Press Release

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन असोज,२०७८

09 Nov 2021 Download

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन असोज,२०७८


महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला हिंसारहित जीवन यापनका लागि पैरवी गर्ने तथ्यगत माध्यम घटना अभिलेखन र प्रकाशनलाई प्राथमिकताका साथ केन्द्र, जिल्ला तथा परियोजना कार्यालयहरुमा तथ्याङ्क व्यवस्थापन गरि काम गर्दै आइरहेको छ । संकलित घटनाहरुको समीक्षा सहित मासिक रुपमा महिला तथा बालिका माथि भएका हिंसाका घटनाहरुलाई विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत लैंगिक हिंसाको अवस्था सार्वजनिक गर्दै आएको छ । यसलाई निरन्तरता दिदै असोज महिनामा मात्र ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (११०) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (३३) घटनाका आधारमा १४३ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखिकरण गरेको छ । यो तथ्याङ्कबाट महिलाहरु घर भित्र सबभन्दा बढी सुरक्षा तथा माया पाउनु पर्ने हो तर त्यस स्थानमा नै सबै भन्दा धेरै असुरक्षित भएको तथ्याङ्कले देखाएको छ ।


क) हिसाको प्रकार:

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा असोज महिनामा ८४ वटा (५९ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी २१ वटा (१५ प्रतिशत) बलात्कारको तथ्याँक संकलन भएको छ । त्यसैगरी ११ वटा (८ प्रतिशत) हत्याको घटना, ९ वटा (६ प्रतिशत) सामाजिक हिंसाको घटना, ८ वटा (६ प्रतिशत) यौन दुव्र्यवहारको घटना त्यसैगरी ४ वटा (३ प्रतिशत) आत्महत्याको घटना संकलन भएको छ भने त्यस्तै, २ वटा (१.४ प्रतिशत) मानव वेचविखनको घटना, २ वटा (१ प्रतिशत) मध्ये १ वटा हराएको अवस्थामा फेला परेको घटना र १ वटा एसिड आक्रमणको घटना संकलन भएका छन् त्यस्तै १ वटा (०.७ प्रतिशत) हत्या प्रयास र १ वटा (०.७ प्रतिशत) मानव वेचविखनको प्रयास जस्तो जधन्य अपराधके तथ्याँक संकलन भएको छ ।


ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण:

उमेरको आधारमा विश्लेषण गर्दा असोज महिनामा मात्रै सबैभन्दा धेरै ५८ जना (४१ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु बढी हिंसमा रहेको पाइएको छ । त्यसैगरी हिंसामा पर्ने सबै भन्दा बढी ३६ जना (२५ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समुहका युवा महिलाहरु रहेका छन् । त्यस्तै २० जना (१४ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, १८ जना (१३ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु त्यस्तै ८ जना (६ प्रतिशत) ४६ देखि ५५ उमेर समुहका महिलाहरु रहेका छन भने ३ जना (२ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समुहका महिलाहरु हिंसाको जोखिममा रहेको पाइएको छ ।

ग) प्रभावितको आरोपितसँगको सम्बन्ध:

प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा असोज महिनामा सबैभन्दा बढी ७६ वटा (५३ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने २७ वटा (१९ प्रतिशत) हिंसाको घटना परिवारका सदस्यवाट भएको छ, २३ वटा (१६ प्रतिशत) छिमेकीबाट भएको छ, त्यस्तै ७ वटा (५ प्रतिशत) हिंसा प्रेमिबाट, त्यसैगरी ४ वटा (३ प्रतिशत) हिंसा साथिबाट, २ वटा (१ प्रतिशत, सेवा प्रदायकबाट, २ वटा (१ प्रतिशत) शिक्षकबाट, १ वटा (०.७ प्रतिशत) अविवाहित तर सँगै बसेका व्यक्तिबाट र १ वटा (१ प्रतिशत) हिंसाको घटना अपरिचित व्यक्तिबाट भएको पाईएको छ ।

घ) आरोपित र उमेर:

यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ४३ जना (३० प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी २९ जना (२० प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहका युवाहरु रहेका छन, २८ जना (२० प्रतिशत) उमेर समुह थाहा नभएका युवा तथा पुरुषहरु, त्यस्तै २४ जना (१७ प्रतिशत) ३६ देखि ४५ बर्ष उमेर समुहका पुरुषहरु छन, त्यस्तै ८ जना (६ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु छन्, भने ६ जना (४ प्रतिशत) १६ वर्ष मुनिका किशोरहरु र ५ जना (३ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ ।


निश्कर्षः

तथ्याङ्कलाई आधार मान्दा अधिल्लो महिना झैं महिलाहरु आफ्नो घरमा नै बढी जोखिमा रहेको पाइएको छ । यसैगरी ३५ वर्षभन्दा कम उमेर समुहका बालिका, किशोरी तथा महिलाहरु हिंसाबाट सबैभन्दाबढी प्रभावित रहेको र १७ देखि ३५ वर्ष समुहका युवाहरु हिंसाको प्रमुख जिम्मेवार भएको पाइएको छ । महिला माथि हने हिंसा रोकथाम गर्न सम्पुर्ण महिला तथा मानव अधिकारका लागि क्रियाशील व्यक्ति, नागरिक समाज, राजनीतिक एवं समाजिक संघसंगठन र समुदायगत आवाजहरुको सहकार्य र साझेदारीताको खाँचो छ ।


लुभराज न्यौपाने
कार्यकारी निर्देशक