Newsroom

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”


महिलामाथि हुने हिंसा र महिला हत्याका घटनाहरू बढ्दो क्रममा रिपोटिङ्ग भईरहेको छ । ओरेकले मासिक र त्रैमासिक रुपमा महिला हिंसा सम्बन्धी तथ्यांकहरुको विश्लेषण गरी प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिँदै आएको छ । ओरेकले सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिनाको अवधिमा संकलन गरेको तथ्याङ्कअनुसार कूल ३४५ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । तीमध्ये ४८ वटा घटना राष्ट्रिय पत्रपत्रिकाबाट र बाँकी २९७ वटा घटना ओरेकको कार्यक्षेत्रहरुबाट प्राथमिक स्रोतमार्फत संकलन गरिएका हुन् । यस त्रैमासिक प्रेस विज्ञप्तीमा, यी कूल घटनामध्ये २२ वटा महिला हत्याका र ४ वटा महिला हत्या प्रयासका घटनाको बहुपक्षीय विश्लेषण गरेको छ ।

महिलाहत्या (Femicide) भन्नाले महिलालाई महिला भएकै कारणले हत्या गरिनु भन्ने बुझिन्छ । यो केवल व्यक्तिगत अपराधको विषय नभई महिलाको जीवन, शरीर र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पितृसत्तात्मक मानसिकता, स्वामित्वबोध र महिलाप्रति घृणाबाट उत्पन्न हुने संरचनागत हिंसाको चरम रूप हो । फौजदारी कानूनले हत्या भन्ने अपराधलाई गैरकानुनी रूपमा अरूको ज्यान लिने वा गम्भीर क्षति पु¥याउने उद्देश्यसहित गरिएको कार्यको रूपमा परिभाषित गरे पनि महिलाहत्या त्यसभन्दा फरक र गहिरो अर्थ बोकेको अपराध हो, जहाँ हत्या लैङ्गिक आधारमा प्रेरित हुन्छ । ओरेकले संकलन गरेको तथ्याङ्कमा देखिएका २२ वटा महिला हत्या र ४ वटा हत्या प्रयासका घटना सम्पूर्ण यथार्थको प्रतिनिधित्व मात्र हुन् । नेपाल प्रहरी, अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा अन्य स्रोतबाट उपलब्ध तथ्याङ्कलाई हेर्दा महिलामाथि हुने घातक हिंसाको अवस्था अझै गम्भीर रहेको देखिन्छ ।


त्रैमासिक तथ्याङ्कको तुलनात्मक विश्लेषणले महिला हत्याका घटनामा उल्लेखनीय वृद्धि देखाउँछ । अघिल्लो त्रैमासिक (जुलाई–सेप्टेम्बर, २०२५) अवधिमा ५ वटा महिला हत्या र २ वटा महिला हत्या प्रयासका घटना दर्ता भएका थिए । तर, हालको त्रैमासिक अवधिमा महिला हत्याका घटनाहरू बढेर २२ पुगेका छन् भने महिला हत्या प्रयासका घटना ४ वटा रहेका छन् । यो वृद्धि संख्यात्मक मात्र नभई महिलामाथि हुने घातक हिंसाको गम्भीरता र जोखिम बढ्दो क्रममा रहेको संकेत हो ।

प्रदेशगत विश्लेषणअनुसार महिला हत्याका घटनाहरू विभिन्न प्रदेशहरूमा असमान रूपमा वितरण भएको देखिन्छ । कुल २६ वटा महिला हत्या तथा हत्या प्रयासका घटनामध्ये सबैभन्दा बढी घटना मधेश प्रदेशमा देखिएका छन्, जसले कुल घटनाको ३४.६२ प्रतिशत (९ वटा) हिस्सा ओगटेको छ । त्यसपछि कोशी प्रदेशमा १९.२३ प्रतिशत (५ वटा) घटना दर्ता भएका छन् । बागमती र लुम्बिनी प्रदेशमा समान रूपमा १५.३८ प्रतिशत (४–४ वटा) घटना रहेका छन् । गण्डकी प्रदेशबाट ७.६९ प्रतिशत (२ वटा) घटना दर्ता भएका छन् भने ७.६९ प्रतिशत (२ वटा) घटनामा प्रदेशगत विवरण नखुलेको देखिन्छ । यस प्रदेशगत वितरणले महिला हत्याका घटनामा गहिरो भौगोलिक असमानता रहेको स्पष्ट पार्दै उच्च जोखिममा रहेका प्रदेशहरूमा तत्काल, लक्षित र उत्तरदायी रोकथाम, निगरानी तथा प्रभावकारी हस्तक्षेप कार्यक्रम सुदृढ गर्नु अपरिहार्य भएको संकेत गर्दछ ।


उमेर समूहका आधारमा गरिएको विश्लेषणले जुनसुकै उमेरसमूहका महिलाहरु हत्याको जोखिममा रहेको देखाउँछ । संकलित तथ्याङ्कअनुसार विशेषगरी १८ वर्षमुनिका बालिका १९.२३ प्रतिशत (५ जना) रहेका छन्, जसले बालिकामाथि हुने घातक हिंसाको गम्भीर जोखिम उजागर गर्दछ । त्यसैगरी १८–२५ वर्ष उमेर समूह ७.६९ प्रतिशत (२ जना), २६–३५ वर्ष उमेर समूह ११.५४ प्रतिशत (३ जना) र ३६–४५ वर्ष उमेर समूह ७.६९ प्रतिशत (२ जना) रहेका छन् । उल्लेखनीय रूपमा ४६–५५ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित देखिएको छ, जसले कुल घटनाको २३.०८ प्रतिशत (६ जना) हिस्सा ओगटेको छ । यस उमेरगत विवरणले महिला हत्या कुनै एक निश्चित उमेर समूहमा सीमित नभई बालिकादेखि वृद्ध महिलासम्म फैलिएको गम्भीर संरचनागत हिंसा भएको पुष्टि गर्दछ । विशेषगरी बालिका र मध्यम उमेर समूहका महिलाहरु हत्याको उच्च जोखिममा रहेको यसले देखाउँछ |


वैवाहिक अवस्थाका आधारमा गरिएको विश्लेषणले महिला हत्याका घटनामा घनिष्ठ सम्बन्धभित्रको हिंसा अत्यन्त गम्भीर रहेको देखाउँछ । संकलित तथ्याङ्कअनुसार ७.६९ प्रतिशत (२ जना) महिला मात्र अविवाहित रहेका छन्, जबकि कुल घटनामध्ये ६५.३८ प्रतिशत (१७ जना) महिला विवाहित रहेका छन् । उल्लेखनीय रूपमा, यी घटनाहरूमा हत्या गर्ने व्यक्ति अधिकांश अवस्थामा महिलाको आफ्नै श्रीमान् रहेको तथ्य देखिएको छ । त्यसैगरी २६.९२ प्रतिशत (७ जना) घटनामा प्रभावितको वैवाहिक अवस्था नखुलेको पाइएको छ । विवाहित महिलाहरूको उच्च प्रतिशत र अपराधीका रूपमा जीवनसाथीकै संलग्नताले घरभित्र हुने हिंसा र शक्ति दुरुपयोग महिलाको जीवनका लागि गम्भीर जोखिम बन्ने गरेको स्पष्ट संकेत गर्दछ ।


उपलब्ध तथ्यांकको विश्लेषण गर्दा महिला हत्याका घटनामा विभिन्न जातीय समूहका महिलाहरू प्रभावित भएको देखिन्छ । सबैभन्दा बढी ३०.७७ प्रतिशत (८ जना) ब्राम्ह्ण÷क्षेत्री पहाडी समुदायका महिलाहरूको हत्या भएको देखिन्छ । त्यसपछि पहाडी जनजाति समुदायका १५.३८ प्रतिशत (४ जना) र तराई दलित समुदायका पनि १५.३८ प्रतिशत (४ जना) महिलाहरु रहेका छन् । त्यसैगरी, ब्राम्ह्ण÷क्षेत्री तराई समुदायका ११.५४ प्रतिशत (३ जना) तथा मधेशी समुदायका ११.५४ प्रतिशत (३ जना) महिला रहेका छन् । तराई जनजाति समुदायका ३.८५ प्रतिशत (१ जना) महिला रहेको देखिन्छ भने ११.५४ प्रतिशत (३ जना) घटनामा जातीय पहिचान खुल्न सकेको छैन ।


यस तथ्यांकले महिला हिंसा तथा हत्या कुनै एक जाति वा समुदायमा सीमित नभई विभिन्न सामाजिक तथा जातीय समूहमा व्याप्त रहेको स्पष्ट गर्दछ । तथापि, केही समुदायहरूमा प्रतिशत उच्च देखिनुले संरचनात्मक असमानता, लैंगिक विभेद, तथा सामाजिक–सांस्कृतिक कारकहरूको गहिरो प्रभावलाई संकेत गर्दछ । त्यसैले महिला सुरक्षासम्बन्धी नीति तथा कार्यक्रमहरू तयार गर्दा जातीय तथा सामाजिक विविधतालाई संवेदनशील रूपमा समेट्ने आवश्यकता देखिन्छ ।


महिला हत्याका घटना र आरोपितसंगको सम्बन्धलाई हेर्दा सबैभन्दा धेरै जीवनसाथी र परिवारका सदस्य बढी संलग्न रहेका छन्, जसले घरभित्रको हिंसालाई केवल व्यक्तिगत घटनाको रूपमा नभई संरचनागत जोखिमको रूपमा उजागर गर्दछ । तथ्याङ्कअनुसार २४.१४ प्रतिशत (७ जना) आरोपी महिलाका श्रीमान् रहेका छन्, ३७.९३ प्रतिशत (११ जना) परिवारका सदस्य, ६.९० प्रतिशत (२ जना) छिमेकी, र ३१.०३ प्रतिशत (९ जना) घटनामा आरोपीको पहिचान हुन सकेको छैन । महिलामाथि हुने हिंसा केवल बाह्य कारण वा व्यक्तिगत विवादमा सीमित नभई घनिष्ठ सम्बन्धमा आधारित नियन्त्रण, शक्ति असमानता र संरचनागत हिंसाको प्रत्यक्ष परिणाम हो, जसले घरलाई महिलाका लागि सबैभन्दा जोखिमपूर्ण स्थानको रूपमा रहेको यस तथ्यांकले देखाउँछ ।


२५ वर्षीय स्मृति (परिवर्तित नाम) पेशाले शिक्षक थिइन् । उनी आफ्नो श्रीमानसँग इटहरीस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् । उनका श्रीमान रुपेश (परिवर्तित नाम) पनि प्रधानाध्यापकको पदमा कार्यरत थिए । दुवैबीच सामान्य वैवाहिक जीवन चलेको थियो, तर एकदिन सामान्य विवादको क्रममा करिब राति ८ बजे, स्मृतिका श्रीमान् रुपेशले काठको बटम प्रयोग गरी स्मृतिको टाउकोमा प्रहार गरेका थिए । प्रहारपछि उनलाई कान र नाकमा समेत गम्भीर चोट पुगेको थियो । घाइते अवस्थामा स्मृतिलाई तुरुन्तै उपचारका लागि नजिकको अस्पतालमा लगियो । तर उपचारका क्रममा करिब राति ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे । प्रहरीले हत्या आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धानको प्रक्रिया अगाडी बढाएको छ ।


४९ वर्षीय रुपा (परिवर्तित नाम) को दैनिकी घरयासी काममा नै वित्थ्यो । उनका श्रीमान् राजु (परिवर्तित नाम) पनि कृषि र खेतीपाती गर्थे । राजु रक्सी खाएर घर आउथे र रुपलाई गालीगलौच र कुटपिट गर्थे । घरपरिवार र छिमेकीले यसलाई सामान्य रुपमा लिन्थे । श्रीमान्ले श्रीमतीलाई गालीगलौज तथा कुटपिट गर्नु कुनै नौलो विषय होइन र यो आपसी कुरा भएकाले घरभित्रै राख्नुपर्छ भनेर रुपालाई सम्झाइन्थ्यो । एक साझ राजु रक्सी पिएर घर आउँछन्, रक्सी खाएको बाहनामा उनले श्रीमतीलाई गालीगलौच गर्छन्, नानाथरी भन्छन्, रुपाले केही भन्न नपाउँदै राजुले आवेगमा आएर श्रीमती रुपालाई खुकुरी प्रहार गरी हत्या गर्छन् ।


१३ वर्षीय बालिका अनिता (परिवर्तित नाम) मोरङ जिल्लामा बुवा आमा संगै बस्थिन् । एक दिन उनी आफ्नो साथी सँग खेल्न जाने भन्दै घरबाट निस्किइन्, तर बेलुकीसम्म घर फर्किइनन् । उनको आमा–बुवाले खोजी गर्दा पनि केही खबर नआएपछि प्रहरीमा उजुरी दिइन् तर उनको पत्तो लागेन । केही दिनपछि नजिकैको जंगलमा प्रहरीले एउटा शव फेला पारेको थियो । शवको टाउको र शरीर अलग अलग थिए र शव सडिसकेको अवस्थामा थियो । नजिकै फेला परेको घडी र लुगाको रंगले अनिताका आमा–बुवाले उनलाई चिने, तर शव लिन इन्कार गर्दै अनुसन्धानको माग गरे । प्रहरीले लामो अनुसन्धानपछि पत्ता लगायो कि अनिताको छिमेकी, ५९ वर्षीय प्रदीप (परिवर्तित नाम) ले अनितालाई जङ्गलमा घाँस काट्न सहयोग मागेर लगेका थिए । प्रदिपसंग जानको लािग शुरुवातमा अनिताले सहयोग स्वीकार गरे पनि त्यहाँ पुगेपछि प्रदीपले अनितालाई जबरजस्ती गर्ने प्रयास गरे । अनिताले प्रतिकार गर्न खोजिन् तर सकिनन् । जबरजस्तीकरणपछि प्रदीपले पोल खुल्ने डरले उनको घाँटी थिचेर हत्या गरे र मृत्युपछि पनि उनले साथमा रहेको हँसियाले घाँटी रेटेर विभत्स रुपमा हत्या गरे । घटनाको केही दिनसम्म प्रदीप परिवार र प्रहरीले अनिताको खोजीमा सहयोग गर्ने नाटक गर्दै भारततर्फ भागे । प्रहरीले विभिन्न अनुसन्धानपछि प्रदीपप्रति शंका ग¥यो र परिवारको माध्यमबाट नेपाल बोलाइ सोधपुछ गर्दा उनले आफूले बलात्कार गरी हत्या गरेको कुरा स्वीकार गरेका छन् र सोही बमोजिम कानुनी प्रक्रिया अगाडी बढाइएको छ ।


माथि उल्लेख गरिएका घटनाहरू प्रतिनिधिमूलक घटना मात्र हुन्, जसले नेपाली समाजमा महिलामाथि हुने हिंसाको वास्तविकता र पितृसत्तात्मक सामाजिक संरचनाले महिलालाई असुरक्षित बनाएको तथ्यलाई स्पष्ट रूपमा उजागर गर्छ । महिला हत्याका यी घटनाहरू कुनै व्यक्तिगत वा संयोगवश घटेका होइनन् बरु यी हाम्रो समाजमा गहिरो रूपमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच, महिला र पुरुष विचको असमान शक्ति सम्बन्ध र हानिकारक सामाजिक मान्यताका परिणामहरू हुन्, यसले महिलालाई घरभित्रै असुरक्षित बनाएको छ र घरेलु हिंसा, पारिवारिक विवाद वा सामाजिक दबाबलाई केवल “घरभित्रको कुरा” भनी लुकाउने संस्कृतिले अझ बलियो बनाएको छ । विश्वव्यापि रूपमा महिलामाथि हुने घातक हिंसाको मुख्य स्रोत प्रायः घर, परिवार वा नजिकका सम्बन्धहरू हुने गर्छन् । संयुक्त राष्ट्रसंघको सन् २०२४ मा प्रकाशित प्रतिवेदन अनुसार करिब ५०,००० महिला र बालिका आफ्नो जीवनसाथी वा परिवारका सदस्यबाट हत्या भएका थिए, जसले दैनिक रुपमा औसत १३७ महिला/बालिकाको ज्यान जाने गरेको देखाउँछ । यसमा उनीहरूलाई नजिकको मानिने परिवारका सदस्यले नै मार्नेको अनुपात लगभग ६०% रहेको पाइन्छ ।

तसर्थ महिला माथि हुने हिंसा केवल व्यक्तिगत अपराध नभई मानव अधिकारको गम्भीर उल्लंघन हो र समाजमा विद्यमान पितृसत्तात्मक सोच, शक्ति असमानता र नियन्त्रणको संरचनागत प्रणालीको प्रत्यक्ष परिणाम हो । त्यसैले घरेलु तथा पारिवारिक हिंसाप्रति शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न अपरिहार्य छ। प्रत्येक घटनामा पीडकलाई तुरुन्त कानुनी कारबाहीको दायरामा ल्याउँदै दण्डहीनताको अन्त्य सुनिश्चित गर्ने तथा महिलाले बिना कारण ज्यान गुमाउनुपर्ने अवस्था अन्त्यका लागि महिलालाई हेर्ने विभेदकारी सोचमा रूपान्तरण आवश्यक छ । यसका लागि समुदायस्तरदेखि राष्ट्रिय तहसम्म सचेतनामूलक तथा रूपान्तरणमुखी अभियान सञ्चालन गर्नुका साथै प्रत्येक नागरिको हिंसारहित वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चिताका लागि राज्य जवाफदेही हुनु आवश्यक छ ।

सुलोचना खनाल
कार्यक्रम व्यवस्थापक

Related Posts

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”

लैैङ्गिक हिंसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्ति, २०८२ माघ पृष्ठभूमि महिलामाथि