महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले सुनिता दनुवार स्मृति लेक्चर श्रृंखला अन्तर्गत "प्रभावित केन्द्रित मात्र नभई प्रभावितहरुकै नेतृत्वमा आन्दोलनको शक्ति र चुनौती" विषयक पहिलो सत्र सफलतापूर्वक आज काठमाण्डौमा सम्पन्न गरेको छ ।
स्व. सुनिता दनुवार (१९७७–२०२४) को स्मृतिमा समर्पित यस पहिलो श्रृंखला उँहाको अतुलानिय योगदानको सम्मान गर्दै सुरु गरिएको हो । शक्ति समूह, सुनिता फाउन्डेसनकी संस्थापक तथा ओरेकको कार्यसमिति उपाध्यक्ष मात्र नभई स्व. दनुवार मानव बेचबिखन विरुद्धको अभियानमा अग्रणी महिला अभियन्ता समेत हुनुहुन्थ्यो । उहाँले प्रभावित तथा पीडितहरूलाई परिवर्तनका सम्वाहकको रूपमा स्थापित गर्न खेलेको भूमिकाले नेपालमा मानव अधिकार आन्दोलनलाई नयाँ दिशामा अघि बढाएको छ ।
मानव बेचबिखन तथा प्रभावित केन्द्रित अभियानमा तीन दशकभन्दा बढी अनुभव प्राप्त समाजशास्त्री डा. मीना पौडेलले प्रमुख वक्ताका रूपमा कार्यक्रमलाई सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरका मानवअधिकारका क्षेत्रमा कार्यरत संघ संस्था र सञ्जाल का प्रतिनितिहरु र तथा , राष्ट्रिय महिला आयोग, नेपाल प्रहरीका प्रतिनिधिहरू तथा पत्रकार सहित जम्मा २५ जनाको सहभागिता रहेको थियो ।कार्यक्रमको औपचारिक सुरुवात ओरेकका कार्यकारी निर्देशक सुनिता मैनालीको स्वागत मन्तव्यबाट भएको थियो भने उहाँले विषेशत: सुनिता दनुवारको योगदानको स्मरण गर्दै प्रभावितकै नेतृत्वलाई थप सशक्त बनाउन आवश्यक रहेकाले यस सवालमा चिन्ता र चासो राख्ने सबैलाई एकजुट हुनका लागि आह्वान गर्नुभएको थियो ।
लेक्चर शृंखलाका मुख्य बुँदाहरूमा सुनिता दनुवारको संघर्ष र नेतृत्वलाई केन्द्रमा राखेर छलफल गरियो । छलफलमा प्रभावितहरूलाई पीडितका रूपमा नहेरी परिवर्तनका संवाहकका रूपमा पुनः परिभाषित गर्ने विषय, शक्ति समूहको स्थापना जसले दक्षिण एशियामै पहिलो पटक बेचबिखन प्रभावितहरूद्वारा प्रभावितहरुकै नेतृत्वमा सञ्चालित संस्थाको रूपमा ऐतिहासिक पहिचान बनाएको यथार्थता, प्रभावित केन्द्रित नेतृत्वको सफलता र यसले सिर्जना गरेका उपलब्धिहरू तथा संस्थागत चुनौतीहरूको विषयलाई विश्लेषणात्मक ढंगले उठान गरिएको थियो । साथै, प्रभावितहरूले आफ्नै पहिचान स्थापित गर्न भोग्नुपरेका चुनौतीहरू र शक्ति समूहको संस्थागत विकासमा प्राप्त समर्थनका बारेमा विशेष रूपमा जोड दिइएको थियो ।
छलफलमा मेलम्ची नगरपालिका पूर्व उपमेयर तथा गैरसरकारी संस्था महासंघकी पूर्व उपाध्यक्ष भगवती नेपालले प्रमुख वक्ताको रुममा बोल्दै मानव बेचबिखनको बदलिंदो स्वरूपबारे प्रकाश पार्नु भएको थियो । जसमा उहाँले बेचबिखन अब परम्परागत र सीमित संरचनाभन्दा बाहिर गइसकेको र नयाँ पुस्ताले यस चुनौतीलाई निडरताका साथ सामना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नु भएको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व विकास कार्यक्रम (IVLP) फेलो क्रान्ति तामाङले नयाँ पुस्ताका अभियन्ताहरूले सामना गरिरहेका चुनौतीहरू साझा गर्दै युवा नेतृत्वलाई स्वीकार्न आवश्यक रहेको बताउनुभएको थियो ।
छलफलले परम्परागत कथनले अझै पनि प्रभावितहरुलाई परिवर्तनको नेतृत्व गर्ने नेताका रुपमा पहिचान नगरेर वस्तुकरण गर्दै श्रोत संकलनको आधारको माध्यम मात्रै बनाएको कुरा प्रकाश परेको थियो । वक्ताहरुले बिकाशका साझेदार संस्थाहरुले प्रायः प्रभावितले नेतृत्व गरेका संस्थाहरुको एजेन्डामा प्रभाव पारेको र प्रभावितहरुको प्राथमिकताहरू परिभाषित गर्ने स्वायत्ततामा सीमितता ल्याएको विषयलाई समेत उठान गरेका थिए । यसका अतिरिक्त, विद्यमान मानव बचाबिखन तथा ओसार पसारको सवाल सम्बोधनका लागि बनेको कानुन प्रभावितहरूको लागि अनुकूल नभएको कारण प्रभावितहरुको स्वायत्तता, न्यायमा पहुँच र पुनः एकीकरणमा सहयोग नगर्ने धारणा वक्ताहरुले राख्नुभयो । यी चुनौतीहरूको
सामना गर्न र मानव बेचबिखनको बिरुद्धको आन्दोलनम अधिकार बिरोधी दृष्टिकोण र बाह्य प्रभावहरूलाई प्रतिस्थापन गर्न निरन्तर छलफल र त्यसको स्पस्ट खाका तयार पार्दै जानु पर्ने कुरामा समेत छलफल गरिएको थियो ।
सुनिता फाउन्डेसनकी प्रबन्ध निर्देशक तथा सुनिता दनुवारकी छोरी स्वस्तिका दनुवारले आमा सुनिता दनुवारको निरन्तर संघर्ष र योगदानबारे स्मरण गर्दै यो अभियानलाई निरन्तर अघि बढाउनु नै उँहाको सम्झनाको सबैभन्दा ठूलो सम्मान हुने बताउनु भयो । उहाँले आफ्नी आमाको संघर्षलाई जीवन्त राख्न यो लेक्चर सिरिज संचालन गरेकोमा ओरेकलाई धन्यवाद दिदै भविष्यमा थप सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापनमा बोल्ने क्रममा ओरेककी अध्यक्ष सबिता पोखरेलले सहभागी सबै प्रति धन्यवाद दिदै सबैले आफ्नो स्थानबाट पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै प्रभावितहरुकै नेतृत्वलाई संस्थागत र नीतिगत रूपमा अझ मजबुत बनाउन निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
अर्को लेक्चर शृंखला सत्र घोषणा:
ओरेकले आगामी जुलाई ३०, २०२५ मा "आधुनिक मानव बेचबिखन र मानव बेचबिखनको स्वरूप" विषयमा दोस्रो सत्रको आयोजना गर्ने जानकारी गराइएको छ ।
समग्रमा, यस किसिमका शृंखलाले जसको सवाल उसकै नेतृत्व अवधरणालाई स्थापित गर्न वातावरण निर्माणमा योगदान पुरयाउने, मानब बेचबिखनलाई परम्परागत बुझाइबाट फराकिलो पर्दै प्रभावितको आवाजलाई सशक्त बनाउने र नीतिगत परिवर्तनका लागि दबाब सिर्जना गर्ने लक्ष्य राखेको छ ।
ओरेक प्रभावितहरुको नेतृत्वमा संचालित आन्दोलनलाई बलियो बनाउने, स्व. सुनिता दनुवारको सपना र योगदानलाई जीवित राख्ने तथा व्यवस्थागत परिवर्तनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछ ।