Newsroom

आफ्नै शरीरमाथि छैन महिलाकाे नियन्त्रण

16 Apr 2024

विश्वभर ७ अप्रिलमा विश्व स्वास्थ्य दिवस 'मेरो स्वास्थ्य मेरो अधिकार' भन्ने मूल नाराका साथ मनाइयो । विश्व स्वाथ्य संगठनका अनुसार यस वर्ष यो नारा लिनुको मुख्य कारण संसारभर सबै ठाउँमा सबैका लागि गुणात्मक स्वास्थ्य सेवा, शिक्षा, स्वच्‍छ पिउने पानी, सफा हावा, पोसिलो खाना, मर्यादित काम र वातावरण, सही स्वास्थ्य, सूचना र सबैखाले विभेदबाट मुक्तिका लागि सहयोगी होस्‌ भन्ने हो ।  

लैङ्‌गिक असमानता उच्च रहेको हाम्रोजस्तो देशमा व्यक्तिहरूलाई स्वस्थ रहन पाउने वातावरण तथा स्वास्थ्य सेवा पाउन कठिन हुन्छ । मैले भर्खर मात्रै आफ्नो उपचारका लागि आएकी रमा (नाम परिवर्तन) को स्थितिलाई यहाँ उदाहरणको रूपमा राख्न चाहन्छु । रमा ६० वर्षकी भइन्‌ । नातिनातिना भइसके । केही वर्षयता उनको घुँडा र शरीर सबै दुख्छ । त्यसकै उपचारका लागि आयुर्दा आयुर्वेदिक उपचार केन्द्रमा आएको बेला उनीसँग मेरो भेट भयो ।

उनी श्रीमान्‌सँगै उपचार केन्द्रमा आएकी थिइन्‌ । उपचारकर्ताले सोध्‍दा उनको श्रीमान्‌ले नै जवाफ दिइरहेका थिए । लाग्थ्यो, उनी बोल्न सक्दिनन्‌ तर त्यसो होइन रहेछ । पछि उनीसँगको भेटमा उनले सबै बताइन्‌ । उनी उपचारका लागि त्यहाँ बल्लबल्ल आइपुगेकी रहिछन्‌ । उपचारकर्ताले कम्तीमा एक हप्ता उपचार गराउनुपर्छ भन्दा उनको श्रीमान्‌ जङ्‌गिइरहेका थिए । 'भोलि घर जानैपर्छ,' उनको उर्दी थियो ।

ती महिलाले आफ्नोबारे सबै मलाई बताइन्‌ । श्रीमान्‌ सधैँ यौन सम्पर्क राख्न चाहने रहेछन् । महिलाको भनाइअनुसार, यौन सम्पर्क राखेपश्‍चात्‌ उनलाई एकदमै गाह्रो हुने, तल्लो पेट सबै दुख्ने रहेछ । त्यसैले उनी यौन सम्पर्क राख्न डराउँदिरहिछन्‌ । यौन सम्‍पर्क राख्‍न नदिएपछि उनलाई उनका श्रीमान्‌ले धेरैपटक कुटेछन् । उनले 'एकपटक डाक्टरकहाँ देखाउन जाऊँ न' भन्‍दा उनका श्रीमान्‌ले 'तँ नाटक गर्छेस्, कोसँग बसेर आएकी होलिस्‌ अनि मसँग किन बस्थिस्‌ त' भनेर झन् कुट्ने रहेछन्‌ । पछि अर्काे विवाह पनि गरेछन् ।

अर्की श्रीमती वैदेशिक रोजगारमा गएका कारण अहिले श्रीमान्‌ फेरि उनीकहाँ आएका रहेछन्‌ । रमाकै भनाइमा भन्‍ने हो भने फेरि त्यही दु:ख, पीडा र कुटाइका दिन सुरु भएका छन्‌ । उनी भन्दै थिइन्‌, 'छोराछोरी छन्, नातिनातिना छन्, उनीहरूकै अगाडि कुट्छन् । मलाई मरेझैँ लाग्छ । केही बोल्यो भने झगडा गर्छन्, गाउँ नै उचाल्छन्  । त्यसैले म केही बोल्दिनँ, बरू सहन्छु । उनको पनि ढाड र कम्मर दुख्छ रे । आफ्नो उपचारका लागि ६ लाख रूपैयाँ खर्चेर अस्ति मात्रै कोरियन मिसिन ल्याएका छन् । तर, मलाई भने ७ दिन उपचार गर्न पनि दिन्नँ भन्छन्  । के गर्ने, हामी महिलाको जीवन नै यस्‍तै त होला नि भनेर सबै कुरा सहन्‍छु !' 

यो कथा रमाको मात्रै होइन । हाम्रो देशमा यस्तो कथा भएका थुप्रै महिलाहरू छन्‌ । गत साल मात्रै म रुकुम गएको बेला धेरै महिलाहरू पाठेघर खसेका, मानसिक स्वास्थ्यमा चुनौती खप्दै बाँचिरहेका महिलाहरू भेटेँ । सबैको कथा उस्तै-उस्तै छ । काठमाडौंभित्रै मानवअधिकारको उच्च आयुक्तको कार्यालय र तरंगिनी फाउन्डेसनले संयुक्त रूपमा मनोरञ्‍जन क्षेत्र, यौनकर्मी महिला र घरेलु श्रमिक महिलाहरूको स्वास्थ्य अवस्थाका बारेमा सर्वेक्षण गरेको थियो । त्यसमा पनि धेरैकाे एउटै आवाज थियो, 'हामीमाथि विभेद छ । हाम्रो कामलाई काम मानिदैन । हामी गुणात्मक उपचार किन्न सक्दैनौँ । बिमार लुकाएर र खपेर बस्नु जीवनको बाध्यता बनेको छ ।'

यो अहिले हाम्रो देशमा गरिब, पछाडि पारिएका, श्रमिक अनि गाउँघरमा बस्ने गरिब नागरिकहरू विशेषत: महिलाहरूको स्वास्थ्य स्थितिको चित्रण हो ।

हाम्रो देशको संविधानले स्वास्‍थ्यलाई मौलिक अधिकारको रूपमा मानेको छ । सोही अधिकार सुनिश्‍चित गर्न जनस्वाथ्य सेवा ऐन, २०७५ को समेत व्यवस्‍था भएको छ । यो ऐनको धारा ७ मा गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्‍था गर्दै यसअन्तर्गत नेपाल सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्राप्त गर्ने व्यवस्‍था मिलाउनेछ भनी उल्‍लेख गरिएको छ । निश्‍चय पनि यो सकारात्मक फड्को हो ।

Nepatop

Grammar School

हिंसाको मुख्य कारण महिलालाई श्रीमान्‌ले आफ्नो सम्पत्तिको रूपमा लिने सोच हो । उनले घरमा गरेको काम र निभाएको प्रजनन् भूमिकाको मूल्याङ्‌कन नभएको स्थिति, उनको आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण हुन नसक्ने वातावरण र उनको आफ्नो घरभित्रको स्रोतमाथि नियन्त्रण नभएको अवस्‍था हो ।

त्यसैगरी, देशले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य नम्बर ३ लाई पूरा गर्न विभिन्न सूचकाङ्‌कहरू समावेश गरी राष्ट्रिय योजना आयोगले भर्खरै तयार गरेको १६औँ योजनाको आधारपत्रलाई हेर्दा सन् २०३० सम्ममा सरकारले गुणात्मक फड्‌को मार्न प्रतिबद्ध छ भन्ने आधार दिन्छ । तर, हामीले हेक्का राख्नुपर्ने कुरा के छ भने माथि उल्लिखित स्थितिहरूमा परिवर्तनबिना स्वास्थ्य संस्थाहरूमा जति नै गुणात्मक सेवा उपलब्‍ध गराए पनि आवश्‍यकता भएका व्यक्तिले सेवा प्राप्त गर्न सक्दैनन् ।

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया कार्यालयले आफ्नो प्रतिवेदन २०२३ मा लैङ्‌गिक असमानता नेपालका महिला र पुरुषको स्वास्थ्यमा प्रभाव पार्ने एक महत्त्वपूर्ण तत्त्वको रूपमा छ भनी उल्लेख गरेको छ । यसलाई नै अझै विस्तारित गर्ने क्रममा व्यक्तिहरूका सन्दर्भमा सामाजिक रूपले स्थापित भूमिका, मूल्य र मान्यताहरू, व्यक्ति-व्यक्तिका बीचमा स्थापित असमान शक्ति सम्बन्धहरूजस्ता तत्त्वहरू र जैविक आवश्‍यकता र स्वरूपको अन्तरसम्बन्धले व्यक्तिले स्वस्थ रहन पाउने वातावरण, रोग लाग्न सक्ने अवस्थाजस्ता कुरालाई प्रभावित गर्दछ भनी स्पष्‍ट बनाएको छ । त्यसैले कुनै पनि योजनाले यी दुई अन्तरसम्बन्धलाई हेर्नु जरुरी हुन्छ । 'सबैका लागि स्वास्‍थ्‍य' भन्ने अभीष्‍ट पूरा गर्न स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक तत्त्वलाई सम्बोधन नगरी हुन सक्दैन ।  

स्वास्थ्य भन्नाले त्यस्तो कुनै पनि रोग नभएको अवस्था मात्रै नभई यस्तो अवस्था हो, जहाँ व्यक्ति शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपले स्वस्थ रहन सक्दछ, विश्व स्वास्थ्य संगठन। त्यसैले हामीले 'मेरो स्वास्‍थ्य मेरो अधिकार' भन्ने नारा लिएर स्वास्‍थ्य दिवस मनाउने हो वा स्वास्‍थ्‍यलाई मौलिक अधिकारको रूपमा राखी सबै व्यक्तिको गुणस्तरीय स्वास्थ्य सेवा र स्वस्‍थ रहन पाउने वातावरणमा पहुँच पुर्‍याउने हो भने स्वास्‍थ्यलाई प्रभाव पार्ने अन्तर्निहित तत्त्वहरूलाई गम्भीरताका साथ विश्लेषण गर्दै सम्बोधन गर्ने योजना बनाउन जरुरी छ ।  

कुनै पनि देश जहाँ महिलामाथि हुने हिंसा उच्चतम विन्दुमा हुन्छ, त्यहाँका महिलाहरूले विभिन्नखाले स्वास्थ्य समस्याको सामना गर्नुपरेको, त्यसको प्रत्यक्ष प्रभाव उनीसँग जोडिएको पुरुष र बालबालिकामा पर्छ भन्ने  पुष्टि धेरै अनुसन्‍धानहरूले गरिसकेका छन्‌ । हाम्रा अनुभवहरूले पनि त्यही बताएका छन् ।  

माथि उल्लिखित रमाको कुरा गर्ने हो भने उनको स्वास्‍थ्‍यलाई उनीमाथि भएको विभेद र हिंसाले प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको छ । हिंसाको मुख्य कारण महिलालाई श्रीमान्‌ले आफ्नो सम्पत्तिको रूपमा लिने सोच हो । उनले घरमा गरेको काम र निभाएको प्रजनन् भूमिकाको मूल्याङ्‌कन नभएको स्थिति, उनको आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण हुन नसक्ने वातावरण र उनको आफ्नो घरभित्रको स्रोतमाथि नियन्त्रण नभएको अवस्‍था हो । त्यसैगरी, अनुसन्‍धानका क्रममा आफ्नो पीडा सुनाउने सबै महिलाको स्वास्थ्य सेवामा पहुँच पुग्न नसक्‍नु र उनीहरूको कामको मूल्‍याङ्‌कन नभएको स्थिति हुनु महिलाको स्वास्‍थ्‍यमा प्रभाव पार्ने मुख्य तत्त्वको रूपमा रहेको थियो ।  

यो स्थितिलाई विश्लेषण गरेरै धेरैवटा अनुसन्‍धानहरूबाट प्राप्त नतिजामा आधारित भई विश्व स्वास्थ्य संगठनले ल्याएको 'मेरो स्‍वास्‍थ्‍य मेरो अधिकार' नाराले सबै प्रकारको विभेदबाट मुक्ति र मर्यादित काम गर्ने वातावरण प्राप्त गर्नु मेरो स्वास्थ्यलाई मेरो अधिकारको रूपमा स्थापित गराउन सहज बनाउने तत्त्वको रूपमा लिएको हो भन्न सकिन्छ ।  

हाम्रोजस्तो देश जहाँ लैङ्‌गिक र जातीय विभेद उच्चतम विन्दुमा छ, त्यहाँ महिला र दलित त्यो पनि वर्गीय रूपले पछाडि पारिएकाहरूको स्वास्थ्य अत्यन्तै जोखिमपूर्ण अवस्थामा हुन्छ । त्यसैले 'सबैका लागि स्वास्थ्य' भन्ने नारा पूरा गर्न भनौँ वा हरेक नागरिकको 'मेरो स्वास्थ्य मेरो अधिकार' भन्न सक्ने वातावरण तयार गर्न स्वास्‍थ्यलाई प्रभाव पार्ने सामाजिक रूपमा रहेका निर्णायक तत्त्वहरूमा परिवर्तन गर्न आवश्‍यक छ ।

समाजमा रहेका जातीय, लैङ्‌गिकलगायत सबैखाले उत्पीडनको अन्त्य हुन सक्ने वातावरण निर्माण गर्नुपर्छ । विभेदको अन्त्य नभएसम्‍म र 'मेरो स्वास्थ्य मेरो अधिकार'को प्रत्याभूति हुन सक्दैन भने देशको संविधानले दिएको स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा सुनिश्‍चित हुन सक्ने वातावरण पनि बन्न सक्दैन । यो नारा नारामै सीमित रहन्छ । यथार्थ बन्न सक्दैन ।