काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर नै केही दिनयता बढेको वायु प्रदूषणले विशेषगरी महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
संवैधानिकरुपमा व्यवस्था भएको स्वस्थ वातावरण सबैको अधिकार व्यवहारमा सुनिश्चत गर्न सरकारसँग माग गरेका छन् ।
महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले हिजो वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्काल घोषणा गरी वायु प्रदूषण नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ ।
हिजो अधिकारकर्मीहरूको टोलीले वनमन्त्री शाहीलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए ।
काठमाण्डौका अस्पतालहरूमा देखिएको बिरामीको चापले पनि श्वासप्रश्वास सम्बन्धी आपत्कालीन घटनाहरूमा वृद्धिको सङ्केत गरेको उनीहरूको भनाइ छ ।
उनीहरूले वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्काल घोषणा गरी तत्काल न्यूनीकरणका उपायहरू कार्यान्वयन गर्न माग गरेका छन् ।
त्यस्तै, अनुगमन संयन्त्रहरूलाई प्रभावकारी बनाउने र वातावरणीय नियमनहरूलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने, महिला र सीमान्तकृत समुदायहरूमा वायु प्रदूषणको असमानुपातिक प्रभावलाई सम्बोधन गर्न लैङ्गिक उत्तरदायी नीतिहरू लागू गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, वायु गुणस्तर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, र शहरी हरियालीको विस्तार जस्ता दीर्घकालीन, दिगो समाधानहरूमा लगानी गर्नुपर्ने, वायु प्रदूषण नियन्त्रण गर्न छिमेकी देशहरूसँग क्षेत्रीय सहकार्य स्थापित गर्नुपर्ने तथा मानव अधिकार र पर्यावरणीय न्यायप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन्।