Newsroom

महिला माथी भएका हिंसाको प्रतिवेदन (पुष—माघ) २०७९

महिला माथी भएका हिंसाको प्रतिवेदन (पुष—माघ) २०७९

महिला माथी भएका हिंसाको प्रतिवेदन (पुष—माघ) २०७९

महिलालाई हेर्ने विभेदकारी सामाजिक दृष्टिकोण कायमै रहँदा ६१ प्रतिशत महिलाहरु घरभित्रै असुरक्षित

लैगिंक हिंसा विरुद्धको अभियान सरकारी तथा गैरसरकारी क्षेत्रबाट निरन्तर चलिरहदा पनि हाम्रो समाजमा रहेको महिलालाई हेर्नै विभेदकारी दृष्टिकोण रहिरहेकाले लैगिंक हिंसाका घटनामा कमी आएका छैनन् । तर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको पहलमा संचालन भएका सचेतिकरणका गतिविधि पश्चात भने लैंगिक हिंसा प्रभावितहरु आफुमाथि भएका हिंसा विरुद्ध आवाज उठाई सहयोगका लागि बाहिर आएका देखिन्छन् । यसले के देखाउँछ भने हिंसालाई स्विकारेर बस्ने मौन प्रबृत्तिको विस्तारै अन्त्य हुदैछ । ओरेकले लैगिंक हिंसा बिरुद्धको अभियान अन्तरगत घटनाहरुको अभिलेखिकरण र सरोकारवालाहरुको ध्यानाकर्षण गर्ने कार्यलाई पनि निरन्तर गर्दैै आएको छ । लैगिंक हिंसाका घटनाहरुमा सबैभन्दा वढि घरेलु हिंसाका घटनाहरु हुने गरेका छन । संस्थाले पुष र माघ महिनामा गरेको तथ्यांक संकलनमा पनि सबै भन्दा वढि घरेलु हिंसाका घटनाहरु नै अभिलेखिकरण भएका छन । अभिलेख भएका २३८ घटना मध्ये १२२ जना घरेलु हिंसाबाट प्रभावित भएका छन् ।

यसका साथै पछिल्लो समयमा बलात्कार तथा यौन दुर्ब्यवबहारका घटनाहरु निरन्तर बढिरहेका छन । ओरेकको पछिल्लो दुई महिनाको तथ्यांकमा ३६ जना महिला माथी बलात्कार र ९ जना महिलामाथी बलात्कारको प्रयास भएको देखिएको छ । बलात्कारका घटना दिनदिनै बढदै जानु एकातर्फ चिन्ताको विषय बन्दै गइरहेको छ भने अर्को तर्फ बलात्कार जस्तो जघन्य अपराधमा समाजले प्रभावित प्रति लगाउने लान्छना र दोषारोपणले असहिष्णु झनै उदेक लाग्दो अवस्था भएको छ । पितृसत्तात्मक सोचबाट ग्रसित  हाम्रो समाजले बलात्कार जस्तो जघन्य अपराधमा पनि पीडक पुरुषको दोष नदेख्ने बरु उल्टै महिलाकै चरित्र माथी दोष थोपर्ने गरेको छ । अझ पछिल्लो समयमा पढेलेखेको नयाँ पुुस्ताले पनि बर्तमान कानुन महिलाको पक्षमा भएकोले महिलाहरुले सुनियोजित रुपमा पुरुषलाई फसाउने गरेको भन्ने तथ्यहिन तर्क गर्न थालेकाले बलात्कार जस्ता जघन्य अपराधबाट प्रभावितहरु अझबढी लान्छित हुनुपरेको तितो यथार्थ हामीमाझ छ ।

अदालतमा मुद्वा चल्दा चल्दै पनि केहि चर्चित व्यक्तिहरुका घटनामा आरोपितलाई  समाजले स्विकार्नु तर  प्रभावित बालिकालाई भने दोष लगाएर सामाजिक संजालमा युवापुस्ताबाट अभिव्यक्त विचारहरुले हाम्रो समाजमा  विद्यमान पितृसत्ता कत्ति बलियो छ भन्ने कुरा प्रस्ट्याएको छ । वर्तमान समयमा भइरहेका बलात्कार जस्ता घटनामा हिंसा प्रभावितले मुख लुकाएर बस्नु पर्ने तर आरोपितलाइ फुलमालाले समाजको एउटा तप्काले स्वीकार्य गर्दै हिडेको अवस्था हाम्रो सामु छ । यहि मान्यताका कारण गाँउघरमा भएका यस्ता धेरै घटनामा प्रभावितले न्याय पाउनुको साटो झनै पिडा बोकेर बस्नु परेको छ । बलात्कार जस्तो जघन्य अपराध गरेर पनि पुरुषहरु खुले आम परिवार र समाजमा स्वीकारिदै आएका छन भने प्रभावितहरु विभिन्न किसिमका लान्छना र भेदभाव खेप्दै एक्लो हुन पुगेका छन । बलात्कारको घटनामा महिलालाइनै दोषि बनाइ उनीहरुको चरित्रमा दोष लगाउने अनि घरपरिवारले पनि प्रभावित प्रति सहानुभुति नराखी उनलाइ अलग गर्ने परिपाटीले प्रभावितहरु झनै पिडामा पुगेका छन । आफनै परिवार भित्र बलात्कृत हुन पुगेका महिलाहरु त झनै घरवारविहिन हुन पुगेका छन भने उनीहरुको पारिवारिक पुर्नस्थापना चुनौतिपुर्ण बनेको छ ।

क) महिला तथा बालिकामाथि भएका हिंसाको प्रकार

यसैगरी पुष देखी माघ महिनामा संस्थाले अभिलेखीकरण गरेको घटनाको तथ्याङ्कलाई विश्लेषण गर्दा १२२ जना (५१ प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको छ । ४५ जना (१९ प्रतिशत­­­) महिला तथा बालबालिका माथि बलात्कार भएको घटना तथ्याङ्ककले देखाउँछ । त्यस्तै ११ वटा (५ प्रतिशत) यौन दुर्व्यवहारको घटना, १९ वटा (८ प्रतिशत) हत्याको घटना, १ वटा हत्या को प्रयास, ३ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा मानव वेचविखन र २ वटा (१ प्रतिशत) साइबर अपराध जस्तो जधन्य अपराधको घटना संकलन भएको छ ।

साथै १३८ जना महिलाहरुले आफु माथि पहिला देखि नै हिंसा भएको कुरा खुलाउनु भएको छ । जसमा ३२ जना (२३ प्रतिशत) ले ५ बर्ष देखि आफु माथि निरन्तर हिंसा भइरहेको बताउनु भएको छ । यसै पनि हिंसाका घटनाहरू जति घट्छन् त्यसको तुलनामा बाहिर कम आउँछन् । प्रभावितहरूले पनि लामो समयसम्म हिंसा सहनुपर्ने र मुद्दा गम्भीर भएमा मात्र बाहिर आउने गर्दछन् । साथै उजुरी जाहेरीमा जाँदा पनि न्याय पाउने न्यून संभावना देखि थोरै घटनामात्र जाने गर्दछन् । यसले समाजको आलोचनात्मक र दुखद परिदृश्यलाई देखाउँछ ।

केही प्रतिनिधि मुलक घटनाहरु

घटना १)  १८ वर्षको उमेरमा उनको मन्जुरी बिना बुवाआमाले जबरजस्ती बिहे गरिदिएका थिए । बिनामन्जुरी बिहे भएपनि श्रीमानको राम्रो ब्यबहारले उनी परिवारमा खुसी थिईन । तर उनको श्रीमान बिमारी भएर विते पछि दुई छोरीको सम्पूर्ण जिम्मेवारी उनको काधमा आएको थियो । परिवारमा सासुससुरा जेठाजुहरु भए पनि श्रीमानको मृत्यु पछि उनलाई सहयोग गर्नुको साटो अल्छिनी श्रीमान खाई भनेर उनलाई हेलाँ तथा हिंसा गर्न थाले । परिवारको असहयोगबाट दिक्क भएर माइत पुग्दा माइतीले पनि उनलाई साथ दिएनन् । श्रीमानको उपचारमा ऋण लागेकोले उनले परिवारबाट अंश मागेर ऋण तिरे पछि ज्याला मजदुरी गरि जिवन निर्वाह गर्दै थिईन । उनी एक्लै भएको मौका छोपी उनको काका ससुराले उनलाई बलात्कार गरेर कसैलाई भने बदनाम गरिदिने धम्की दिए । काका ससुराले बलात्कार गरे पछि विक्षिप्त भएकी उनलाई उनको आफ्‌नै ससुराले पनि दुईदुई पटक बलात्कार गरे । उनले सासुलाई ससुराबाट भएको दुव्यवहारको बारेमा सबै कुरा बताए पनि सासुले उनलाई नै दोष दिईन । ससुराको बलात्कारबाट गर्भवती भएपछि परिवारले चरित्रहिन भन्दै गाली गलौज गरे । तर परिवारले नै अव यसलाई मारेर फाल्नु पर्छ भन्न थाले पछि उनले सुरक्षाको माग गरी आफुमाथि भएको घटनाका बारेमा प्रहरीमा उजुरी गरेकी थिइन । ससुरा पक्राउ गरे पछि जेठाजुले उनलाई घरमा बस्न नदिने भनेर निकालि दिएकोले उनी अहिले सुरक्षाआवासमा बसेकी छिन । उनले गत फागुनमा छोरी जन्माए पछि, बच्चालाइ धर्मपुत्रको रुपमा अरुले जिम्मा लिएका छन । तर प्रभावित महिलालाइ घरमा फर्किएर बस्ने बातावरण नभएको  र माइतीले पनि सहयोग नगरेकोले सुरक्षित आवासमै बसेकी छिन । परिवार र माइतमा मात्र होइन गाँउ समाजले प्रभावित महिलाको चरित्र खराब भनी गाँउमा बस्न नदिने भनेकोले उनलाई पुर्नस्थापना गर्न चुनौती भएको छ ।

घटना २) नजिकैको गाँउमा सांगितिक कार्यक्रम हेरेर फर्किदा रातपरेको बेला गाँउका युवाहरुले बाइकमा लगिदिन्छु भनी युवतीलाई जंगलमा लगी बलात्कार गरे । कसैलाइ भने मारिदिने धम्की दिएको र आफ्‌नै ईज्जत जान्छ भनीे कसैलाइ आफुमाथि भएको घटनाका बारेमा बताउन नसकेको उनी महिनावारी रोकिए पछि बलात्कार गर्ने युवकलाई भेट्न पुग्छिन् । युवकले उनको कुरा सुनिसकेपछि उनलाई अविश्वास गर्दै उ अरुको गर्भहोला भनी उम्किछ । डर त्रास र चिन्ताले गर्दा युवती बिमारी परेर अस्पताल जाँदा उनको आमाले छोरी गर्भवती भएको थाहापाउँछिन्  । घर सल्लाह गरेर प्रहरीमा उजुरी गरेपछि केटालाई पक्राउ गरि प्रहरीले अनुन्धान अगाडी बढाएको छ । युवतीलाइ भने उपचार र मनोबिमर्शको लागि सुरक्षा आवासमा राखिएको छ । उक्त घटनामा प्रहरीले युवकलाइ पक्राउ गरेपछि गाँउमा बलात्कारको हल्ला फैलियो । सबैले थाहा पाए भनेर युवतीको परिवारले आफ्‌नो अपमान भएको भन्दै युवतीलाई घरमा नल्याउने निर्णय गरेका छन । प्रभावित युवती अहिले सुरक्षित आवासमा छिन गर्भपतन गर्न मिल्ने भएकोले युवतीको इच्छा बमोजिम उनको एकद्धार संकट ब्यवस्थापन केन्द्र मार्फत उपचार भइरहेको छ । परिवारले घरमा नलग्ने भने पछि उनी मानसिक तनावमा छिन ।

घटना ३)  पारिवारिक सहमतीमा उनको बिहे भएको थियो । उनको माइतीको आर्थिक अवस्था कमजोर भएकोले उनको परिवारले शुरु देखि नै हेलाँ गर्थे । छोरी जन्मे पछि  पैसा कमाउन भन्दै उनको श्रीमान बिदेश गएका थिए । घरमा कोही नभएको मौका छोपी उनको ससुराले बेलाबेला संवेदनशिल अंगहरु छुने गर्थे । तर उनी कसैलाइ भन्न  सक्दैन्थिन बरु सके सम्म ससुराभन्दा टाढा रहने कोशिस गर्थिन । तर उनी टाढा हुन लाग्दा ससुराले गाली गर्ने, उनको श्रीमानलाइ तेरो श्रीमती काम गर्दिन भनेर कुरा लगाइदिने गर्थे । एकदिन राती उनको ससुराले उनको कोठामा पसि जबरजस्ती करणी गरे । श्रीमान पनि विदेशमा भएकोले उनले कसैलाइ यो घटना भन्न सकिनन् । केही समय पछि ससुराले फेरी त्यस्तै गर्न खोज्दा उनले प्रतिकार गरिन तर ससुराले छोरीलाइ मारिदिने धम्की दिए पछि उनी दोस्रो पटक बलात्कृत भइन । केही समयमा उनको महिनावारी रोकिए पछि उनले ससुरालाइ यो कुरा बताउदा, उनले पैसा दिएर औषधी किनेर खाउ भने । उता ससुराले प्रभावित महिलाको श्रीमानलाइ तेरो श्रीमतीको चाला ठिक छैन भनेकोले श्रीमानले बोलचाल बन्द गरेका थिए । ससुराकै सल्लाहमा उनले चेकजाँच नगरि औषधी खाइन । फलस्वरुप अत्यधिक रक्तश्राव भइ उनी बेहोस भइन । माइतीहरुले उनलाइ अस्पताल लगेर उपचार गरे । उनी अस्पतालमै भएको बेला ससुरा र जेठाजुले छोरीलाइ घरमा लगे भने श्रीमानले अर्काको गर्भ बोकेर बच्चा फालेर बिमारी भएकी होस भन्दै घरमा नआउन धम्की दिए । गर्भपतनको कुरा थाहा पाएर माइतीले पनि उनको साथ छोडे पछि प्रभावित महिला सुरक्षाआवासमा बसेकी छिन । उनको श्रीमान विदेशबाट फर्किएर उनको चरित्र खराब भन्दै सम्बन्ध विच्छेदको प्रकृया अगाडी बढाएका छन । श्रीमाजले पनि आफ्‌नो कुरा नबुझे पछि उनले ससुरा विरुद्ध हाडनाता करणीको मुद्धा दर्ता गरेकी छिन । आरोपितलाइ अदालतले अहिले धरौटीमा छोडेको छ । धरौटीमा छुटे पछि आरोपितहरुले महिलाको माइती मार्फत मिलापत्रको लागि दवाव दिइरहेका छन।

माथि उल्लेखित घटना हाम्रा समाजमा हुने गरेका केहि प्रतिनिधिमुलक घटना मात्र हुन् । यस घटना मार्फत हाम्रो समाजमा महिला तथा किशोरीहरुलाई कसरी लान्छित हुनुपरेको छ र किन किशोरी तथा महिलाहरु खुलेर आफुमाथि भएका घटनालाई बाहिर ल्याउन सक्दैनन भन्नेकुरा स्पष्ट हुन्छ । अप्ठेरो परिस्थितिमा परिवारबाटै बलात्कृत हुनु, ईज्जत जाने डरका कारण किशोरीहरुलाई परिवारले सहयोग नगर्नुले हाम्रो समाजमा महिला तथा किशोरीहरुको अवस्था कस्तो छ र कसरी हिंसाको चक्र भोग्न बाध्य बनाईएका छन् भन्ने तथ्य प्रष्ट हुन्छ ।

ख) हिंसा प्रभावितको उमेरको आधारमा बर्गीकरण

यस पुष देखी माघ महिनामा संकलन भएका जम्मा हिंसाका घटनामध्ये ६६ जना (२८ प्रतिशत­­­) २६ देखि ३५ बर्ष । त्यसैगरि ५१ जना (२१ प्रतिशत)­­­ १८  देखि २५  बर्ष , ३६ जना (१५ प्रतिशत)­­­ १८ वर्ष भन्दा कम उमेर समूहका, ४३ जना (१८ प्रतिशत­­) ­३६ देखि ४५ बर्ष, २४ जना  (१० प्रतिशत­­­) ४६ देखि ५५ वर्ष सम्म र १२ जना (५ प्रतिशत­)­­ ५६ वर्ष भन्दा माथि रहेका छन् ।

ग) हिंसा प्रभावितको पीडकसँगको सम्बन्ध

तथ्यांक  हेर्दा प्राय जस्तो घटना श्रीमानबाट १२० (५० प्रतिशत­ ) र (११ प्रतिशत­) छिमेकि बाट ४० वटा भएको पाइन्छ । त्यसै गरि २५ जना (११ प्रतिशत) परिवारका सदस्य, १४ जना (६ प्रतिशत प्रेमी) , २४ जना (१० प्रतिशत) अपरिचित व्यक्ति, ९ जना (४ प्रतिशत) समुदायका सदस्यबाट, ८ जना (३ प्रतिशत) साथी,   र ३ जना (१ प्रतिशत) सेवा प्रदायक हिंसा भएको पाइएको छ । ४ जना (२ प्रतिशत) अविवाहित तर सगैं बसेकोबाट, ३ जना (१ प्रतिशत) सामान्य चिनजानका व्यक्तिबाट र एक जना शिक्षकबाट हिंसा भएको पाइएको छ।

तथ्यांक  हेर्दा प्राय जस्तो घटना श्रीमानबाट १२० (५० प्रतिशत­ ) र (११ प्रतिशत­) छिमेकि बाट ४० वटा भएको पाइन्छ । त्यसै गरि २५ जना (११ प्रतिशत) परिवारका सदस्य, १४ जना (६ प्रतिशत प्रेमी) , २४ जना (१० प्रतिशत) अपरिचित व्यक्ति, ९ जना (४ प्रतिशत) समुदायका सदस्यबाट, ८ जना (३ प्रतिशत) साथी,   र ३ जना (१ प्रतिशत) सेवा प्रदायक हिंसा भएको पाइएको छ । ४ जना (२ प्रतिशत) अविवाहित तर सगैं बसेकोबाट, ३ जना (१ प्रतिशत) सामान्य चिनजानका व्यक्तिबाट र एक जना शिक्षकबाट हिंसा भएको पाइएको छ।

घ) पीडक र उमेर

यस्तै, हिंसामा संलग्न पीडकको उमेरको विश्लेषण गर्दा पुष देखी माघ महिनामा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ८५ जना (३२ प्रतिशत) युवा पुरुषहरु रहेका छन् । यसैगरी ६१ जना (२३ प्रतिशत) ३६ देखि ४५ उमेर समुहका, ४९ जना (१८ प्रतिशत) १८ देखि २५ वर्ष उमेर समुहका, ३९ जना (१५ प्रतिशत) ४६ देखि ५५ वर्ष भन्दा  उमेर समुहका, २ जना (१ प्रतिशत) १८ बर्षभन्दा कम उमेर समूहका  १२ जना (५ प्रतिशत) र ५५ वर्ष भन्दा माथि हिंसामा संलग्न रहेको पाइएको छ भने १८ जना (७ प्रतिशत)  पीडकहरुको उमेर समुह थाहा नभएको तथ्याङ्क संकलन भएको छ ।

निश्कर्ष : बलात्कार जस्तो जघन्य अपराधबाट प्रभावितहरु शारिरीक र मानसिक रुपमा निकै प्रताडित भएका हुन्छन । अझ हाम्रो जस्तो पितृसत्ताको जगमा बनेको समाजमा सानै देखि महिलालाई दोस्रो दर्जाको नागरिक बन्न सिकाइएको परिवेशमा यस्ता घटनाबाट प्रभावितले आफु माथी भएको अन्यायलाई सके सम्म बाहिर ल्याउनै सक्दैनन । ल्याई हालेका घटनामा पनि समयमा न्याय नपाउने, पाइहाले पनि परिवार समाजले प्रभावितलाइ हेर्ने दृष्टिकोण, गर्ने ब्यवबहारले उनीहरुमा अर्को किसिमको समस्या थपेको छ । आफनै घर परिवारमा बलात्कार भोगेका महिलाहरुलाइ त फर्केर त्यही घरमा गएर बस्न झनै कठिन र चुनौतिपुर्ण बनेको छ । यस्तो अवस्थामा बलात्कार प्रभावितलाई समाजमा पुर्नस्थापना गर्न सरकारले नितिगत रुपमै ठोस योजना ल्याउनु आवश्यक छ  भने सरोकारवालाहरुले जनचेतना अभिवृद्धिमा थप पहल गर्नु जरुरी छ  । अझ पिडकलाई स्वीकार्दै प्रभावितलाई निरुत्साहित गर्ने परिपाटीको अन्त्य गर्न युवापुस्ताहरुमा पनि लैगिंक समानताको जागरण विद्यालय स्तर देखि नै संचालन गर्नु आवश्यक देखिएको छ ।

Related Posts

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”

लैैङ्गिक हिंसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्ति, २०८२ माघ पृष्ठभूमि महिलामाथि