मे २८, नेपालले २०२० सम्म मातृ मृत्युदर प्रति लाख २२५ मा घटाउने लक्ष्य राखेको थियो भने हाल नेपालको मातृमत्यु दर प्रति लाख २३९ रहेको छ । यो हेर्दा खेरी हामी २०२० को लक्ष्य प्राप्तीको लागि पहिले नै चुकिसकेका छौं । अहिले कोभिड १९ को बन्दाबन्दीको अवस्थामा, गर्भवती र सुत्केरी महिलाको अबस्था झन् बढी जोखिममा रहेको र धेरैको ज्यान समेत गएको अबस्था छ । बन्दाबन्दी सुरु भए देखि ज्येष्ठ १३, २०७७ सम्म मातृमृत्यु ३० र २५० शिशुको आमाको कोख भित्रै र जन्मेको एक हप्ता भित्र ज्यान गएको छ (स्रोतः परिवार कल्याण महाशाखा) । यो तथ्यांकले महिला र नवजात शिशुको स्वास्थ्य सबैभन्दा बढि जोखिममा छ भन्ने देखाउँछ ।
हाल स्वास्थ्य संस्थाहरुले नियमित सेवा दिन नसक्नु, सवारी साधनको अभावले महिलाहरु सजिलै स्वास्थ्य संस्थामा पुग्न नसक्नु र पुगे पनि जटिल अवस्था भए पछि मात्र पुग्नुले महिला र नवजात शिशुको ज्यान गएको छ । कतिपय स्वास्थ्य संस्थाले आफूसँग कोभिड १९ को सक्रमण रोकथामको लागि आवश्यक पि.पि.ई सेट र ¥यापिड परिक्षण गर्नको लागि परिक्षण किट नभएका, छुट्टै उपचार कक्षको अभाबको कारणले सेवाहरु दिन सकिरहेका छैनन् । त्यस्तै गरेर महिलाहरुले परिवार नियोजन र गर्भपतनको सेवाबाट पनि बन्चित हुन परेको छ । परिवार नियोजन र गर्भपतनको सेवा बेलैमा नपाउदा भविष्यमा यसले झनै जटिल समस्या ल्याउन सक्छ । अहिले कतिपय गर्भवती र सुत्केरी महिलाहरु पनि क्वारेन्टाईनमा बसिरहनु भएको छ र उहाहरुलाई विशेष सुविधाको व्यवस्था छैन ।
महिलाको प्रजनन सेवा भनेको अति नै संबेदनशिल सेवा र कुनै पनि हालतमा अवरुद्घ हुन नहुने सेवा हो । तसर्थ, ओरेक नेपालले बन्दाबन्दीको बेला महिलाको प्रजनन् अधिकार सुनिश्चितताको लागि निम्न कुराको माग गर्दछः
- सबै किसिमका प्रजनन् सेवाहरु तुरुन्त सुचारु गर्नु पर्ने ।
- प्रसबमा रहेको महिला र सुत्केरी महिलाको लागि निशुल्क हवाई एम्बुलेन्स, एम्बुलेन्स वा अन्य यातायातको सेवा २४ घण्टा र सहजरुपले उपलब्ध हुनुपर्ने ।
- स्वास्थ्य संस्थाहरुमा परिवार नियोजन र गर्भपतनको सेवा सुचारु हुनुपर्ने ।
- संचार प्रबिधिको प्रयोग गरि गर्भवती र सुत्करी महिलाहरुलाई परामर्शको सेवा दिनुपर्ने ।
- बर्थिङ सेन्टर लगायत अन्य स्वास्थ्य सेवाकेन्द्र र संस्थाहरुमा कोभिड सक्रमण परिक्षण किट र स्वास्थ्य कर्मीहरुलाई सुरक्षका साधन (पि.पि.ई सेट) को अविवार्य उपलब्धता र तालिम उपलब्ध हुनुपर्ने ।
- प्रसवमा रहेका महिला र सुत्केरी महिलालाई विशेष ध्यानमा राखि उनीहरुलाई पर्ने हरेक किसिमका जटिलतालाई मध्यनजर गरि सोही अनुसारको सेवाहरु उपलब्ध गनुपर्ने ।
- साथै क्वारेन्टाईनमा बसिरहेका सुत्केरी तथा गर्भवतीहरुको लागि उनीहरुको आवश्यकता अनुसारको विशेष पोषणयुक्त खाना, बस्ने व्यवस्था र स्वस्थ्य जाँचको सेवा उपलब्ध गराउनुपर्ने ।