मिति : २०७८ मंसिर १०
प्रेस विज्ञप्ती
महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” लोकार्पण २५ नोभेम्बर २०२१ महिला हिंसा विरुद्धको दिवसको अवसरमा सम्पन्न गरेको छ । उक्त “अन्वेषी” २०७८ को लोकार्पण राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप वहादुर मगर, ओरेकका संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार डा. रेणु अधिकारी, ओरेकका उपाध्यक्षले संयुक्त रुपमा गर्नुभएको थियो । । कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष गोमावती पुनले गर्नुभएको थियो भने ओरेकका कार्यकारी निर्देशक श्री लुभराज न्यौपाने ज्यूले उपस्थित सहभागीहरुलाई स्वागत गर्दै सो कार्यक्रमको उद्देश्यहरुमाथि प्रकाश पारीे कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो । (आज लोकार्पण भएको अन्वेषी २०७८ निम्न लिंकबाट अध्ययन तथा डाउनलोड गर्न सक्नुहुनेछ: https://www.worecnepal.org/publications/112/2021-11-25)
ओरेकले सन् २००८ देखि नै देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष “अन्वेषी” प्रकाशन गर्दै आएको छ । महिला माथि हुने हिंसाको अवस्था र महिलाको न्यायमा पहुँचको अवस्थालाई विश्लेषण गरी तयार गरिएको वर्ष पुस्तकले समग्र रुपमा महिलाको मानव अधिकार हनन्को अवस्था र यसको सम्बोधनका लागि समुदाय स्तरदेखि नीतिगत स्तरसम्म आवश्यक कार्यहरु गर्नका लागि सरोकारवालाहरुलाई मार्ग निर्देश गर्ने विश्वास संस्थाले लिएको छ ।
अन्वेषी २०७८ मा “श्रावण २०७७ देखि असार २०७८” सम्म ओरेकमा अभिलेखीकरण (सङ्कलन) गरिएका महिलामाथि भएका कूल १७७२ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण गरिएको छ । जसमध्ये सबैभन्दा बढी ६३ प्रतिशत १११६ महिलाहरू माथि घरेलु हिंसा भएको छ । त्यस्तै गरी १५ प्रतिशत (२६५) महिलाहरू सामाजिक हिंसाबाट, ११ प्रतिशत (१८७) महिलाहरू बलात्कारबाट, २ प्रतिशत (३६) महिलाहरू बलात्कारको प्रयासबाट, ४ प्रतिशत (६८) महिलाहरू यौनिक हिंसाबाट प्रभावित भएका छन् । यसैगरी ०.८ प्रतिशत (१५) महिलाहरूको हत्या, ०.५ प्रतिशत (९) महिलाहरूको हत्याको प्रयास, १ प्रतिशत (२०) महिलाको बेचबिखन गरिएको पाइएको छ भने, महिला हिंसाकै कारण १२ जनाले आत्महत्या गरेको र ४ जना महिलाले आत्महत्याको प्रयास गरेका घटनाहरु अभिलेखीकरण भएका छन् । महिलामाथि सबैभन्दा बढी आफ्नै श्रीमान्बाट ५१ प्रतिशत (८९७) र घरपरिवारका सदस्यबाट १९ प्रतिशत (३३७) हिंसा भएको पाइएको छ ।
कोभिड १९ को महामारीको समयमा महिला तथा बालिकामाथि भएको हिंसाको जोखिमको अवस्थालाई समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । यस अवधि (बैशाख १६ २०७८ देखि असार ३१, २०७८) मा मात्रै कूल ६८० जना महिला तथा बालिका माथि विभिन्न स्वरुपमा हिंसा भएको पाइएको छ त्यसैले महामारी तथा विपत्तीको अवस्थालाई मध्यनजर गर्दै जुनसुकै विषम परिस्थितिमा पनि हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहज रुपमा उजुरी गर्ने र न्याय पाउने वातावरण तयार गर्न सबै स्थानीय तह तथा निकायले उजुरी गर्ने र आवश्यक सेवा प्रदान गर्ने कार्यलाई संवेदनशिलताका साथ प्रभावकारी रूपमा सञ्चालनमा सरकारले जोड दिनुपर्दछ ।
कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप वहादुर मगरज्यू ले सबैभन्दा बढी हिंसा घरभित्रै भएको तथ्याँकले उजागर गरेको छ त्यसैले घरभित्रबाट नै हिंसा निवारणका लागि अभियान सञ्चालन गर्नुपर्ने र हिंसाको अन्त्यविना समानतामूलक समाजको निर्माण हुन नसक्ने भएकोले नेपाल सरकाले हिंसा विरुद्ध लिएको शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्ने तर्फ जोड दिनपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रतिनिधि श्री राजेन्द्र न्यौपानेज्यू ले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि मन्त्रालयले प्रदेश, संघ र स्थानीय तहमा समन्वयात्मक कार्यक्रमहरु अगाडी बढाइरहेको र हिंसा न्यूनीकरणका लागि आवश्यक नीति निर्माणका लागि पहल गर्नुका साथै कार्यान्वयनमा समेत जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । राष्ट्रिय योजना आयोगका प्रतिनिधि श्री लक्ष्मी घिमिरेज्यू लैंगिक हिंसा न्यूनीकरणका लागि आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने र तहगत समन्वय गर्नुपर्नेमा जोड दिनुभएको थियो । आयोगले गर्ने नीतिनिर्माणका कार्यक्रमहरुमा ओरेकले दिएका सुझावहरुको मनन गर्दै सो सुझावहरुर्ला योजनामा सम्मिलित गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
ओरेकका संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार डा. रेणु अधिकारीज्यू ले कार्यक्रममा बोल्दै हिंसाको परिणाम भन्दा पनि जरो कारण पत्ता लगाएर काम गर्नुपर्ने, प्रभावित मैत्री सोंचको विकास गर्नुपर्ने र महिला हिंसा न्यूनीकरणका लागि संरचनात्मक रुपान्तरण आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
संस्थाका कार्यकारी सदस्य तथा यस पुस्तकका सम्पादक दुर्गा कार्कीज्यू ले कार्यक्रममा समग्र महिलामािथ भएको हिंसा र हिंसा प्रभावितहरुको न्यायमा पहुँचको अवस्थालाई जोड दिँदै महिला हिंसा न्यूनीकरणका लागि पितृसत्तात्मक संरचनाबाट सिर्जित विभेदकारी सोंचलाई भत्काउन क्रान्ति नै आवश्यक रहेकोमा जोड दिँदै आफ्ना भनाइहरु राख्नु भएको थियो भने सहभागीहरुलाई धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन संस्थाका उपाध्यक्ष श्री गोमावती पुनले गर्नुभएको थियो ।
कार्यक्रममा सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरु, पत्रकार तथा मानव अधिकारको सवालमा क्रियाशिल महिला मानव अधिकार रक्षकहरु/अधिकारकर्मी लगायत गरी ९० जना भन्दा बढीको सहभागिता रहेको थियो ।