Newsroom

“महिलामाथि बहुविवाहका कारण हिंसा बढ्दोे क्रममा”: प्रादेशिक प्रेस विज्ञप्ति (सुदूरपश्चिम प्रदेश)

“महिलामाथि बहुविवाहका कारण हिंसा बढ्दोे क्रममा”: प्रादेशिक प्रेस विज्ञप्ति (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रबर्धनका लागि निरन्तर तथ्यमा आधारित पैरवी गर्दै आइरहेको छ । संस्थाले महिला मानव अधिकार रक्षक, सामुदायिक संस्था, महिला समूह, सञ्जाल, युवा तथा किशोरी समूहसँग समन्वय गर्दै महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरूको सङ्कलन, व्यवस्थापन, अभिलेखीकरण र विश्लेषण गर्दै नियमित रूपमा प्रतिवेदन तथा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आएको छ । यसै क्रममा ओरेकले सुदूरपश्चिम प्रदेशअन्तर्गत फिल्डबाट सङ्कलन गरिएका र कैलाली जिल्लामा अवस्थित कार्यालयमा जनवरीदेखि मार्च, २०२६ सम्मका महिला तथा किशोरीमाथि भएका हिंसाका घटनाहरूको तथ्याङ्क मार्फत यस त्रैमासिक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।


पछिलो समयमा सुदूरपश्चिम प्रदेशमा बहुविवाहका कारण महिलामाथि हुने हिंसाका घटनाहरू बढ्दो क्रममा रहेका छन् । ओरेकमा दस्तावेजीकरण भएका घटनाहरुका आधारमा यस समस्याको जरो कुनै व्यक्तिको आचरणमा मात्र नभई पितृसत्तात्मक सामाजिक संरचना, महिलाको आर्थिक परनिर्भरता, न्याय प्रणालीमा महिलाको सीमित पहुँच, र दण्डहीनताको संस्कृतिसँग जोडिएको छ । बहुविवाह कानुनतः दण्डनीय अपराध भए पनि सामुदायिक र संस्थागत स्तरमा यसलाई मिलापत्र मार्फत सामान्यीकरण गर्ने प्रवृत्ति व्याप्त छ । यो प्रक्रियाले न्याय माग गर्ने महिलामाथि नै सम्झौताको भार थोपरिरहेको छ । बालविवाहका कारण सीमित शैक्षिक र आर्थिक अवसर, बसोबासको सुनिश्चितता नहुनु, र पारिवारिक–सामाजिक दबाबले हिंसाको चक्रलाई निरन्तरता दिइरहेको छ ।


तथ्याङ्क विश्लेषणः
अभिलेख भएका कुल ७६ हिंसा मध्ये घरेलु हिंसा ४३ वटा (५६.५८ प्रतिशत), यौन हिंसा १९ वटा (२५.० प्रतिशत), हत्या ५ वटा (६.५८ प्रतिशत), सामाजिक हिंसा ७ वटा (९.२१ प्रतिशत), आत्महत्या र आत्म हत्याको प्रयास एक–एक वटा रहेको पाइएको छ । त्यस्तै वहुविवाहको घटनालाई हेर्ने हो भने कुल ७६ हिंसाका घटनामा १० वटा वहुविवाहका हिंसा रहेका छन् । यस जनवरीदेखि मार्च, २०२६ सम्मको अवधिमा सुदूरपश्चिम प्रदेशको जिल्लाहरुबाट लैङ्गिक विभेदमा आधारित हिंसाका कुल ७६ वटा घटनाहरू अभिलेखीकरण गरिएको छ । जिल्लागत रुपमा हेर्ने हो भने, कैलालीबाट ५६ वटा, कञ्चनपुरबाट ५, डोटीबाट ६, बाजुराबाट ४, डडेल्धुराबाट १, बझाङबाट २ र अन्य ठाँउबाट (भारत) समेत २ वटा हिंसाका घटना अभिलेख भएका छन् ।

प्रतिनिधिमुलक घटनाहरु
घटना १: निर्मला (परिवर्तित नाम) ले १६ वर्षकै उमेरमा बालविवाह गरेकी थिइन् । खेतीपाती गर्दै तीन छोरासहितको परिवार धान्दै आएकी उनलाई श्रीमानले लामो समयसम्म घरेलु हिंसा गरिरहे । बाबुको राम्रो हेरचाह समय नपाएका उनका छोराहरु पनि पढाई पुरा गर्न सकेनन् । उनीसँग राम्रो व्यवहार नगर्ने उनका श्रीमानले आठ वर्ष अघि दोस्रो विवाह गरेर उनलाई छोराहरुका साथ छुट्टयाई दिए । यो कुरा उनलाई सहन असाध्यै गाह्रो भयो, त्यसैले उनले वडा कार्यालयमा बहुविवाहको उजुरी गरिन्, तर वडाबाट “मिलेर बस्नु” भन्ने सुझाव दियो । आफ्नो छुट्टै आयस्रोत नभएको, बस्ने बास पनि नभएकाले उनलाई यो केस अगाडि बढाउन अप्ठ्यारो भयो । आर्थिक निर्भरता र संस्थागत समर्थनको अभावले निर्मलाको मनोसामाजिक स्वास्थ्यमा गम्भीर प्रभाव पा¥यो । अहिले उनी ओरेकको सहयोगमा बाजुराबाट मनोपरामर्श सेवा लिइरहेकी छिन् ।


घटना २: १२ कक्षासम्म अध्ययन गरेकी सुमीले विवाहपछि जागिर गर्दै आएकी थिइन् । पारिवारिक अवस्था राम्रै थियो । तर गर्भावस्थाको समयमा श्रीमानले अर्को महिलासँग सम्बन्ध राखे । सुमीले प्रमाण जुटाई प्रहरीमा उजुरी गरिन त्यहाँबाट दुवैजनालाई सम्झाइबुझाई मिलापत्र गराइयो । तर श्रीमान सुध्रिनुको सट्टा उनीमाथि उल्टै शारीरिक र मानसिक हिंसा थपिदै गयो । दुई पटक प्रहरी हस्तक्षेपमा मिलापत्र भयो । तर हरेक पटकको मिलापत्र पछि हिंसा बढ्दै गयो । सहन नसक्ने भएपछि उनी माइत गइन, त्यही समयमा श्रीमानले घरमा अर्की महिला राखेर भिडियो कलमार्फत “आए मारिदिन्छु” भनी धम्की दिए । इलाका प्रहरीमा उजुरी गर्दा उनलाई नै दोषी ठहर गरी उजुरी नै फिर्ता ग¥यो । त्यसपछि उनले ओरेकको सहयोगमा जिल्ला प्रहरीमा पुन पुगेपछि पनि सबै आरोप उनलाई नै थोपरे । अन्ततः सुमी बच्चा र अंश लिएर सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेकी छिन् ।
संरचनागत कारणः मिलापत्रको बारम्बार असफलता, प्रहरीको असंवेदनशील प्रतिक्रिया, र प्रणालीगत दण्डहीनता ।


घटना ३: मनमतीले पतिसँग मिलेर होटेल व्यवसाय संचालन गरेकी थिइन् । विगत तीन वर्षदेखि पतिले अर्की महिलासँग सम्बन्ध राख्दै उनलाई शारीरिक र मानसिक हिंसा दिन थाले । पालिका न्यायिक समिति मार्फत मिलापत्र गराइयो, तर सहमतिको तीन हप्तामै हिंसा थप क्रूर रूपमा सुरु भयो । ०८२ फागुन ८ गते मनमती ओरेक कार्यालय पुग्दा शरीरभरि चोटपटक, अनुहारमा घाउ र कानको चोटका कारण सुन्न समेत गाह्रो भएको थियो । उनलाई तत्काल इऋःऋ मा उपचारका लागि लगियो र सुरक्षा आवासमा राखियो । यो अवस्थाले “मिलापत्र” हिंसाको समाधान होइन भन्ने पुष्टि गर्दछ । यसले हिंसा गर्ने व्यक्तिलाई थप प्रश्रय दिदै हिंसा बढाउन मदत गरिरहेको छ ।
संरचनागत कारणः संस्थागत मिलापत्रको बारम्बार असफलता र बढ्दो हिंसाको चक्र रोक्न प्रणालीगत हस्तक्षेपको अभाव ।

निष्कर्षः
यी घटनाहरू प्रतिनिधिमूलक मात्र नभई समाजमा व्याप्त गम्भीर प्रवृत्तिको संकेत पनि हुन् । मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार पहिलो विवाह कायम हुँदाहुँदै अर्को विवाह गर्नु बहुविवाहको अपराध हो, जसमा १ वर्षदेखि ५ वर्षसम्म कैद तथा १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर व्यवहारमा भने कानुनी व्यवस्थालाई बेवास्ता गर्दै माया र प्रेमको भ्रम सिर्जना गरी महिलामाथि मानसिक, आर्थिक तथा भावनात्मक शोषण गर्ने घटनाहरू बढ्दो क्रममा रहेका छन्। यस्ता घटनामा महिलामाथि नै दोषारोपण गर्ने र बाहिरी सम्बन्धलाई सामान्यीकरण गर्ने प्रवृत्ति पनि देखिन्छ ।


सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा बहुविवाह सम्बन्धी ७६ वटा र आर्थिक वर्ष २०८२÷०८३ को फाल्गुण मसान्तसम्म ३३ वटा मुद्दा दर्ता भएका छन् । तर कानुनले दोस्रो विवाहलाई मान्यता नदिए पनि प्रमाणको अभावका कारण धेरै महिलाहरू औपचारिक रूपमा उजुरी दर्ता गर्न सकिरहेका छन् । यसले वास्तविक घटनाको संख्या अझै बढी हुन सक्ने संकेत गर्दछ ।
जनवरीदेखि मार्च २०२६ सम्म सुदूरपश्चिममा मात्रै कुल लैङ्गिक हिंसाका घटनामध्ये १३.२ प्रतिशत बहुविवाह सम्बन्धी हुनु महिला र बालिकामाथि हुने हिंसाको अवस्था गम्भीर रहेको स्पष्ट प्रमाण हो । यसले यस्तो हिंसालाई व्यक्तिगत घटना मात्र नभई संरचनागत तथा सामाजिक समस्याका रूपमा हेर्नुपर्ने आवश्यकता देखाउँछ ।


यस परिस्थितिमा विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन, द्रुत र संवेदनशील अनुसन्धान, पीडितमैत्री उजुरी तथा न्याय प्रणालीको विकास, गोपनीयताको संरक्षण र मनोसामाजिक सहयोग सेवाको सुदृढीकरण अत्यावश्यक छ । महिला र बालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न राज्यले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपरिहार्य छ ।

Related Posts

“महिलामाथि बहुविवाहका कारण हिंसा बढ्दोे क्रममा”: प्रादेशिक प्रेस विज्ञप्ति (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रबर्धनका लागि निरन्तर

घरदेखि सार्वजनिक स्थलसम्म असुरक्षित महिला : बढ्ढो हिंसाको अवस्था :महिला हिंसा सम्बन्धि त्रैमासिक प्रेस विज्ञप्ति

ओरेकले महिला तथा किशोरी अधिकार स्थापनार्थ तथ्यगत पैरवी गर्दै आइरहेको