अन्वेषी’ बर्ष पुस्तक १ सयभन्दा बढी महिला मानव अधिकारववादी संघसंस्थाहरू, सामुदायिक संघ संस्थाहरू, महिलावादी लेखकहरू, महिला मानब अधिकारवादीहरू, संचारकर्मीहरूको सामुहिक प्रयास र सहकार्यबाट तयार गरिएको महिला माथि भएका भेदभाव, हिंसा र असमानताको बारेमा विश्लेषणात्मक पुस्तक हो । यो नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलित, अंकित एवं विश्लेषण सहितको एक महत्वपूर्ण पुस्तक हो । सर्भेक्षणमा आधारित यो पुस्तक ओरेक नेपालले सन् २००८ बाट वर्षेनी प्रकाशन गर्दै आइरहेको छ । महिलामाथि हुने हिंसाका घटनाहरूको नक्साङ्कन गर्ने, सरोकारवाला एवं सम्बन्धित जिम्मेवार निकायसमक्ष महिला हिंसाका वास्तविकता प्रस्तुत गरी आवश्यक कदम चाल्न दबाब सृजना गर्ने उद्देश्यले अन्वेषी प्रकाशन एवं वितरण कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिँदै आइएको छ । अन्वेषीले विभिन्न भू–भागमा बसोबास गर्ने भिन्न–भिन्न सामाजिक समूह र समुदायका महिलाहरूमाथि भइरहेको हिंसा, तिनको स्वरुप र त्यसका प्रभावहरूबारे जानकारी दिन्छ ।
घटना संकलन अवधि र क्षेत्र
पुस्तकमा समावेश गरिएका तथ्याङ्क श्रावण २०७५ देखि असार २०७६ सम्मको समय अवधिमा संकलन गरिएको हो । यसभित्र महिलामाथि भएका १ हजार ३ सय १९ वटा हिंसाका घटनाहरू समाविष्ट छन् । पुस्तकमा तथ्याङ्कहरूको विश्लेषणसमेत प्रस्तुत गरिएको छ । ओरेक नेपालले संकलन गरेको ताजा तथ्याङ्कको अलावा यसभित्र विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिकामा प्रकाशित घटनाहरू समेतलाई समेटिएको छ । राष्ट्रिय स्तरमा प्रकाशित पत्रपत्रिकाहरूबाट जम्मा ५ सय ९० वटा घटनाहरू संकलन गरिएको छ ।
अध्ययनको सीमा
यो सर्भेक्षण मूलतः ओरेक नेपाल र महिला मानवअधिकार रक्षक सञ्जालको कार्यक्षेत्र, पहुँच र जानकारीमा आधारित रहेको छ । विभिन्न जिल्लाहरूमा समुदायस्तरमा कार्यरत महिला मानवअधिकार रक्षकहरूको अभिलेखीकरण, स्थलगत अनुसन्धान, संस्थाले उपलब्ध गराएको सुरक्षित आवास, कानूनी परामर्श तथा सहयोग, स्वास्थ्योपचार लगायतका सेवाहरूमार्फत् तथ्याङ्क संकलन गरिएको छ । थप विस्तृत तथ्याङ्कका लागि राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनालाई पनि समावेश गरिएको छ । पुस्तकमा नेपालका ७ वटै प्रदेशमा भएका महिला हिंसाका घटनाहरू समेट्ने प्रयत्न गरिएको भएपनि यसले समग्र नेपालका महिलाहरूमाथि भएको हिंसाको तथ्य र प्रवृत्तिलाई समेट्न सक्दैन । यद्यपि नेपालका महिलामाथि हुने हिंसाको अवस्था, स्तर र स्वरुपको वास्तविक चित्रण भने गर्दछ ।
यहाँ प्रस्तुत तथ्याङ्कले नेपालका हरेक समुदाय र समूहका महिलामाथि हिंसा हुने तथ्य उजागर गरेको छ । साथै त्यस्ता हिंसा हुनुको कारक तत्वहरू समुदाय र समूहहरूको बसोबासको क्षेत्र, सामाजिक–सांस्कृतिक प्रचलन र मूल्य–मान्यता, लैंगिक सम्बन्ध, आर्थिक, शैक्षिक, राजनीतिक स्तर आदिद्वारा निर्धारित हुन्छन् भन्ने कुरासँग पनि ओरेक नेपाल सहमत छ । यद्यपि सीमित स्रोत, साधन र प्राविधिक कारणवस ती पक्षहरूको विश्लेषण गर्ने सकिनेसम्मको अवस्था सृजना गर्न असमर्थ छौँ । यद्यपि आगामी सर्भेक्षणको क्रममा यी पक्षहरूसमेतलाई समेटेर लानु आवश्यक रहेको कुरामा हामी सहमत छौँ । जसले गर्दा महिला माथि हुने हिंसाका घटनाहरूको अनेक आयामहरूसमेत बाहिर ल्याउन सकिनेछ भन्ने विश्वास लिएका छौँ ।
कार्यकारी सारांश
अध्ययनबाट प्राप्त नतिजा सङ्क्षेपमा
२.१.१. भौगोलिक क्षेत्र अनुसार महिलामाथि भएको हिंसाको स्थिति
संस्थाले अभिलेख गरेका जम्मा १३१९ वटा घटनाहरूको विश्लेषण गर्दा महिलामाथि भएका हिंसाका घटनाहरू सबैभन्दा बढी प्रदेश नम्बर १ बाट अभिलेखिकरण भएको छ । प्रदेश नम्बर १ बाट ४९४ वटा हिंसाका घटना, प्रदेश नम्बर २ बाट ३९९ वटा, प्रदेश नम्बर ५ बाट २१५, प्रदेश नम्बर ७ बाट १०१ वटा, प्रदेश नम्बर ३ बाट ७६ वटा, प्रदेश नम्बर ६ बाट ३२ वटा र प्रदेश नम्बर ४ बाट २ जना महिलामाथि भएका विभिन्न प्रकारका घटना अभिलेख गरिएको छ ।
२.१.२. हिंसाका प्रकारहरू
क) घरेलु हिंसा
ओरेक नेपालले यस वर्ष अभिलेख गरेको जम्मा १ हजार ३ सय १९ वटा घटनालाई विश्लेषण गर्दा सबैभन्दा बढी महिलाहरू घरेलु हिंसाबाट प्रभावित भएको पाइएको छ । प्राप्त तथ्याङ्कका आधारमा यस वर्ष सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको छ । महिलाहरूमाथि हिंसा गर्नेहरूमध्ये सबैभन्दा बढी आफ्नै श्रीमान् र घरपरिवारका सदस्यहरू हुने गरेको तथ्य यस वर्षको तथ्याकंले पनि देखाएको छ । ९० प्रतिशत (७९० जना) महिला आफ्नै श्रीमान्बाट र १० प्रतिशत (९०) महिला घरपरिवारका सदस्यहरूबाट हिंसामा परेका छन् । यसरी घरेलु हिंसा खप्न बाध्य महिलाहरूमध्ये १७–२५ बर्ष उमेर समुहका ३९ प्रतिशत (३३९ जना) र २६ देखि ३५ वर्ष उमेर समूहका ३८ प्रतिशत (३३७ जना) रहेका छन् भने ८७ प्रतिशत (७६४ जना) साक्षर महिला घरेलु हिंसाबाट प्रभावित रहेको तथ्याङ्कले देखाएको छ ।
ख) सामाजिक हिंसा
घरेलु हिंसा पछि सबैभन्दा बढी महिला माथि सामाजिक हिंसा भएको पाइएको छ । महिला माथि हुने विभिन्न प्रकृतिका हिंसा मध्ये सामाजिक हिंसा पनि एक हो । यस वर्ष संकलन गरिएको तथ्याङ्कको आधारमा हेर्दा ११.९८ प्रतिशत (१५८ जना) महिलामाथि सामाजिक हिंसा भएको पाइएको छ । त्यसमा ५८ प्रतिशत (९२ जना) छिमेकीबाट, १७ प्रतिशत (२७ जना) साथीबाट, १६ प्रतिशत (२६ जना) नजिकको साथीबाट, ५ प्रतिशत (८ जना) परिवारका सदस्यबाट, ३ प्रतिशत (४ जना) सेवा प्रदायक संस्थाका व्यक्तिहरू जस्तै प्रहरी, स्वास्थ्यकर्मी आदिबाट र १ जना महिलामाथि कुनै पनि सम्बन्ध नभएको अपरिचित व्यक्तिबाट सामाजिक हिंसा भएको पाइएको छ ।
ग) बलात्कार
प्राप्त तथ्याङ्कका आधारमा यस वर्ष १०.८४ प्रतिशत (१४३ जना) महिलामाथि बलात्कार र १.३६ प्रतिशत (१८ जना) महिलामाथि बलात्कारको प्रयास भएको पाइएको छ । बलात्कारका घटनाहरूमध्ये ६४ प्रतिशत (९२ जना) महिलामाथि छिमेकीबाट, १३ प्रतिशत (१८ जना) साथीबाट, १० प्रतिशत (१४ जना) महिला आफूले आत्मीय ठानेका साथीबाट, ७ प्रतिशत (१० जना) परिवारका सदस्यबाट, ३ प्रतशत (४ जना) सेवा सेवा प्रदायकबाट, २ प्रतिशत (३ जना) शिक्षकबाट र १ प्रतिशत (२ जना) अविवाहित तर संगै बसेका साथीबाट महिलाहरूमाथि बलात्कार भएको तथ्याङ्क संकलन भएको छ । प्रभावित महिलाहरूमध्ये सबैभन्दा बढी ४८ प्रतिशत (६९ जना) बलात्कारका घटनाहरू १६ वर्षमुनिका बालिकामाथि भएको तथ्याङ्कले देखाएको छ ।
घ) यौनिक हिंसा
यसवर्ष ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौनिक हिंसा भएको पाइएको छ, जसमध्ये सबैभन्दा बढी ३७ प्रतिशत (२३ जना) यौनिक हिंसाका घटना छिमेकीबाट भएको पाइएको छ । त्यसैगरी ३१ प्रतिशत (१९ जना) महिलाले आत्मीय साथी ठानेका व्यक्तिहरूबाट, १० प्रतिशत (६ जना) शिक्षकबाट, ६–६ प्रतिशत (४–४ जना) अविवाहित तर संगै बसेका साथीबाट र सेवा प्रदायक व्यक्तिहरुबाट साथै ५–५ प्रतिशत (३–३ जना) महिलामाथि परिवारका सदस्य र साथीबाट यौनिक हिंसा भएको पाइएको छ । घटनालाई हेर्दा साक्षर महिलाहरूमाथि ८९ प्रतिशत र १७–२५ वर्ष उमेर समूहका ३१ प्रतिशत (१९ जना) महिलामाथि यौनिक हिंसा बढी भएको पाइएको छ ।
ङ) हत्या
यसवर्ष संकलन गरिएका तथ्याङ्कका आधारमा ०.७६ प्रतिशत (१० जना) महिलाको हत्या भएको छ भने ०.६१ प्रतिशत (८ जना) महिलामाथि हत्याको प्रयास भएको पाइएको छ । हत्याका घटनामध्ये ५० प्रतिशत (५ जना) परिवारका सदस्यवाट, ४० प्रतिशत (४ जना) छिमेकीबाट र १० प्रतिशत (१ जना) को हत्या भएको पाइएको छ । साक्षर ७५ प्रतिशत महिलाको हत्या भएको छ भने १७–२५ उमेर समूहका ४० प्रतिशत (४ जना) र २० प्रतिशत (२ जना) १६ बर्षभन्दा कम उमेरका बालिका र सोही प्रतिशतमा २–२ जना क्रमशः २६ देखि ३५ र ३६ बर्ष भन्दा माथि उमेर समुहका महिलाकोे हत्या भएको पाइएको छ ।
च) बेचबिखन
०.६१ प्रतिशत (८ जना) महिला यस वर्ष बेचबिखनमा परेका तथा ०.५३ प्रतिशत (७ जना) महिलामाथि बेचबिखनको प्रयास भएको पाइएको छ । सबैभन्दा बढी ३८–३८ प्रतिशत (३–२ जना) साथी र सेवा प्रदायक व्यक्तिबाट महिला तथा बालिका बेचविखन भएको पाइएको छ । त्यसैगरी १३–१३ प्रतिशत (१–१ जना) सेवा प्रदायक र साथीबाट महिला तथा बालिका बेचबिखन भएको पाइएको छ । यी मध्ये ५० प्रतिशत साक्षर महिलाहरु बेचबिखन परेका छन् । १७ देखि २५ वर्ष उमेर समुहका ७५ प्रतिशत महिला बढी बेचबिखनको जोखिममा पर्ने गरेको पाइएको छ ।
छ) आत्महत्या
यस वर्ष महिला माथि भएका चरित्रहत्या, दाइजोको कारणले दैनिक रुपमा यातना, जवरजस्ती विवाह गरी आत्महत्या गर्न बाध्य बनाइएका कारणले ०.७६ प्रतिशत (१० जना) महिलाले आत्महत्या गरेका घटना अभिलेख भएका छन् ।
ज) अन्य
महिलामाथि भएका हिंसा तर थोरै संख्यामा अभिलेख भएका घटनाहरूलाई अन्य समूहमा राखी विश्लेषण गरिएको छ । यस समूहका घटनाहरूमा साइवर अपराध, महिलालाई बेपत्ता बनाइएका तथा अलपत्र बनाइएका घटना राखिएको छ । यस वर्ष ३ जना महिलालाई वेपत्ता बनाइएको तथा १२ जना महिलालाई अलपत्र बनाइएको घटना संकलन भएका छन् ।
३. उमेर समूह र महिलामाथि हुने हिंसा
प्राप्त तथ्याङ्कको आधारमा यस वर्ष सबैभन्दा बढी १७–२५ वर्ष उमेर समूहका महिला हिंसामा परेको पाइएको छ । यस उमेर समूहका महिलाहरूले कूल हिंसा प्रभावितहरूमध्ये ३६ प्रतिशत (४७३ जना) हिंसा भएको पाइएको छ । यस्तै गरी २६–३५ वर्ष उमेर समूहमा ३२ प्रतिशत (४२६ जना), ३६–४५ वर्ष उमेर समूहमा १४ प्रतिशत (१७९ जना), १६ वर्षभन्दा कम उमेरका १२ प्रतिशत (१६३ जना), ४६–५५ वर्ष उमेर समूहका महिलामा ४ प्रतिशत (५७ जना) र ५६ वर्षभन्दा बढी उमेर समूहका महिलाहरूमा २ प्रतिशत (२१ जना) मा कुनै न कुनै प्रकारको हिंसा भएको पाइएको छ ।
४. शिक्षा र महिलामाथि हुने हिंसा
महिलामाथि हुने हिंसा र प्रभावितको शिक्षाको स्तरलाई विश्लेषण गर्दा ८६ प्रतिशत (१,१३४ जना) साक्षर महिलामाथि सबैभन्दा बढी हिंसा भएको पाइयोे । हिंसा प्रभावित महिलाहरूमध्ये १४ प्रतिशत निरक्षर (१८५ जना) महिला रहेको पाइयो । महिलाको साक्षरताको अवस्थालाई समेत विश्लेषण गरी हेर्दा ६४ प्रतिशत (७३२ जना) महिलाले आधारभूत शिक्षा (कक्षा १ देखि ८ कक्षा) सम्म अध्ययन गरेका, ३१ प्रतिशत (३५८ जना) माध्यमिक तहसम्मको अध्ययन गरेका, ४ प्रतिशत (४४ जना) स्नातक तहसम्म अध्ययन गरेका, ४ जना स्नातकोत्तर अध्ययन गरेका तथा २ जना प्राविधिक शिक्षा अध्ययन गरेका महिलामाथि हिंसा भएको पाइयो ।
५. वैवाहिक अवस्था र महिलामाथि हुने हिंसा
महिलामाथि भएको हिंसा र महिलाको वैवाहिक अवस्थालाई विश्लेषण गर्दा हिंसा प्रभावित महिलाहरूमा सबैभन्दा बढी ७८ प्रतिशत (१,०२९ जना ) विवाहित महिलामाथि हिंसा भएको पाइएको छ । १९ प्रतिशत (२४८ जना) अविवाहित महिला, २ प्रतिशत (२२ जना) एकल महिला, १ प्रतिशत (१५ जना) विवाहित तर पारिवारिक मनमुटावका कारणले अलग बस्दै आएका , ३ जना कानूनी र सामाजिक रीतिरिवाजअनुरुप विवाह नगरेका तर विवाहित सरह बस्दै आएका र २ जना पारपाचुके गरेर बसेका महिलामाथि हिंसा भएको पाइयो । महिलाहरू बढी घरेलु हिंसाबाट प्रभावित छन् र सबैभन्दा बढी महिलाहरूमाथि विवाहपछि श्रीमान्द्वारा हिंसा हुने हँुदा पनि विवाहित महिलाहरूमाथि भएको हिंसाको संख्या बढी अभिलेखीकरण भएको हुन सक्छ ।
६. पेशा र महिलामाथि हुने हिंसा
कुन पेशामा संलग्न कति महिलाहरूमाथि हिंसा भएको छ भनी यस वर्ष प्राप्त तथ्याङ्कका आधारमा विश्लेषण गर्दा आफ्नै घरको काममा संलग्न हुने ३९ प्रतिशत (५१७ जना) महिलामाथि सबैभन्दा बढी हिंसा भएको पाइएको छ । यस्तैगरी हिंसा प्रभावित महिलाहरूमध्ये २८ प्रतिशत (३६४ जना) महिला कृषि पेशामा संलग्न रहेका, १२ प्रतिशत (१६४ जना) विद्यार्थी, ११ प्रतिशत (१५० जना) महिला दैनिक ज्याला मजदूरीमा संलग्न रहेको पाइएको छ । यस्तै ५ प्रतिशत (६१ जना) व्यापार व्यवसायमा संलग्न, ३ प्रतिशत (३४ जना) गैरसरकारी क्षेत्रमा कार्यरत, १–१ प्रतिशत (१५ र १४ जना) क्रमशः सरकारी सेवा र जागिर खोज्दै गरेका महिला र ६ जना नीजि क्षेत्रमा संलग्न महिलाहरुमाथि हिंसा भएको तथ्याङ्कले देखाएको छ ।
७. महिलामाथि हुने हिंसाका असरहरू
हिंसाका कारण महिलाहरूमाथि परेको असरलाई यस पुस्तकमा ५ समूहमा विभाजन गरी विश्लेषण गरिएको छ । महिलाहरूमाथि कुनै पनि प्रकारको हिंसा हुँदा सबैभन्दा बढी ५१ प्रतिशत ( ६७० जना ) हिंसाको कारण शारीरिक असर परेको पाइयो । २७ प्रतिशत (३५७ जना) महिलालाई मानसिक असर, २ प्रतिशत (२९ जन) आर्थिक असर परेको, १ प्रतिशत (१४ जना) महिलालाई सामाजिक असर परेको पाइएको छ भने १९ प्रतिशत (२४९ जना) महिलामाथि हिंसाको कारण सबैखाले असर परेको तथ्याङ्कले देखाएको छ ।
८. जातीयताका आधारमा महिलामाथि हुने हिंसा
महिलामाथि हुने हिंसाका विभिन्न प्रकारहरू र महिलाको जातीयताका आधारमा विश्लेषण गर्दा यस वर्ष सबैभन्दा बढी तराई आदिवासी जनजाति महिलाहरूमाथि हिंसा भएको पाइएको छ । हिंसा प्रभावित कूल महिलामध्ये प्रतिशत २४ प्रतिशत (३११ जना) तराई आदिवासी जनजाति, २० प्रतिशत (२६६ जना) पहाडेब्राह्मण÷क्षेत्री, १५ प्रतिशत (१९५ जना) पहाडे आदिवासी जनजाति, ११–११ प्रतिशत (१५० र १४२जना) क्रमशः तराई दलित र तराई गैरदलित, ९ प्रतिशत (११९ जना) ब्राह्मण÷क्षेत्री तराई, ६ प्रतिशत (८५ जना) पहाडे दलित, ३ प्रतिशत मुश्लिम (४२ जना) र १ प्रतिशत (९ जना) महिलाहरूमाथि हिंसा भएको तथ्याङ्क संकलन भएको छ ।
९. पीडक र प्रभावितको सम्बन्ध
महिलाको पीडकसँग रहेको सम्बन्धको आधारमा विश्लेषण गर्दा महिलामाथि सबैभन्दा बढी हिंसा गर्ने ८०८ (६१ प्रतिशत) श्रीमान् रहेको पाइयो । त्यसैगरी १७ प्रतिशत (२२३ जना) महिला आफ्नै छिमेकीबाट, १० प्रतिशत (१२७ जना) महिला परिवारका सदस्यवाट, ४ प्रतिशत (७५ जना) महिला आफूले आत्मीय ठानेका व्यक्तिहरूबाट, ४ प्रतिशत (७३ जना) अपरिचित व्यक्तिहरूबाट र ४–४ प्रतिशत (५९ र ५५ जना) क्रमशः प्रेमी र आफ्नै साथीबाट महिलाहरू हिंसा प्रभावित भएको पाइएको छ । यसैगरी १–१ प्रतिशत (१५, १०, १५ जना) क्रमशः सेवा प्रदायक जस्तै प्रहरी, स्वास्थ्यकर्मीहरु, मुख्य हेरचाहकर्ताका रुपमा रहेका व्यक्ति, शिक्षक तथा अन्य कुनै सम्बन्ध नभएका व्यक्तिहरुबाट महिलामाथि हिंसा भएको पाइएको छ ।
सुझावहरूः
ड्ड महिलामाथि हुने हिंसा हरेक समाज, भूभाग, जात र जातीयता, वर्ग, लिङ्गमा उत्तिकै हुँदै आइरहेको छ । यद्यपि यस्ता घटनाहरूको एकमुष्ट दस्तावेजीकरण गरी एकीकृत तथ्याङ्क निर्माण कार्य भएको छैन । विभिन्न गैर सरकारी संस्था तथा केही सरकारी निकायबाट गरिदै आइएको महिला हिंसाका तथ्याङ्क संकलन तथा विश्लेषण कार्य आफैमा विस्तृत र एकीकृत स्वरुपको हुने गरेको छैन । यस्तो तथ्याङ्क निजी वा गैरसरकारी क्षेत्रबाट गरिनु आफैमा सह्रानीय कार्य हो । यद्यपि सरकारी तवरमा विस्तृत एकीकृत तथ्याङ्क निर्माणको पहल गरिनु उपयुक्त हुनेछ । विभिन्न गैरसरकारी संस्था तथा निजी क्षेत्रहरूको परिचालन एवंसमन्वय र सहकार्य मार्फत् त्यस्तो एकीकृत तथ्याङ्क निर्माणको काम गर्न सकिनेछ । जसले नेपालमा महिलामाथि हुने हिंसाको अवस्थालाई समग्रतामा आँकलन गर्न र तिनको पहिचान गर्न सहयोग पुग्नेछ । त्यस्तो तथ्याङ्कका आधारमा हिंसा अन्त्य गर्ने उपायहरूको खोजी कार्यमा सहजता ल्याउने छ ।
ड्ड उजुरी गर्ने निकायहरूको अभावमा हिंसामा परेका महिलाहरूले आफूमाथि भएको हिंसाबारे बोल्ने वा त्यसको समाधानको लागि कदम चाल्ने सम्भावनाहरूको खोजी गर्न समेत व्यवधान व्यहोर्ने गरेका छन् । तसर्थ महिलाविरुद्ध हुने हिंसाबारे गुनासा गर्ने महिला मैत्री तथा महिला प्रति उत्तरदायी संयन्त्र वा उजुरी गर्ने निकायहरू स्थानीय तहहरूमा स्थापना गर्नु अत्यावश्यक छ । यसले महिलाहरूमाआफूमाथि भएको हिंसा बिरुद्दको उपचारमा सहजता प्रदान गर्नेछ ।
ड्ड महिलामाथि हुने हिंसाबारेमा जानकार वा सचेत महिलाहरूको जमात बढ्दो छ । तर महिला हिंसाका नयाँ नयाँ स्वरुप र माध्यमहरू पनि उत्तिकै देखा परिरहेका छन् । त्यस्ता नयाँ नयाँ हिंसाका स्वरुप र माध्यमहरूबारेमा समेत सचेतना र छलफलहरू व्यापक रुपमा सञ्चालन गरिनुपर्दछ । त्यस्ता क्रियाकलापहरू सरकारी एवं गैरसरकारी र निजी वृत्तबाट समेत सञ्चालन गरि सम्बन्धित समूह र समाजको ध्यानाकर्षण गराउनु आवश्यक छ ।
ड्ड हिंसा प्रभावितहरूका लागि सहयोगी संयन्त्रहरु पर्याप्त मात्रामा निर्माण गरिनुपर्दछ । अहिले सञ्चालित संयन्त्रहरू अनेक कारणवस प्रभावकारी हुन सकीरहेका छैनन् । तिनलाई प्रभावकारी बनाउँदै थप प्रभावकारी संयन्त्रहरूको विकास गरिनु जरुरी छ । त्यस्ता सहयोगी संयन्त्रहरूले महिला माथि भएका हिंसाका घटनाहरूलाई बाहिर ल्याउने मात्रै नभइकन प्रभावितलाई न्याय प्रदान गर्ने, समाजमा सुरक्षित र सम्मानजनक तवरमा बाँच्नको लागि वातावरण निर्माण सम्मको जिम्मेवारी वहन गर्नुपर्दछ । जुनसुकै प्रकारको महिला हिंसाबाट प्रभावित भएपनि सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्दछ ।
ड्ड महिला हिंसामध्ये पनि यौन हिंसा, बलात्कार प्रभावितहरू, खासगरी बालिका एवं किशोरीहरू, का लागि सरकारी तहबाट उचित संरक्षण, मनोसामाजिक परामर्श सेवा, सुरक्षित आवास, गुणस्तरीय र सर्वसुलभ शिक्षा तथा रोजगार एवं जीविकोपार्जनको भरपर्दो माध्यमहरूको सुनिश्चित गर्दै आत्मसम्मान सहितको सामाजिक पुनःएकिकरणको व्यवस्था गरिनुपर्दछ ।
ड्ड स्थानीयदेखि राष्ट्रिय स्तरका न्यायिक एवं कानूनी निकायका प्रतिनिधिहरू महिला हिंसा र लैंगिक विभेद, शोषण र हिंसाप्रति संवेदनशील र सचेत बन्न आवश्यक छ । अधिकांश महिला हिंसाका घटनाहरूलाई कानूनी प्रक्रियामा लानुको सट्टा आपसी मेलमिलापमा लैजाने प्रवृत्तिमा परिवर्तन गर्नुपर्दछ । साथै पीडितको सुरक्षा र जीविकोपार्जनको कोणबाट यस्ता घटनाहरूलाई संबोधन गर्नेतर्फ जोड दिनुपर्दछ ।
ड्ड सबै स्थानीय निकायहरूले बलात्कार जस्ता मुद्दामा सरकारले द्रुत न्याय सेवा लागू गरेको कानूनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गनुपर्दछ । बलात्कारका घटनामा उजुरी गर्ने १ वर्षको हदम्याद खारेजी गरिनुपर्दछ । ताकी बलात्कार जस्तो अपराधिक क्रियाकलापको दोषीमाथि कारवाही गर्न र पीडितलाई न्याय दिलाउने काममा बाधा अड्चन कम गर्न सकियोस् ।
ड्ड सरकारले एकपछि अर्को ऐन कानूनहरूको निर्माण एवं समय सापेक्ष परिमार्जन एवं संशोधन गर्दै ल्याएको प्रावधानहरूबारे प्रत्येक स्थानीय निकायदेखि आम मानिसहरूसमक्ष जानकारी र सूचना पु¥याउने उचित संयन्त्र र माध्यमहरूको अवलम्बन गरिनुपर्दछ । ताकी हिंसा पीडितहरूले आफूमाथि भएको हिंसात्मक घटनालाई चाँडो भन्दा चाँडो न्यायिक प्रक्रियामा लैजान प्रोत्साहन मिलोस् । साथै देशको ऐन कानून र न्यायिक निकायप्रति विश्वास र भरोसामा वृद्धि होस् ।
ड्ड महिलामाथि हुने वा भएका सबै प्रकारका विभेद र असमान नीति, प्रावधान, ऐनहरूको खारेजी एवं नेपालको संविधान २०७२ मा रहेका विभेदित कुराहरु संशोधनको लागि कदम चालिनुपर्दछ । जस्तैः नागरिकताको प्रावधानमा रहेको असमानता नहटेसम्म प्रत्येक नागरिक समान हुन् भन्ने संविधानले दिएको अधिकारको उपभोग गर्नबाट महिलाहरू वञ्चित रहीरहनेछन् ।
ड्ड हिंसा प्रभावितहरूको गोपनीयताको अधिकारलाई उनीहरूको सुरक्षा एवं अन्य त्रासहरू न्यून गर्नको लागि पनि सरकार एवं सम्बन्धित निकायहरूले सुरक्षित एवं सुनिश्चित गर्नुपर्दछ ।
ड्ड महिला हिंसा विरुद्ध कार्यरत मानवअधिकारकर्मी, अभियन्ता तथा महिला अधिकारकर्मी संघसंस्थाहरूलाई समेत असुरक्षा र त्रासको माहौल सृजना हुने गरेको यथार्थलाई ध्यानमा राखी उनीहरूले सुरक्षित तवरमा आफ्ना काम सम्पन्न गर्ने वातावरण समेत राज्यले निर्माण गर्नुपर्दछ । खासगरी समुदायस्तरमा कार्यरत व्यक्ति एवं समूहहरूले महिला हिंसाका घटनालाई बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन खेलेको भूमिकाका कारण त्रसित बनाइने गरिएको छ । यस्ता क्रियाकलापलाई पूर्णत निषेध गर्नको लागि उचित कानूनी प्रावधान एवं सामाजिक वातावारण निर्माण गर्न सरकारी पहलको खाँचो छ ।
ड्ड महिला हिंसा प्रभावितहरूका लागि सरकारले उपलब्ध गराइआएको सेवा सुविधाहरू उचित रुपमा उपलब्ध भइरहेका छन् वा छैनन् भनेर अनुगमन तथा मूल्याङ्कनको संयन्त्र निर्माण गरिएको छैन । यो काम यथासक्य चाँडो गरिनुपर्दछ । २०७६ साललाई सरकारले लैंगिक हिंसा विरुद्धको वर्ष घोषणा गरेको छ । राज्यको तीनै तहमा महिला हिंसा विरुद्धको घटनालाई के र कसरी संबोधन गर्ने गरिएको छ भनेर प्रभावकारी तवरले अनुगमन तथा मूल्याङ्कनको कार्यको थालनी यहीबाट शुरु गरिनुपर्दछ ।
ड्ड महिला विरुद्ध हुने भेदभाव विरुद्ध शून्य सहनशीलताको नीतीलाई स्थानीय देखि केन्द्रिय स्तरसम्मका सबै संरचनाहरुमा प्रभावकारी रुपमा कार्यान्वयन गरियोस् ।
ड्ड महिलाले सम्मानित र स्वतन्त्र भएर जीवनयापन गर्न सक्ने वातावरण सिर्जनाका लागि राज्यका सबै स्थानीय देखि केन्दिय तहसम्मका निकायहरुमा लैङ्गिक समानता नीतिको तर्जुमा गरी कार्यान्वयनमा ल्याईयोस् ।
ड्ड महिलालाई हेर्ने दृष्टिकोण र सोँचमा आमुल परिवर्तन नभएसम्म नेपालको संविधान–२०७२ ले प्रत्याभूत गरेको ‘प्रत्येक नागरिकको समान अधिकार’ भन्ने प्रावधान नेपाली महिलाले अनुभूत गर्न पाउने वातावरण बन्न सक्दैन । साथै देशमा भएको बृहत र व्यापक राजनीतिक रूपान्तरणका बाबजुद पनि नेपाली महिलाको जीवन हिंसामूक्त र अधिकार सम्पन्न हुन सक्दैन । तसर्थ विभिन्न हानिकारक सामाजिक, आर्थिक तथा धार्मिक परम्पराहरूबाट प्रतिपादित र निर्देशित कुप्रथाका कारण महिलामाथि भैरहेको हिंसालाई गम्भीर अपराधको रूपमा स्वीकार तथा ब्याख्या गरि त्यस्ता सबैखाले हानिकारक परम्परागत अपराधको अन्त्यका लागि स्थानीयदेखि राष्ट्रिय तहसम्म रणनीति बनाई कार्यान्वयनमा ल्याईयोस् । साथै राज्यकै नेतृत्वमा यस्ता हानिकारक परम्परागत अभ्यासविरुद्ध आम सचेतनाका कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन गरियोस् ।
ड्ड महिलाहरुले आर्थिक रुपमा सशक्त र स्वलम्ब भएर जीवनयापन गर्न सक्ने अवस्थाको सिर्जनाका लागि महिलाहरुको आन्तरिक र आर्थिक सशक्तिकरणका कार्यक्रमहरुकालागि आवश्यक बजेटको विनीयोजन सहित नीतिगत व्यवस्था गरियोस् ।
ड्ड अन्तराष्ट्रिय सन्धि सम्झौता विशेषगरी महिला विरुद्ध हुने सबै किसिमका विभेद उन्मुलन गर्ने महासन्धि ९ऋभ्म्ब्ध्०, आर्थिक, सामाजिक तथा सांस्कृति अधिकार सम्बन्धी महासन्धी ९ग्ल्भ्क्ऋच्० र दिगो बिकासका लक्ष्य कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना निर्माण तथा प्रभावकारी अनुगमन संयन्त्रको विकास गरियोस्