पुस १४, २०७८हरि गौतम
(रुकुम पश्चिम) — त्रिवेणी गाउँपालिका–४ भाल्दुलाकी ग्वामी खड्काको घरमा दुई वर्षअघिसम्म मुख्य तरकारीको रूपमा चाउचाउ पकाइन्थ्यो । ‘हामी पाहुनापाक्षीलाई चाउचाउ नै पकाएर खुवाउँथ्यौं,’ उनले विगत सम्झिइन्, ‘अरू तरकारी नपाइने कारणले पनि चाउचाउसित रोटी र भात खाइन्थ्यो ।’
उनकी छिमेकी कल्पना ओलीले पनि जहाँ पनि पाइने र पकाउन सजिलो हुने भएपछि दिनमा कम्तीमा एक छाक चाउचाउ नै पकाउँथिन् ।
अहिले त्रिवेणी गाउँपालिका–४ स्थित छोटेकाँडा, भाल्दुलालगायत गाउँमा महिलाकै सक्रियतामा घरघरमा करेसाबारी निर्माण भएका छन् । घरमा पुगेर पनि बढी भएको तरकारी बिक्री हुन्छ भने गाउँमा अहिले सिजनअनुसार सबैखाले तरकारी खेती हुन्छ । ‘घरमा बनाइएको करेसाबारीले आफूलाई त खान पुगेको छ नै,’ खड्काले भनिन्, ‘आफन्तलाई पनि ताजा तरकारी कोसेलीका रूपमा पठाउन सहज भएको छ ।’
ओलीले बिक्री गर्नेसम्मको तरकारी फलाउन थालिसकेको बताइन् । उनका अनुसार स्वास्थ्यका लागि सन्तुलित भोजन नै खानुपर्छ भनेपछि महिलाको अगुवाइमा घरघरमा करेसाबारी निर्माण गरिएको हो । ‘अहिले सबैको करेसाबारीमा सिजनअनुसार कुनै न कुनै तरकारी फलेको हुन्छ,’ उनले भनिन्, ‘बीउ र बिरुवा उत्पादनको काम पनि करेसाबारीबाटै गरिरहेका छौं ।’
करेसाबारी थालेका महिलाले बढी तरकारी फलेपछि तरकारी संकलन केन्द्रको समेत स्थापना गरेका छन् । वडा कार्यालयको सहयोगमा तरकारी संकलन केन्द्र बनेको हो । यसमा महिला पुनःस्थापना केन्द्र ओरेकले प्राविधिक सहयोग गरेको छ । ओरेककी जिल्ला संयोजक दीपा धितालले महिला सशक्तीकरण र स्वस्थ्यमा सहयोग पुगोस् भनेर टनेल वितरण गरी घरघरमा करेसाबारी बनाइएको बताइन् ।
त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले पछिल्लो समय महिला सक्रिय भएर लागेको बताए । महिला आफैं सक्रिय भएपछि कम्तीमा हरेकको चुलोमा पौष्टिकयुक्त तरकारी पाक्ने गरेको उनको भनाइ छ । ‘कतिपयले त त्यसलाई व्यावसायिक पनि बनाइरहेका छन्,’ उनले भने, ‘विगतको द्वन्द्वप्रभावित बस्ती अहिले तरकारी फलाउने गाउँको रूपमा चिनिन थालेको छ ।’
प्रकाशित : पुस १४, २०७८ १०:५८