Monthly Violence against Women Report

गत छ महिनामा ३६७ वटा बलात्कारका घटना अभिलेखिकरण,  ७७ प्रतिशत प्रभावित १८ वर्षमुनिका बालिका र किशोरी

22 Oct 2020 Download

६ कार्तिक २०७७ । ओरेकले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाहरुलाई अभिलेखिकरण तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्दै आएको छ । 

यसैक्रममा बैसाख देखि असोज २०७७ सम्मको ६ महिनाको अवधीमा जम्मा १६७३ वटा महिला तथा बालिकामाथि भएको लैङ्गिक विभेदमा आधारित हिंसाका घटना ओरेकमा अभिलेखिकरण भएको छ जसमध्ये ९० प्रतिशत घटना प्रभावितको समुदाय र परिवारमै घटेको पाइएको छ । साथै असोज महिनामा मात्र ओरेकले कार्यालयमा अभिलेखिकरण गरेका (१३८) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (५०) तथ्याङ्कका आधारमा १८८ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको छ । 

क) महिला हिंसाको प्रकार
ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा पछिल्लो छ महिनामा ३६७ वटा (२२ प्रतिशत¬¬¬) बलात्कारको तथ्याँक संकलन भएको छ जसमा ४४ वटा सामुहिक बलात्कारको घटना समावेश छ । यसैगरी ८२५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । त्यसैगरि १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना संकलन भएका छन् । साथै १८ वटा (१ प्रतिशत) मानव वेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुव्र्यवहार,  ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटनाको तथ्याँक संकलन भएको छ । 

बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारको तथ्यांकलाई हेर्दा ३० प्रतिशत महिला तथा बालिकामाथि हुने हिंसाका घटना यौनजन्य हिंसा रहेको पाइन्छ जुन घरेलु हिंसा पछाडी सबैभन्दा बढी रहेको छ । 

बलात्कारबाट प्रभावितमध्ये २८३ जना (७७ प्रतिशत) १८ वर्ष मुनिका बालिका र किशोरी रहेका छन् जसमा २ वर्षदेखि १० वर्षसम्मका ३९ जना (१३ प्रतिशत) बालिका छन् भने ११ देखि १८ वर्षमुनिका २४४ (८६ प्रतिशत) बालिका र किशोरी रहेका छन् । प्रभावितको आरोपितसँगको सम्बन्ध हेर्दा १६१ जना (५७ प्रतिशत) आरोपित छिमेकी, ५३ जना (१९ प्रतिशत) परिवारका सदस्य, २३ जना (८ प्रतिशत) प्रेमी, ४ जना (१ प्रतिशत) शिक्षक, ८ जना (३ प्रतिशत) सेवा प्रदायक र २५ जना (९ प्रतिशत) मात्र अपरिचित रहेका छन् । 

ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण
                                  
उमेरको आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५२२ जना (३१ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ४३९ जना (२६ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् । यसैगरी ३०४ जना (१८ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, १९१ जना (११ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, ९१ जना (५ प्रतिशत) ४६ देखि ५५ उमेर समुहका प्रभावित रहेका छन् । त्यसैगरी ७८ जना (५ प्रतिशत) महिलाको उमेर खुलेको छैन भने ४८ जना (३ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समुहका प्रभावित रहेका छन् । 

ग) प्रभावितको पीडकसँगको सम्बन्ध
 
प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ६४३ वटा (३८ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ३७३ (२२ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ र ३६५ वटा (२२ प्रतिशत) हिंसाको घटना परिवारका सदस्यवाट भएको छ । त्यसै गरी ४८ वटा (३ प्रतिशत) सेवा प्रदायकबाट, १११ वटा (७ प्रतिशत) अपरिचित व्यक्तिबाट, ७९ वटा (५ प्रतिशत) हिंसा प्रेमिबाट, त्यस्तै ३७ वटा (२ प्रतिशत) साथीबाट र १५ वटा (१ प्रतिशत) शिक्षकबाट हिंसा भएको पाईएको छ ।

बालिका तथा किशोरीमाथि भएका बलात्कारका घटना साथै महिला माथि हुने सबै प्रकारका हिंसाहरु मध्ये करिब ९० प्रतिशत घटना आफ्नै समुदाय, घर र परिवारभित्र भएको यो तथ्यांकले देखाउँछ ।

घ) आरोपित र उमेर
 
यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ४७४ जना (२८ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी ३३० जना (२० प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहका, ३६९ जना (२२ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका यवाहरु रहेका छन् भने २३१ जना (१४ प्रतिशत) उमेर समुह थाहा नभएका पुरुषहरु, १६९ जना (१० प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु, ७५ जना (४ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु र ३७ जना (२ प्रतिशत) १६ वर्ष भन्दा मुनिका किशोर हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ ।

ङ) प्रभावितको जातियता

हिंसा प्रभावित महिला तथा बालिकाको जातियता हेर्दा ५५८ जना (३४ प्रतिशत) जनजाती, २९९ (१८ प्रतिशत) दलित, ४२४ (२५ प्रतिशत) ब्राम्ह्ण÷क्षेत्री, १४० (८ प्रतिशत) तराइ गैरदलित र ३४ (२ प्रतिशत) मुस्लिम छन् भने २१८ (१३ प्रतिशत) जना को जातिय विवरण खुलेको छैन ।

निष्कर्ष 
महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानुनी व्यवस्था तथा कानुनी समानता मात्र पर्याप्त हुँदैन, यसको प्रभावकारी कार्यान्वयन सँगै सामाजिक रुपान्तरण हुनु पनि उत्तिकै आवश्यक छ । जसका लागि ओरकले संयोजन गरेको “मौनता तोडौं” – बलात्कार र लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानले निम्न अवस्थामा परिवर्तनले मात्र बलात्कार तथा महिला र बालिकामाथि हुने सबै प्रकारको विभेदको अन्त्य हुन सक्ने विश्वास लिएको छ । 

१.    लिङ्ग,उमेर, जात, वर्गका कारण परिवार र समाजमा रहेको असमान शक्तिसम्बन्धमा परिवर्तन नहुँदासम्म शक्ति को आडमा गर्ने शोषण, दमन, हिंसा रहिरहने भएकोले सबैखाले विभेदको अन्त्य गरी शक्तिसम्बन्धमा रुपान्तरण गर्न जोड दिइयोस् । 

२.    अपराधको ढाकछोप, अपराधीको संरक्षण गर्ने परिपाटीले अपराधीको मनोवल उच्च रहने तथा  प्रभावितले सँधै पीडित हुनुपर्ने अवस्थाको को अन्त्य गर्दै कानुनको पूर्णरुपमा कार्यान्वयन गरी दण्डहीनताको अन्त्य गरियोस् ।  

३.    प्रभावितले मुद्दा दर्ता गर्न तथा न्याय प्राप्त गर्नका लागि समेत व्यहोर्नुपर्ने झण्झटिलो न्याय प्रणालीले गर्दा न्याय प्राप्त गर्नबाट वञ्चित हुनु परेको छ । तसर्थ  बलात्कार जस्तो जघन्य अपराध र लैंगिक हिंसाका घटनाहरुलाई  उच्च प्राथमिकतामा राख्दै द्रुत न्याय प्रणालीको प्रभावकारी कार्यान्वयन गरियोस् ।

४.     विद्यमान कानुनको व्याख्याले पीडकलाई कारवाहीको रुपमा मात्र सिमित गरेकोले प्रभावितले आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारको सुनिश्चितता सहितको न्यायको अनुभूती गर्ने वातावरण निर्माणका लागि न्यायलाई सामाजिक न्यायको अवधारणाको आधारमा व्याख्या गरियोस्  ।

५.     महिलाको शरीरलाई परिवार तथा समाजको इज्जतको सवालको  रुपमा मात्रै हेर्ने हानिकारक सोचले महिलामाथि हुने सबै प्रकारका हिंसामा सामाजिक मौनताको संस्कृतिलाई निरन्तरता दिएको छ । यसका लागि विभेदित सामाजिक संरचनागत रुपान्तरण गरी हिंसा विरुद्ध विरुद्ध  शुन्य सहनशीलता सुनिश्चित गरियोस् । 

६.     बलात्कार जस्तो जघन्य अपराधका घटनालाई इज्जत र प्रतिष्ठाको विषय वनाई मेलमिलाप गराउने पीडित÷प्रभावित लाई लाञ्छना लगाउने, डर, धाक, धम्की दिने, बसोवास गरिरहेको स्थान छोड्न बाध्य वनाउने, कतिपय घटनामा उजुरी लिन आनाकानी गर्ने, पीडित र परिवारलाई राजनीतिक दबाव दिने, पीडक लाई संरक्षण गर्ने जस्ता कार्यहरुलाई  अपराधीकरण गरी प्रभावितको लागि सुरक्षित, संवेदनशील, दीर्घकालिन र पहुँचयुक्त सहयोगी संयन्त्रको विकास गरियोस् । 

बलात्कार तथा लैङ्गिक हिंसाका बारेमा जनचेतना, ंिहसा नुहने वातावरण, प्रभावितको सामाजिक न्याय तथा कानुनी न्यायको अधिकार सुनिश्चितताकाको वातावरण निर्माणका लागि ओरेकको संयोजनमा विभिन्न संघसंस्थाको सहकार्यमा “मौनता तोडौं” – बलात्कार र लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका दिनमा १३ वटा जिल्लाबाट प्रदर्शन गर्दै सुरु भएको थियो । यो अभियान मानव अधिकार दिवस १० डिसेम्बरसम्म सञ्चालन भइरहेको छ । अभियानको अवधीमा धर्ना, राजनैतिक दल तथा सरकारी निकायलाई ध्यानाकर्षण, समुदायस्तरमा सचेतीकरण कार्यक्रम, परामर्श गोष्ठि तथा बहसहरु सञ्चालन हुनेछन् ।

धन्यवाद । 

लुभराज न्यौपाने
कार्यकारी निर्देशक
ओरेक, नेपाल