नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलन गर्ने, अंकित एवं विश्लेषण सहितको एक महत्वपूर्ण पुस्तक अन्वेषीको लोकार्पण कार्यक्रममा पुस्तक विमोचन गर्दै मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले अन्वेषीले उजागर गरेको महिला हिंसाको वास्तविकता र विश्लेषणले मानव अधिकार आयोग, नेपाल सरकार र सरोकारवालालाई महिला हिंसा अन्त्य गर्न ठोस कार्य गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । महिलामाथि हुने हिंसा तथा महिला अधिकारका सन्दर्भमा निकै नीति तथा कानुनहरु निर्माण भएको भए पनि यसको प्रभावकारी कार्यान्वयनले मात्र मुद्दा सम्बोधन हुने बताउनुभयो । साथै वहाँले मानव अधिकार आयोग महिलामाथि हुने कुनै पनि प्रकारको हिंसाका विरुद्ध दरिलोरुपमा उभिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन नोभेम्बर २५ मा राष्ट्रिय मानव अधिकार आयोगमा अयोजित कार्यक्रममा ओरेक नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका जम्मा १३१९ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण समेटिएको पुस्तक अन्वेषीको लोकार्पण राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्मा, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय श्री मोहना अन्सारी, राष्ट्रिय महिला आयोगका सचिव श्री दिपेन्द्र काफ्ले, प्रहरी उपरिक्षक श्री कृष्ण सिंह थापा र ओरेकका अध्यक्ष श्री ज्येत्सना मास्केले संयुक्त रुपमा गर्नुभएको हो ।
अन्वेषी २०७६ मा “जुलाई २०१८ देखि जुन २०१९” सम्म ओरेक नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका जम्मा १३१९ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण प्रस्तुत गरिएको थियो । जसमध्ये सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको छ । त्यस्तै गरी ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिका माथि बलात्कार, १.३६ प्रतिशत (१८ जना) माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौन हिंसा भएको पाइएको छ ।
समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसाको अवस्थालाई आँकलन गर्ने, उजागर गर्ने तथा हिंसाको स्वरुप पहिचान गर्दै तथ्याङ्कका आधारमा हिंसा अन्त्य गर्ने उपायहरूको खोजी कार्यमा तथ्याङ्कले सहयोग गर्ने भए पनि नेपालमा यसकालागि एकीकृत तथ्याङ्क प्रणालीको अभाव भएको अन्वेषी वर्ष पुस्तक २०७६ को विमोचन गर्दै कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै मानव अधिकार आयोगका सदस्य माननीय श्री मोहना अन्सारीले सिड समिति, सिरासि समिति लगायत सुयुक्त राष्ट्रसंघिय समितिहरुले महिला तथा बालबालिकामाथि हुने हिंसाको स्वरुप पहिचान गर्न, यसको कारण पत्ता लगाउन तथा सम्बोधनका लागि तथ्याङ्कहरुको व्यवस्थापन राष्ट्रिय रुपमै गर्नुपर्ने सुझाव पेश गरेको बताउँदै यस्तो संयन्त्र स्थानिय निकाय, प्रादेशिक सरकार तथा राष्ट्रियस्तरमै अति आवश्यक भएको बताउनुभयो ।
अन्वेषी २०७६ का सम्पादक श्री कैलाश राईले सर्वेक्षणले सीमित भुगोलका धेरैजसो हिंसा प्रभावितहरु ओरेकको सहयोगी संयन्त्रसम्म आफै आइपुगेर गरेको रिपोटिङ्कको आधारमा नेपालमा महिलामाथि हुने हिंसाको बारेमा अन्वेषीमा विश्लेषण गरेको बताउनुभयो । वहाँले हामीले महिलामाथि हिंसा हुन्छ भन्ने कुरा स्वीकार गरेपनि यसको सम्बोधनका लागि तथ्याङ्क संकलन र विश्लेषण गर्ने संयन्त्र सरकारी तहमा अभाव रहेको बताउनुभयो ।
ओरेकका कार्यकारी श्री निर्देशक लुभराज न्यौपनेले संकलित १३१९ वटा घटनाको करिब ६६ प्रतिशत घरेलु हिंसा तथा १२ प्रतिशत सामाजिक हिंसाको तथ्याङ्कले महिलाहरु घरभित्र र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै हिंसामा रहेको बताउनुभयो जसलाई नेपाल प्रहरीको आ.व. २०७५÷०७६ को १४,७०० भन्दा बढिको घरेलु हिंसाको तथ्याङ्कले समेत पुष्टि गर्दछ । ओरेकको सहयोगी संयन्त्र तथा राष्ट्रको संयन्त्रहरु मार्फत आफूमाथि भएको हिंसाको बारेमा केहीले मात्र रिपोटिङ्ग गर्न सकेको र अन्य धेरै विभेदकारी संरचना तथा महिलामाथि गरिने विभेदकै कारण आफूमाथि भएको हिंसाको रिपोटिङ्ग गर्न नसकेको भनाई राख्नुभयो । नेपालले आर्थिक समृद्धिको नारा लगाई राख्दा महिलामाथि हुने विभेद तथा हिंसालाई सम्बोधन नगर्दासम्म समृद्ध नेपालको कल्पना गर्न नसकिने वहाँको भनाई थियो ।
ओरेकका अध्यक्ष श्री ज्योत्सना मास्केले अब ओरेकले आफ्नो तथ्याङ्कको दायरालाई फराकिलो पार्दै अन्वेषीमा यौन अल्पसङ्ख्यक, अपाङ्गता भएका महिला, महिला स्वास्थ्य लगायत महिला आन्दोलनको विविधता समेट्ने प्रयास भइरहेको जानकारी गराउनुभयो । ‘अन्वेषी’ बर्ष पुस्तक १ सयभन्दा बढी महिला मानव अधिकारववादी संघसंस्थाहरू, सामुदायिक संघ संस्थाहरू, महिलावादी लेखकहरू, महिला मानब अधिकारवादीहरू, संचारकर्मीहरूको सामुहिक प्रयास र सहकार्यबाट तयार गरिएको महिला माथि भएका भेदभाव, हिंसा र असमानताको बारेमा विश्लेषणात्मक पुस्तक भएको बताउँदै अध्यक्ष मास्केले अब यो पुस्तकलाई अझ वृहत बनाउँदै महिलाभित्रको विविधता समेट्नका लागि सहकार्य गर्न सरोकारवाला संघसंस्था तथा व्यक्तिहरुलाई आवहन गर्नु भयो ।
महिलामाथि हुने हिंसाको बारेमा तथ्याङ्क नभएको अवस्थामा महिलामाथि हुने हिंसाका घटनाहरूको नक्साङ्कन गर्ने, सरोकारवाला एवं सम्बन्धित जिम्मेवार निकायसमक्ष महिला हिंसाका वास्तविकता प्रस्तुत गरी आवश्यक कदम चाल्न दबाब सृजना गर्ने उद्देश्यले महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले अन्वेषी सन् २००८ देखि प्रकाशन गर्दै आइरहेको छ । अन्वेषीले विभिन्न भू–भागमा बसोबास गर्ने भिन्न–भिन्न सामाजिक समूह र समुदायका महिलाहरूमाथि भइरहेको हिंसा, तिनको स्वरुप र त्यसका प्रभावहरूबारे जानकारी दिन्छ ।
देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” लैङ्गिक हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ । महिला माथि हुने हिंसाको अवस्था र महिलाको न्यायमा पहुँचको अवस्थालाई विश्लेषण गरी तयार गरिएको वर्ष पुस्तकले समग्र रुपमा महिलाको मानवअधिकार हनन्को अवस्था र यसको सम्बोधनका लागि समुदायस्तरदेखि नीतिगतस्तरसम्म आवश्यक कार्यहरु गर्नका लागि सरोकारवालाहरुलाई दिशा निर्देश गर्ने विश्वास संस्थाले लिएको छ ।