महोदय !
आदर गर्नैपर्छ मैले
धर्तीको आधा लाज छोपिएको छ
सृष्टि रच्ने आधा बोझ बोकिएको छ
म सम्मान गर्छु,
म सम्मान चाहन्छु
ध्रुर्वसत्य ! तिमी आधा
बाँकी आधा म ।
सत्य मान्न चाहन्छु
सत्यले सत्यतामै बाँचेको हेर्न चाहन्छु
तिमी निर्धक्क बोल्छौ
म पनि उच्च आवाजमा
विचारको पोको खोल्न चाहन्छु
स्वतन्त्रताको सगरमाथा बन्न चाहन्छु
समृद्धिको सपनामा भुल्न चाहन्छु ।
महोदय !
मेरो धर्ती
यो मेरो पनि हो, नैसर्गिक
कसरी महसुस गरौं
नजरबन्दभित्र सुरक्षित हुनुको ?
तिम्रो मुखले इच्छा ओकल्छ
चाहना ओकल्छ
सन्तुष्टि ओकल्छ
हेर !! यता पट्टी बाँधिएको
संस्कारको पट्टी
मान्यताको पट्टी
जसको न्वारन तिमीले गऱ्यौ
कथित परम्पराको गहनाले पुऱ्यौ
मलाइ ठीक लागेन
साहस बटुलें
शरीर कमजोर भन्यौ
दिमाग नभएको भन्यौ
अहँ मानिनँ ।
किन मान्थेँ ?
तिमीले प्लेन उडायौ
मैले पनि उडाएँ, निर्धक्क उडाएँ
तिमीले संसार नै ध्वस्त पार्ने
मिसाइल बनायौ
तर मैले सृस्टि आविषकार गर्ने
मायाको बगैंचा सँगालेँ
शायद यसलाई कमजोरीको बिल्ला भिरायौ
लडाइँ हैन तिमीसँग
तिमी मान्छे आधा धर्ती
म मान्छे आधा धर्ती
तिमीमा मेरो अस्तित्व
ममा तिम्रो ।
महोदय!!
मलाइ नीच देखाउने तिम्रा कथित सिद्धान्तहरू
सपनामाथि धावा बोल्ने दिग्भ्रमित दृष्टान्तहरू
अस्तित्व स्वीकार्दै नस्वीकार्ने धमिरे अहमहरू
म विरोध गर्नेछु
विद्रोह गर्नेछु, गरिरहनेछु
मात्र स्वतन्त्रताको लागि
आत्मसम्मानको लागि ।