Newsroom

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

                                     “ महिला तथा बालिकामाथि विद्युतीय हिंसा बढ्दो क्रममा”

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर तथ्यमा आधारित पैरवी गर्दै आइरहेको छ । संस्थाले महिला मानव अधिकार रक्षक, सामुदायिक संस्था, महिला समूह, सञ्जाल, युवा तथा किशोरी समूहसँग समन्वय गर्दै महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरूको सङ्कलन, व्यवस्थापन, अभिलेखीकरण र विश्लेषण गर्दै नियमित रूपमा प्रतिवेदन तथा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आएको छ । यसै क्रममा ओरेकले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लामा अवस्थित कार्यालयमा आएका तथा फिल्डबाट सङ्कलन गरिएका अक्टोबरदेखि डिसेम्बर २०२५ सम्मका महिला तथा किशोरीमाथि भएका हिंसाका घटनाहरूको तथ्याङ्क यस त्रैमासिक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।


ओरेकद्वारा अभिलेखिकरण गरिएका तथ्याङ्कले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा यौन दुव्र्यवहार, बलात्कार, घरेलु हिंसा तथा विशेषगरी विद्युतीय माध्यमबाट हुने हिंसाका घटनाहरू दिनप्रतिदिन बढ्दै गएको पुष्टि गरेको छ । आधुनिकीकरणसँगै विस्तार भएका सामाजिक सञ्जाल र डिजिटल माध्यमको दुरुपयोगका कारण महिला तथा किशोरीहरू अनलाइन दुव्र्यवहार, साइबर बुलिङ, फेक अकाउन्ट, ह्याकिङ, गोपनीयता उल्लङ्घन, अनलाइन ब्ल्याकमेलिङ र चरित्र हत्या जस्ता गम्भीर जोखिममा परिरहेका छन् । यस्ता घटनाले महिला तथा किशोरीको सुरक्षा, आत्मसम्मान, मानसिक स्वास्थ्य र सामाजिक जीवनमा गम्भीर नकारात्मक प्रभाव पारेको देखिन्छ ।


यस अक्टोबरदेखि डिसेम्बर, २०२५ सम्मको अवधिमा सुदूरपश्चिम प्रदेशको जिल्लाहरुबाट लैङ्गिक विभेदमा आधारित हिंसाका कुल २७ वटा घटनाहरू अभिलेखीकरण गरिएको छ । जसमा विद्युतीय माध्यमबाट भएको हिंसा ४ वटा (१४.८ प्रतिशत), यौन हिंसा ४ वटा (१४.८ प्रतिशत), घरेलु हिंसाको १६ वटा (५९.३ प्रतिशत) घटना र आत्महत्या प्रयासको २ वटा (७.४ प्रतिशत) घटना रहेका छन् ।

केहि प्रतिनिधिमुलक घटनाहरु


कैलाली जिल्लामा बस्ने सरिता (परिवर्तित नाम) अनलाइनको माध्यमबाट यौन हिंसाको शिकार भइन् । उनको फेसबुक र ह्वाट्सएपमार्फत पवन (परिवर्तित नाम) सँग कुराकानी हुन थाल्यो । यसै क्रममा उनीहरुबीच अडियो र भिडियो कल हुँदै गयो । कुराकानीको क्रम बढ्दै गएपछि सरितालाई पवनले व्यक्तिगत र गोप्य अंग देखाउन दबाब दिँदै धम्की दिन थाले । डरले उनले पवनले भनेझैँ गरिन् । यही फाइदा उठाएर पवले अनुहार र गोप्य अंग देखिने भिडियो रेकर्ड तथा फोटो लिने गरेको रहेछ उनलाई यो कुरा जानकारी भएन । केही समयमा नै पवनले आफुले उनको गोप्य अंग सहितको फोटो, भिडियो राखेको र सरिताले भनेजति पैसा नदिए उनको फोटो र र भिडियो सामाजिक संजाल फेसबुकमा हाल्ने धम्की दिन थाले पछि सरिताले डराएर सापटी खोजेरै भएपनि पैसा दिइन् । यसै क्रममा उनी ओरेकले सञ्चालन गरेको तालिममा सहभागी हुने मौका पाइन् । सहभागिताकै क्रममा उनले आफुमाथि हिंसा भएको र यस सम्बन्धमा प्रहरीमा उजुरी दिन सकिने जानकारी पाएपछि प्रहरीमा उजुरी दिइन् । अपराधि अपरिचित व्यक्ति भएकोले पक्राउ पर्न समय लाग्छ भनेपछि उनी गत मंसिर ७ गते घरबाट निस्केको हाल सम्म सम्पर्कमा आएकी छैन । घर पविारले प्रहरीमा खोजी कार्यको लागि निवेदन दिएका छन् आफै पनि खोजी रहेका छन् ।


कैलाली जिल्लाकी २२ वर्षीया मनिषा (परिवर्तित नाम) र ४७ वर्षीय राकेश (परिवर्तित नाम) बीच सामाजिक सञ्जालमार्फत चिनजान भई सम्बन्ध सुरु भएको थियो । प्रारम्भमा सामान्य संवाद र मित्रताबाट सुरु भएको सम्बन्धमा राकेशले आफू अविवाहित र सफल व्यापारी भएको भन्दै मनिषासँग विवाह गर्ने आश्वासन दिए । उनले मनिषाका अभिभावक समेतलाई विश्वासमा लिएपछि सम्बन्ध गहिरिँदै गयो । सम्बन्धका क्रममा राकेशले मनिषासँग शारीरिक सम्बन्ध कायम गरी “माया गर्छु” भन्ने बहानामा फोटो तथा भिडियोहरू खिचे । मनिषाले असहमति जनाउँदा उनले डर, धम्की र दबाब दिन्थे । करिब दुई वर्षपछि राकेश पहिले नै विवाहित, छोरा–छोरी भएका व्यक्ति तथा बैंक कसुर र चोरी मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति भएको तथ्य खुलेपछि मनिषाले सम्बन्ध तोडिन् । जेन्जी आन्दोलनका क्रममा कैदी बन्दीहरु फरार भएको समययमा राकेश पनि कारागारबाट फरार भयो र पुनः मनिषासँग सम्पर्क गरी उनको विवाहको प्रयासलाई विफल पार्ने उद्देश्यले शारीरिक सम्बन्धका फोटो तथा भिडियोहरू तेस्रो व्यक्तिहरूलाई पठाउँदै निरन्तर मानसिक यातना दिए । यसले मनिषालाई गम्भीर मानसिक तनावमा पु¥यायो । यस अवस्थापछि मनिषा ओरेकको सम्पर्कमा आइन् । आवश्यक मनोपरामर्श र कानुनी सहयोगपछि उनले साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरिन् । उजुरी दर्ता भएकै दिन प्रहरी कार्यालयले राकेशलाई पक्राउ गरी पुरानो मुद्दा र साइबर अपराधमा पुनः जेल चलान गरेको छ ।


कैलाली जिल्लाकी २१ वर्षीया रमिला (परिवर्तित नाम) को कञ्चनपुर जिल्लाका सविन (परिवर्तित नाम) सँग करिब तीन वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । सामान्य कुराकानीबाट सुरु भएको सम्बन्ध बिस्तारै प्रेम सम्बन्धमा परिणत भयो । उनीहरू विवाह गर्ने सोचमा समेत पुगेका थिए । यस क्रममा रमिलाले सविनलाई आफ्नो परिवारसँग परिचय गराइन् भने सविनले पनि आफू अविवाहित भएको बताउँदै आफ्ना दिदी र भाउजू भन्दै केही व्यक्तिसँग फोनमा कुरा गराए, जसका कारण रमिला र उनको परिवारले उनलाई विश्वास गर्न थाले ।
सम्बन्धको क्रममा उनीहरूबीच भेटघाट हुँदा र सँगै बस्दा खिचिएका फोटो तथा भिडियो सविनले सुरक्षित राखेका थिए जसबारे रमिलालाई केही थाहा थिएन । केही समय पछि रमिला र उनको परिवारले विवाहको कुरा अघि बढाउँदा सविनले आफू पहिल्यै विवाहित भएको बताउँदै विवाह दर्ताको कागजात पठाए । साथै, रमिलाको विवाह अन्यत्र हुन नदिने धम्की दिँदै, उनीहरूसँगै बसेका फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्किी दिन थाले । जुन घटनाबाट मानसिक रुपमा विच्छिप्त भएकी रमिला अधिकारकर्मीको सहयोगमा ओरेकमा पुगेर परामर्श लिइन् । परामर्शपछि उनले सविनविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीमा जाहेरी दर्ता गरेकी छन् ।


यी घटनाहरू प्रतिनिधिमूलक घटना मात्र हुन् । सामाजिक सञ्जाल र डिजिटल माध्यम आजको समाजमा सूचना, शिक्षा, अभिव्यक्ति र सहभागिताको महत्वपूर्ण माध्यम बन्दै गएको सन्दर्भमा त्यसको दुरुपयोग गरी महिला र बालिकामाथि माया र प्रेमको भ्रम सिर्जना गर्ने, चरित्रमा आँच पु¥याउने, डर र धम्की मार्फत आर्थिक शोषण गर्ने, मानसिक यातना दिने तथा गम्भीर अपराधतर्फ धकेल्ने प्रवृत्ति बढ्दो क्रममा छ । अक्टोबरदेखि डिसेम्बर २०२५ सम्मको अवधिमा कैलाली जिल्लामा मात्रै विद्युतीय हिंसाका घटनाहरू कुल लैङ्गिक हिंसाको १४.८ प्रतिशत हुनु महिला र बालिकामाथि हुने हिंसाको अवस्था गम्भीर रहेको स्पष्ट संकेत हो । यसले विद्युतीय हिंसालाई व्यक्तिगत समस्या होइन, संरचनागत र सामाजिक चुनौतीका रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता देखाउँछ । हिंसाका कारण महिला र बालिकाको डिजिटल पहुँच र सहभागिता सीमित हुनु समाधान होइन; बरु उनीहरूको सुरक्षित र सम्मानजनक रुपमा डिजिटल सहभागिता सुनिश्चित गर्नु नै दीर्घकालीन समाधान हो । यसका लागि विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन, द्रुत र संवेदनशील अनुसन्धान, पीडित तथा प्रभावितमैत्री उजुरी तथा न्याय प्रणाली, गोपनीयता संरक्षण, मनोसामाजिक सहयोग र डिजिटल साक्षरता अभिवृद्धिमा राज्यको नेतृत्वदायी भूमिका अपरिहार्य छ ।

सपना थापा
प्रदेश संयोजक , ओरेक सुदूरपश्चिम

Related Posts

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”

लैैङ्गिक हिंसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्ति, २०८२ माघ पृष्ठभूमि महिलामाथि