निषेधाज्ञाको बेला महिलाको प्रजनन् अधिकार सुनिश्चितता संग सम्बन्धित प्रेस विज्ञप्ति
28 May 2021
Download
प्रेस विज्ञप्ति
नेपालमा दोस्रो लहरको कोरोना संक्रमित बढेसंगै देशको विभिन्न भागहरुमा निषेधाज्ञा लागु गरिएको छ । त्यो संगै यातायातमा प्रतिबन्ध लगाइएको छ र अस्पतालहरु कोभिड संक्रमितले भरिएका छन् । पहिलो लहरको कोरोनामा झै स्वास्थ्य संस्था बन्द नगरिए पनि अन्य कोरोना संक्रमित विरामीको उपचार बाहेक अन्य सेवाहरु अहिले प्रभावित भएका छन् ।
हाल महिला तथा किशोरीहरु जो गर्भवति वा सुत्केरी भएका छन् उनीहरु यातायातको अभाव र संक्रमण सर्ने डरले स्वास्थ्य संस्थाहरुमा गईरहेका छैनन् । पहिलो लहरमा मातृमृत्यु दर ह्वात्तै बढेको थियो भने अहिलको लहरमा यति नै बढेको भनेर तथ्यांकमा आइसकेको छैन तर यसरी नै निषेधाज्ञा बढ्दै जादा स्थिति भयाभव नहोला भन्न सकिन्न ।
प्रजनन् स्वास्थ्य निरपेक्ष विषय नभई जीवनका धेरै विषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको विषय हो । तर नेपालमा महिला र किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित हुन सकेको छैन । यस्तो अवस्थामा झनै महामारीको रूपमा फैलिरहेको कोराना संक्रमण (कोभिड १९) का कारण महिला र किशोरीहरु यौन तथा प्रजनन् स्वास्थ्य सेवाबाट बञ्चित हुनु परिरहेको कुरा सञ्चारमाध्यमहरुले निरन्तर उजागर गरेका छन् ।
विश्व नै महामारीको अवस्थाबाट गुज्रिएको अवस्थामा सबैको ध्यान कसरी यस महामारीबाट बच्ने र बचाउने भनेर केन्द्रित हुनु स्वभाविक हो । हाल नेपाल सरकारको पहिलो प्राथमिकता पनि महामारी नियन्त्रण रहेको छ । तथापि महिलाको प्रजनन् सेवा अति नै संबेदनशिल र कुनै पनि हालतमा अवरुद्घ हुन नहुने सेवा हो । यो सेवा अवरुद्घ हुंदा झनै जटिल अवस्था सिर्जना हुन सक्छ ।
तसर्थ, ओरेक नेपाल यो निषेधाज्ञाको बेला महिलाको प्रजनन् अधिकार सुनिश्चितताको लागि निम्नबुँदामा सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छ :
- यौन तथा प्रजनन् स्वास्थ्य अधिकार अत्यावश्यक र महत्वपूर्ण मानव अधिकार हो, यो महामारीको कारणले कुनै पनि महिलाले महिला अधिकार र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबाट वञ्चित नगरियोस् ।
- यौन तथा प्रजनन् स्वास्थ्य सेवा पहिले जस्तै प्रबाह गर्नका लागि महामारी अन्त्य गर्न जरुरी छ । सबै नागरिकमा खोपको उपलब्धता सुनिश्चिता नगरेसम्म यस महामारीको अन्त्य हुँदैन, त्यसैले सबै नागरिकलाई खोपकोे व्यवस्था गरियोस् ।
- महामारीको समयमा आवश्यक र बृहत्तर यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरु जस्तै आपतकालिन गर्भवती जाँच, सुत्केरी सेवा, गर्भनिरोधक, एन्टिरेट्रोभाइरल औषधी, सुरक्षित गर्भपतन सेवा, गर्भपतन पछि दिइने सेवाहरुको समयमै पहुँच सुनिश्चित गरियोस् ।
- महिला तथा किशोर किशोरीहरुमा कोभिड १९ को नकरात्मक र दिगो प्रभावलाई सम्बोधन गर्न एक अन्तरलैंगिक र लैंगिक उत्तरदायी दृष्टिकोण आवश्यक छ । लैंगिकता र यौन तथा प्रजनन् स्वास्थ्यको सम्बन्धमा रहेको जानकारीबीचको अन्तर हटाउन आजैदेखि बलियो प्रमाणहरु जुटाउन सुरुवात गरियोस् ।
- सीमान्तकृत समुदायलाई आफ्नो स्वास्थ्यको बारेमा सूसुचित निर्णय लिनको लागि सशक्तिकरण गर्नु पर्दछ । यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, लैंगिक विभेदमा आधारित हिंसा सम्बन्धी सेवाहरु, मानसिक स्वास्थ्य सेवाहरु सहित सिमान्तकृत समुदायको बृहत्तर स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको प्रबद्र्धन तथा यसको पहुँचमा सुनिश्चितता गरियोस् ।
- महामारीको बेलामा पनि युवाहरुलाई बृहत्तर योनिकता शिक्षाको साथै युवामैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरियोस् ।
- महामारीको बेला लैंगिक हिंसा रोकथाम, प्रतिकार्य, सुरक्षा र उत्तरदायी संयन्त्रहरु प्रभावित केन्द्रित बनाईयोस् ।
- यो महामारीमा सरकारले महिला, किशोरी, ीन्द्यत्क्ष्त्तं व्यक्तिहरु, घरबारविहिन र विस्थापित, शरणार्थी, आप्रवासी, शरण खोज्नेहरु, आदिवासी व्यत्तिहरु, अपांगता भएका व्यक्तिहरु र अन्य समूहहरु जो सिमान्तिकृत र बहिस्कृत छन् यी सबै समूहहरुको फरक आवश्यक्ताको सम्बोधन गरि यौन तथा प्रजनन् सेवा प्रवाह गरियोस् ।
- मानसिक रुपमा स्वस्थ नभई अन्य रुपमा स्वस्थ हुन असम्भव छ । त्यसैले यो महामारीको बेला मानसिक स्वास्थ्य सेवालाई विशेष जोड दिईयोस् र स्थानिय तहमा मनोविमर्श सेवा प्रदान गर्ने व्यवस्था गरियोस् ।
धन्यवाद ।
लुभ राज न्यौपाने
कार्यकारी निर्देशक
ओरेक