प्रेस विज्ञप्ति
निषेधाज्ञाको अवधिमा भएका यौनिक हिंसाका घटना र न्याय प्राप्तीमा देखिएको चुनौती प्रति
गम्भीर ध्यानाकर्षण
कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जारी भएको निषेधाज्ञाको एकमहिनाको अवधिमा ओरेकमा अभिलेखिकरण भएका जम्मा २०० लैंगिक हिंसाका घटना मध्ये २४ प्रतिशत (४७ जना) महिला तथा बालिकामाथि भएको यौनिक हिंसाका घटनाप्रति यस संस्थाको ध्यानाकर्षणभएको छ । नेपाल सरकारले कोरोना महामारीको दास्रो लहरलाई ध्यान दिँदै निषेधाज्ञा लगाएको छ । यद्यपि राज्यका निकायको ध्यान कोरोना महामारी तर्फ लक्षित भइरहेकै अवस्थामा महिला तथा बालिकाहरूरूमाथि विभत्स हत्या, यौनशोषण, बलात्कार र विभिन्न जातीय समूहका किशोरीहरूमाथि यौनदुव्र्यवहारका घटनाहरू भईरहेका छन् । ओरेकमा अभिलेखिकरण भएका २४ प्रतिशत यौनिक हिंसाका घटनामध्ये ४५ वटा बलात्कार २ वटा बलात्कार प्रयास भएको पाइएको छ । साथै, राष्ट्रिय महिला आयोगको मे महिनाको तथ्याङ्कलाई हेर्ने हो भने पनि ६ प्रतिशत यौनजन्य हिंसा का घटनाहरू अभिलेख भएको देखिन्छ । साथै यही हप्ता मात्र पनि ३ वटा थप यौनजन्य हिंसाका घटनाहरू विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक भएका छन् ।
यही निषेधाज्ञाकै अवधिमा सुर्खेत गुर्भाकोट गाउँपालिका ९ का युवाहरूले स्थानीय राउटे समुदायका किशोरीहरूमाथि उनीहरूको मञ्जुरीविना प्रलोभनमा पारी मदिरा सेवन गराई तस्वीर तथा भिडियो खिच्ने, गलत नियतले होटलमा ल्याई मादक पदार्थ सेवन गराई यौन दुव्यवहार भएको घटनाप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता कार्यहरू मानवता विरोधी घृणित कार्यहरू हुन् भन्ने हाम्रो ठहर छ । यस घटनामा सङ्लग्न दोषीहरुमाथि तत्काल कडाभन्दा कडा कारवाहीको माग गर्दछौँ । यस प्रवृत्तिले घुमन्ते जीवन बिताउने राउटे युवतीहरूको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको हनन भएको छ साथै उक्त घटनाका कारण निज किशोरीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको कुरा मानव अधिकार आयोगको जुम्ला प्रदेश कार्यालयको अनुगमन प्रतिवेदनबाट समेत आएकाले प्रभावित किशोरीहरूको गोपनीयताको संरक्षण गर्दै उनीहरूको सुरक्षाका लागि तत्काल आवश्यक कदम चाल्न सरकार समक्ष हार्दिक आग्रह गर्दछौँ । राउटे किशोरीहरूमाथि हुने गरेका अमानवीय गतिविधिहरू तत्काल बन्द गरियोस भनी स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूमा विशेष आग्रह गर्दछौँ । साथै युट्युवलगायत सामाजिक सञ्जालमा सुसूचित सहमतिविना राखिएका उनीहरुका भिडियोहरूलाई तत्काल सामाजिक संजालबाट हटाइयोस् भन्ने पनि सरोकारवाला समक्ष जोडदार माग गर्दछौँ ।
साथै, निषेधाज्ञाकै अवस्थामा लमजुङ्ग जिल्ला राइनास नगरपालिका वडा नं ९, मोहोरियास्थित विद्यालयमा अध्यापन गर्ने शिक्षकले १४ वर्षे किशोरीमाथि पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घटनाका दोषीले घटनालाई कमजोर बनाउन किशोरीलाई नै विभिन्न लाञ्छना लगाई उनलाई नै दोषी देखाई प्रहरीमा समेत उजुरी दर्ता गर्न अवरोध आएको छ । साथै, प्रभावित किशोरी तथा उनका परिवार आरोपितकोे पकडमा रहेको र उनीहरूको सुरक्षाको चुनौती बढिरहेको सूचना प्राप्त हुन आएको छ । यस घटनामा दोषी जोसुकै भएपनि उसलाई कानुनी दायरामा ल्याई प्रभावित किशोरीको न्याय तथा तत्काल किशोरी तथा उनका परिवारका सदस्यहरूलाई मनोविमर्श, सुरक्षा लगायतका आवश्यक सेवा प्रदान गर्ने वातावरण निर्माणका लागि स्थानीय सरकार तथा जिल्लास्थित प्रहरी प्रशासन समक्ष विशेष आग्रह गर्दछौँ ।
यही कोरोना महामारीकै बीचमा बाँकेकी २२ बर्षीया महिलाको दाइजोमा मोटरसाइकल नपाएको निहुँमा परिवारकै सदस्यहरूबाट हत्या भएको समाचारहरु प्रकाशन भएका छन् । यसलाई प्रभावितका परिवारले आत्महत्याको संज्ञा दिएका छन् । यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौँ ।
माथि उल्लेखित घटनाहरू सञ्चार माध्यममा प्राथमिकता पाएका केही प्रतिनिधिमूलक घटनाहरुमात्र हुन् । हाम्रो समाजमा समाचार बन्न नसकेका र हाल कोरोना महामारीका कारण भएको निषेधाज्ञाले गर्दा बाहिर आउन नसकेका विभत्स तस्वीर कति छन् यसको यकिन गर्न गा¥हो छ । यस्ता जघन्य अपराधका घटनाहरुलाई पनि सरकारले गम्भीर रुपमा नलिँदा र घटनाको वास्तविक पीडकको पहिचान गरी दोषीलाई कारबाहिको दायरामा ल्याउन नसक्दा प्रभावितको न्याय प्राप्तीमा विश्वास मर्दै गएको छ । समाजमा रहेका महिला तथा किशोरीहरूलाई हेर्ने विभेदकारी दृष्टिकोण रहेसम्म हाम्रा समाजका महिला र किशोरीहरूमाथि हुने यौनजन्य दुव्र्यवहार र बलात्कारका घटनाहरूमा कमी आउने छैनन् ।
तसर्थ यस्ता गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितहरुको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायहरु समक्ष हार्दिक अपिल गर्दछौ । यस्ता मानव अधिकार हनन्का जघन्य अपराधमा समेत प्रभावितले न्याय प्राप्त गर्ने सहज वातावरण सिर्जना नभएमा हामी महिला÷मानव अधिकारकर्मीहरु सडकमा नै आएर प्रभावितको न्यायका लागि आवाज बुलन्द गर्न बाध्य हुनेछौ ।
लैंगिक हिंसा विरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गर्न सबै संस्था माझ अपिल गर्दछ ।
धन्यवाद
लुभराज न्यौपाने
कार्यकारी निर्देशक