WOREC In Media

स्थानीय सरकारबाट गैससको अनुगमन

25 Dec 2021

 

दिनेश सुवेदी

रोल्पा

१० पुस २०७८

पश्चिम रुकुमका तीन स्थानीय तहमा रहेका बिभिन्न महिला सहकारीलाई कार्यालय व्यवस्थापनका लागि सामग्री हस्तान्तरण गरिएको छ। महिला पुनर्स्थापना केन्द्र ओरेक रुकुमको आयोजनामा मुसिकोट नगरपालिका, बाफिकोट गाउँपालिका र त्रिबेणी गाउँपालिकामा रहेका महिला सहकारीहरुलाई कम्प्युटर, प्रिन्टर, पि फम, ५ सय लिटरको पानी ट्याङकी, भित्ते घडी लगायतका सामग्री हस्तान्तरण गरिएको थियो।

त्यसैगरि स्थानीय तहसंगको समन्वयमा द्वन्द्व प्रभावित, हिंसा पीडित र अति बिपन्न परिवारका महिलाहरुलाई प्रति परिवार २२ हजार बराबरको बिउ पुँजी समेत दिइएको छ। यहि अवसर पारेर स्थानीय तहहरुले ओरेकले जिल्लामा सन् २०२१ मा सम्पन्न गरेका गतिबिधिको समेत अनुगमन गरेका छन्।  

मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतम, बाफिकोट गाउँपालिका प्रमुख धर्मबहादुर केसि र त्रिबेणी गाउँपालिकाका प्रमुख झक्कुप्रसाद घर्ती लगायतको टोलीले आ–आफ्नो पालिकामा अनुगमन गरेका थिए। स्थानीय सरकार प्रमुख संगै जिल्ला समन्वय समिति उपप्रमु ईन्दीरा बिएम, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत लगायतको टोलीले ओरेकका गतिबिधिको अनुगमनका क्रममा सकारात्मक प्रतिकृया दिएका थिए।  

कार्यक्रमको अनुगमन गर्न गाउँ पुगेका जनप्रतिनिधिहरुले गैर सरकारी संस्थाका कारण ग्रामिण महिलाहरुको जिवन स्तर समेत फेरिएको भन्दै परिवर्तन गर्न चाहेमा सहजै सकिने बताएका थिए। सहयोग पाएका महिला सहकारी र महिलाहरुले गैर सरकारी संस्था जस्तै घरछेउको सरकारले पनि आफूहरुलाई सम्झिनु पर्ने माग गरेका थिए।  

स्थानीय सरकारले गर्नु पर्ने काम गैर सरकारी संस्थाले गरिरहेका प्रति उनीहरुले सिको गर्नु पर्ने समेत बताएका थिए। महिला सशक्तिकरण संगै उनीहरुको जिवनस्तर सुधारका कार्यक्रम समेत संगसंगै लगेको ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताइन्। मनोविमर्श संगै शिविर मार्फत स्वास्थ्य सेवा समेत दिईरहेको ओरेकले महिला संगै युवा सशक्तिकरणमा पनि बिभिन्न कार्यक्रम गरिरहेको जनाएको छ।

 

प्रकाशित: १० पुस २०७८ ११:३३ शनिबार