Monthly Violence against Women Report

मासिक प्रतिवेदन जेष्ठ–२०७६

02 Jul 2019 Download

मितिः १७ असार २०७६

हाम्रो समाजमा विद्यमान हानिकारक परम्परागत मूल्य, मान्यता सोँच र चिन्तनमा परिवर्तन हुन सकेको छैन । जसका कारण नेपालको संविधानको समानताको सिद्धान्त र मौलिक हकको धारा १८ ले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् र कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित गरिने छैन भनी उल्लेख गरिसकेको भएपनि लैंगिक हिंसाका घटनाहरुमा कमि आउन सकेको छैन ।
विषयवस्तु 
ओरेक नेपालले जेष्ठ महिनामा आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (११६) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४९) तथ्याङ्कका आधारमा १६५ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन भएको छ ।
क) हिंसाको प्रकार  

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा जेष्ठ महिनामा ७८ वटा (४७ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी ५२ वटा (३२  प्रतिशत) यौन हिंसाका घटना, १४ वटा (८ प्रतिशत) सामाजिक हिंसाको घटना भएको पाइएको छ । यसरी नै ६ वटा (४ प्रतिशत) हत्या र ६ वटा (४ प्रतिशत) मानव बेचविखनका घटना, ३ वटा (२ प्रतिशत) पारिवारिक स्रोतका अनुसार लैंगिक विभेदका कारणले आत्महत्या गरेका घटना, २ वटा (१ प्रतिशत) बेचविखन प्रयासका घटना संकलन भएका छन् भने ४ वटा (२ प्रतिशत ) घटनाहरु मथिका बाहेक अन्य प्रकारका रहेका छन् । ४ वटा अन्य प्रकारका हिंसामध्ये २ जनालाई अलपत्र पारिएको र २ जनालाई अनलाइन मार्फत हिंसा भएको तथ्याँक संकलन भएको छ ।

हिंसाको प्रकार  

ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण
 
उमेरको आधारमा विश्लेषण गर्दा जेष्ठ महिनामा मात्रै सबैभन्दा धेरै ५० जना (३० प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना (२८ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु रहेका रहेका छन् ।  यसैगरी ३९ जना (२४ प्रतिशत) २६ देखि ३५ बर्ष उमेर समुहका, १९ जना (१२ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । त्यसैले हिंसाको बढी जोखिममा २५ बर्ष भन्दा कम उमेर समुहका बालिका, किशोरी र युवा महिलाहरु रहेको देखिन्छ ।

प्रभावितको उमेर
ग) आरोपितको उमेरको आधारमा बर्गीकरण
 
यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका छन् । यो उमेर समुहका ५५ जना (३३ प्रतिशत) रहेका छन् । यसैगरी ३५ जना (२१ प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहका  र २९ जना (१८ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका पुरुषहरु हिंसामा संलग्न भएको पाइएको छ । 

आरोपितको उमेरको आधारमा बर्गीकरण


घ) प्रभावित र आरोपितको सम्बन्ध
 
प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ६८ वटा (४१ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ४४ वटा (२७ प्रतिशत) हिंसाका घटना छिमेकीबाट र १२ प्रतिशत (१४ वटा) परिवारका सदस्यवाट भएको पाइएको छ ।

प्रभावित र आरोपितको सम्बन्ध


निष्कर्ष 
तथ्याङ्ककलाई विश्लेषण गर्दा महिलाहरु अन्जान व्यक्तिहरुबाट भन्दा श्रीमान, छिमेक र घरपरिवारका व्यक्तिहरुबाट नै बढी हिंसाको जोखिममा रहेको देखिन्छ । त्यस्तै २५ वर्षभन्दा कम उमेर समुहका बालिका, किशोरी र युवा महिलाहरु बढि हिंसाको जोखिममा रहेको र २६ देखि ३५ वर्ष उमेर समुहका युवाहरु हिंसाको प्रमुख जिम्मेबार भएको पाइएको छ । यस स्थतीले निरन्तरता पाउँदै जाने हो भने देशको समग्र विकासमा वाधा पुग्ने निश्चित नै छ । यसतर्फ सरकारको ध्यान जान जरुरी छ । 

 
लुभराज न्यौपान 
कार्यकारी निर्देशक