Newsletters

34th Anniversary ( WOREC DAY)

29 May 2025 Download

असमानता विरुद्धको संघर्ष एक दृढ यात्रा हो । मानव अधिकार र सामाजिक न्याय सुनिश्चितताको यस सघंर्षमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) विगत ३४ बर्षदेखि लगातार उडान भरिरहेको छ । कहिले घामको किरण छुदै त कहिले सागरको गहिराईमा डुब्दै । ओरेक डगमगाएको छैन, बिचलित पनि भएको छैन । समयकालसँगै मुद्दाका आयामहरु फेरिदैछन् । तर ओरेकले हरेक मुद्दाहरुलाई एकिकृत अवधारणा मार्फत विविधतालाई समेट्दै समानता प्राप्तीका लागि महिलावादी मूल्यमान्यतालाई आत्मसात् गरी काम गरिरहेको छ ।  आज ओरेकले ३४ बर्ष पुरा गरेको छ तर यो यात्रा ओरेकको एकल यात्रा होइन । ओरेक संस्था मात्र पनि होइन, यो एक अभियान हो, एक   संयुक्त आन्दोलन हो । समुदाय तहदेखि राष्ट्रिय, क्षेत्रिय तथा अन्तराष्ट्रिय स्तरबाट प्राप्त ऐक्यवद्धता, साथ, सहयोग बिना यो आन्दोलनको मूर्तरुप सम्भव थिएन । 

चैत्र १९, २०८१ मा ३४ औं बर्षको यात्रा पार गरेको ओरेकले बैशाख ०५, २०८२, शुक्रबार काठमाडौंको रसियन हाउसमा “कला मार्फत प्रतिरोध” भन्ने नाराका साथ आफ्नो बार्षिक उत्सव मनाएको छ । हाल ओरेकले ३४ औं बर्ष पार गरेको भएता पनि महिला अधिकार सस्थांगत गर्न र हरेक महिलाले आफ्नो श्रम, शरीर र पहिचान माथिको स्वतन्त्रता स्थापित गर्न अझै पनि धेरै खुड्किलाहरु पार गर्नु पर्नेछ । जबसम्म महिलाले आफ्नो गतिशिलता, यौनिकता र विचार माथिको स्व–निर्यण प्राप्त गर्न सक्दैनन् तब सम्म महिला अधिकारको अनुभूति नभएर एक दस्तावेज मात्र बन्ने छ । ओरेकले सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणद्वारा महिलावादी आकांक्षा प्राप्त भएको समाजको परिकल्पना गरेको छ । यो सपना साकार गर्नका लागि सबै प्रकारको संरचनात्मक विभेदको अन्त्य तथा मानव अधिकार र सामाजिक न्याय स्थापना हुन आवश्यक छ । महिलावादी मान्यता, साथ, माया, एकता, सहकार्य, र सह–नेतृत्व बिना यो यात्रा सम्भव छैन । हामी विश्वस्त छौं कि संगठित यात्राको कहिल्यै हार हुँदैन ।