन ।

ओरेक दाङका जिल्ला संयोजक इश्वरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले घर परिवारमा छोरीसगै छोरालाइ पनि सचेत गराउन सकेमा केही मात्रामा हिंसा कम हुन बताइन ।

त्यस्तै उच्च अदालत तुलसीपुरका न्यायाधीश नसरुल्लाह अन्सारी, इलाका प्रहरि कार्यालय तुलसीपुरका प्रमुख डिएसपी स्यामु अर्याल,तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकाश शाखाका प्रमुख माया श्रेष्ठ लगाएतले महिला हिंसा विरुद्धको सुरुवात घरैबाट सुरु गर्नुपर्ने बताए ।

उक्त कार्यक्रमको सजहीकरण ओरेकका कार्यक्रम अधिकृत सुस्मा छिनालले गरेकी थिइन ।