Newsroom

घरदेखि सार्वजनिक स्थलसम्म असुरक्षित महिला : बढ्ढो हिंसाको अवस्था :महिला हिंसा सम्बन्धि त्रैमासिक प्रेस विज्ञप्ति

घरदेखि सार्वजनिक स्थलसम्म असुरक्षित महिला : बढ्ढो हिंसाको अवस्था :महिला हिंसा सम्बन्धि त्रैमासिक प्रेस विज्ञप्ति


ओरेकले महिला तथा किशोरी अधिकार स्थापनार्थ तथ्यगत पैरवी गर्दै आइरहेको छ । यसका लागि संस्थाले विभिन्न सामुदायिक संस्था, महिला समुह, युवा तथा किशोरी समुहसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेखन गरी विश्लेषणात्मक प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिदै आइरहेको छ । संस्थाले कार्यालयमा आएका, सुरक्षा आवासमा सेवा लिएका, हटलाइनमा आएका र जिल्लाबाट जनवरीदेखि मार्च २०२६ सम्म अभिलेखिकरण गरिएका तथ्याङ्कलाई त्रैमासिक प्रतिवेदनको रुपमा प्रकाशन गरेको छ । यस समयावधिमा आरेकले आफू कार्यरत विभिन्न जिल्लाहरुबाट कुल ३८७ वटा हिंसाका घटना संकलन गरेको छ र २० वटा राष्ट्रिय स्तरका पत्रपत्रिकाबाट पनि संकलन गरेको छ । गएको त्रैमासिक २९७ वटा हिंसाका घटना दर्ता भएका थिए भने यस त्रैमासिकमा ३८७ वटा घटना अभिलेख भएका छन् जुन आरेकको प्राम्भीक श्रोतबाट मात्र संकलन भएका हुन् ।
कुल ३८७ घटना मध्ये ५२ जनाले सुरक्षा आवासमा बसी सेवा लिएका थिए । उक्त घटनालाई विश्लेषण गर्दा सबै भन्दा बढी घरेलु हिंसाका घटना रहेका छन् जुन कुल ३८७ को ६३.५७ प्रतिशत अर्थात २४६ वटा रहेको छ । त्यस्तै, यौन हिंसा १४.२ प्रतिशत (५५ वटा), सामाजिक हिंसा १२.९ प्रतिशत (५० वटा), हत्या ४.१ प्रतिशत (१६ वटा), हत्याको प्रयास र साइबर अपराध १.०३/१.०३ प्रतिशत अर्थात (४–४ वटा), आत्म हत्या तथा प्रयास १.२९ प्रतिशत (५ वटा), अलपत्र र अन्य ०.७८/०.७८ प्रतिशत (३–३ वटा) मानव वेचविखन एक वटा रहेको छ ।

२. उमेरगत विवरण
उमेर समूहका आधारमा गरिएको विश्लेषणले बलात्कारका घटनाहरु कुनै एक निश्चित उमेर समूहमा सीमित नभई सबै उमेर समूहका महिलाहरु प्रभावित भएको स्पष्ट देखाउँछ तर २६ देखि ३५ वर्ष र १८ देखि २५ वर्ष उमेर समुहका महिला माथि धेरै हिंसा भएको तथ्याङ्कले देखाएको छ । १८ वर्ष मुनिका ११.३७ प्रतिशत (४४ जना), १८ देखि २५ वर्षका २८.४२ प्रतिशत (११० जना), २६ देखि ३५ वर्षका ३०.२३ प्रतिशत (११७ जना), ३६ देखि ४५ वर्षका १७.८३ प्रतिशत (६९ जना), ४६ देखि ५५ वर्षका ७.२४ प्रतिशत (२८ जना), ५६ वर्ष र सो भन्दा माथिका ४.१३ प्रतिशत (१६ जना) र उमेर समुह नखुलेका ३ जना रहेका छन् ।


३. पेसागत अवस्था
पेसाको आधारमा हेर्ने हो भने, धेरै जसो महिला जो घरायसी काम मै संलग्न छन् उनीहरु मथि नै हिंसा धेरै भएको पाइन्छ । घर भित्रै बसी स्याहारमुलक काम गर्ने महिलाको मुल्य नभएको र स्याहार मुलक कामलाई काम नमानेको यस तथ्याङ्कले प्रस्ट देखाउछ । यसको कुल संख्या १३९ छ जुन कुल हिंसाको ३५.९ प्रतिशत हो । त्यस्तै, २५.८ प्रतिशत (१०० जना) कृषी तथा पशुपालनमा संलग्न छन्, ९.८ प्रतिशत (३८ जना) दैनिक ज्यालादारी काममा, १.६ प्रतिशत (६ जना) सरकारी सेवामा, ११.६ प्रतिशत (४५ जना) विद्यार्थी, १.८ प्रतिशत (७ जना) गैर सरकारी सेवामा, ३.१ प्रतिशत (१२ जना) सामान्य व्यवसाय, २.३ प्रतिशत (निजी जागिरमा), ५.४ प्रतिशत (२१ जना) घरेलु कामदारका रुपमा काम गर्दै आइरहेको, १.३÷१.३ प्रतिशत (५ जना) जागीर खोज्दै आइरहेको र अरु ५ जना भने भाडामा अरुको टेम्पो चलाउदै गरेको, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला, निर्वाचित जनप्रतिनिधी र महिला स्वास्थ स्वयंम सेवक रहेको पाइएको छ ।

४. जातीगत अवस्था
जातीगत अवस्थालाई विश्लेषण गर्दा सबै भन्दा बढी मधेशी समुदायका महिला प्रभावित भएको देखिन्छ । तथ्याङ्कको आधारमा भन्ने हो भने कुल घटनाको २४.८ प्रतिशत अर्थात ९६ जना महिला मधेशी समुदायका रहेका छन् । त्यस्तै, ६.२ प्रतिशत (२४ जना) ब्राम्ह्ण/क्षेत्रि तराई समुदायका, १२.१ प्रतिशत (४७ जना) ब्राम्ह्ण/क्षेत्रि पहाडी समुदायका, १५.० प्रतिशत (५८ जना) तराई दलित, २१.४ प्रतिशत (८३ जना) तराई जनजाती, ७.५ प्रतिशत (२९ जना) पहाडे दलित, ६.७ प्रतिशत (२६ जना) पहाडे जनजाती, ५.२ प्रतिशत (२० जना) मुश्लिम र ४ जनाको जातीयता नखुलेको पाईको छ ।


५. हिंसा भएको स्थल
हिंसा भएको स्थललाई हेर्ने हो भने सबै भन्दा बढी हिंसाका घटना महिलाले सुरक्षित ठानेको स्थान अथवा घर भित्रै नै हिंसा भएको पाईएको छ । कुल ३८७ हिंसाको ८५.५ प्रतिशत (३३१ वटा) हिंसा घर भित्रै घटेको पाइएको छ । त्यस्तै, ८.८ प्रतिशत (३४ वटा) हिंसा भने सार्वजनिक स्थल जस्तै बाटो, जंगल, समुदायमा भएको पाइएको छ भने १.६/१.६ प्रतिशत (६–६ वटा) कार्य स्थल र शैक्षिक संस्थामा भएको पाइएको छ । त्यस्तै, १.३ प्रतिशत (५ जना) ले मनोरञ्जन क्षेत्रमा हिंसा भोगेका छन् चाहे काम गर्ने समयमा होस् या ग्राहक भई सेवा लिने क्रममा । ०.५ प्रतिशत (२–२ जना) ले सामाजिक सञ्जाल र भाडामा बस्दै आएको कोठामा त आरोपितको कोठामा हिंसा भोगेका छन् भने ०.३ प्रतिशत (१ जना) ले सार्वजनिक यातायातमा हिंसा भोग्नु परेको अवस्था छ ।
तथ्याङ्कले महिला हिंसा कुनै निश्चित स्थानमा सीमित नभई घर, कार्यस्थल, सार्वजनिक स्थल, शैक्षिक संस्था, सामाजिक सञ्जालदेखि यातायातसम्म फैलिएको संरचनागत समस्या भएको देखाउँछ, जसमा विशेषगरी घरभित्रै उच्च मात्रामा हिंसा हुनु अत्यन्त गम्भीर र चिन्ताजनक पक्ष हो । यसले महिलाका लागि सबैभन्दा सुरक्षित मानिने स्थान नै असुरक्षित बन्दै गएको यथार्थ उजागर गर्छ ।


घटना १ :लक्ष्मी (नाम परिवर्तन), एक ३८ वर्षीय महिला हुन् । उनी कैलाली जिल्लाको एक गाँउपालिकामा बस्छिन् । पढाईले उनी स्नातक तह अध्ययनरत विद्यार्थी हुन् र हाल घरायसी काम मै सलग्न छिन् । फाल्गुनको महिना देश भरी नै चुनावको माहोल थियो । त्यतिकैमा लक्ष्मी सिफारिस लिनका लागि वडामा जान्छिन् तर वडामा उनलाई सिफारिस पत्र दिनुको साटो उल्टै पार्टीको कार्यकर्ता भनि अपमान र गाली गलौंज गरिन्छ । पछि उक्त कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि वडा अध्ययक्षले माफी मागेका थिए ।


घटना २:प्रियंका (नाम परिवर्तन) १६ वर्षीय किशोरी, ठुलो परिवारमा जन्मेकी छोरी हुन् । र्आिथक अवस्था कमजोर भएको घरमा जन्मेकी उनी पढाईमा एकदम मेहनती थिइन् र छात्रवृतिमा पढ्थिन र वार्षिक २५००० नगद समेत छात्रवृतिको रुपमा प्राप्त गर्थिन् । आमा पनि विरामी भइन् अब घरको जिम्मेवारी प्रियंकाको काधमा आयो । ८ कक्षासम्म पढेकी उनी धेरै के नै गर्न सक्थिइन । एकदिन उनी साथीलाई भेट्न विराटनगर जान्छिन् तर उनी घर फर्किइनन् । त्यहीँ एउटा बारमा काम सुरु गरिन् । आपसी समझ्दारीमा काम सुरु गरेकी उनीलाई पछि सञ्चालकले ग्राहकसँग जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने गर्थे । एकदिन विहानै सबैजना सुतेको मौका पारी उनी भागेर घर गईन् तर फेरी उनलाई विभिन्न कुरा गरि बाँकी रहेको पैसा दिन्छु भनी फर्काएर त्यहीँ ल्याइयो र पछि पनि पहिलाको जस्तै व्यवहार गरियो । उनले ग्राहकसँग सम्बन्ध राख्न नमान्दा उनलाई उनको ग्राहकसँगको भिडियो सामाजिक सञ्जालमा राखीदिने दम्की दिई एउटा कोठामा थुनियो र मोबाइल पनि खोसीयो तर ग्राहकलाई पठाउने क्रम भने रोकिएन । थुनेर राखेको ३ दिन पछि उनलाई मोबाइल दिइयो र उनले चिनेको दाईलाई खबर गरी प्रहरीमा जानकारी गरौपछि प्रहरीले उद्धार गरेको हो ।


घटना ३: रमा (परिवर्तित नाम) सानै उमेरमा अभिभावकविहीन भई अनाथालयमा हुर्किइन् । बाल्यकालदेखि नै माया, साथ र सहयोगको अभावमा उनले अत्यन्तै कठिन परिस्थितिमा जीवन बिताइन् । अपरिपक्व उमेरमै, करिब १५ वर्षको उमेरमा, उनको विवाह भयो । तर वैवाहिक जीवन सुरुदेखि नै चुनौतीपूर्ण रह्यो, जहाँ श्रीमानबाट कुटपिट, गालीगलौज तथा विभिन्न प्रकारका दुव्र्यवहारहरू सहनुप¥यो । यसबीच उनको एक छोरी जन्मिइन् । तर छोरीको जन्मपछि पनि हिंसाका घटनाहरू झन् बढ्दै गए। निरन्तर हिंसा सहन नसकी अन्ततः उनी छोरीलाई लिएर अलग बस्न थालिन् । केही वर्षपछि जीवन सुधारिने आशामा उनले दोस्रो विवाह गरिन्। तर दुर्भाग्यवश, दोस्रो वैवाहिक सम्बन्ध पनि सुरक्षित हुन सकेन। दोस्रो श्रीमानले पनि उनीमाथि कुटपिट गर्ने, आर्थिक रूपमा वञ्चित गर्ने तथा आधारभूत आवश्यकताहरूबाट समेत वञ्चित गर्ने जस्ता व्यवहार गर्न थाले, जसले उनको अवस्था झन् जटिल बनायो । यस परिस्थितिबाट बाहिर निस्कने प्रयासस्वरूप उनी वैदेशिक रोजगारीका लागि कुवेत गइन् । त्यहाँ करिब तीन वर्ष काम गरी उनले सानो घर निर्माण गरिन् र आफ्ना चारजना छोराछोरीको पालनपोषण तथा शिक्षामा सहयोग गर्न थालिन् । विदेशबाट फर्किएपछि केही समय पारिवारिक सम्बन्ध सामान्य जस्तो देखिए पनि पछि श्रीमानले लागू पदार्थ सेवन गरी पुनः हिंसात्मक व्यवहार देखाउन थाले। उनीमाथि कुटपिट गर्ने, यातना दिने र ज्यान मार्ने धम्की दिने कार्यहरू निरन्तर हुन थाले । दशैंको समय नजिकिँदै गर्दा, एक दिन घरमै बसिरहेको अवस्थामा श्रीमानले पछाडिबाट खुकुरी प्रहार गरी उनको टाउकोमा गम्भीर चोट पु¥याए र हातमा समेत गहिरो चोट लाग्ने गरी आक्रमण गरे । उक्त घटनापछि उनलाई तत्काल अस्पताल भर्ना गर्नुपरेको थियो, जहाँ करिब एक महिनासम्म उपचार गर्नुप¥यो । उक्त घटनापछि उनले कानुनी प्रक्रिया अगाडि बढाउँदै जाहेरी दर्ता गरिन्, र श्रीमान हाल कारागारमा छन् । तथापि, यसपछि पनि उनले सामाजिक तथा पारिवारिक दबाबको सामना गर्नुपरेको छ। विशेषगरी, “श्रीमानलाई जेल पठाएको” भन्दै परिवार तथा आफन्तबाट गालीगलौज गर्ने र मिलापत्र गर्न दबाब दिने जस्ता व्यवहारहरू निरन्तर भइरहेका छन् ।

निष्कर्षः
माथि उल्लेखित तथ्याङ्कले महिलामाथि हुने हिंसा कुनै एक निश्चित स्थानमा सीमित नभई घर, कार्यस्थल, शैक्षिक संस्था, सार्वजनिक स्थल, डिजिटल प्लेटफर्म तथा यातायातसम्म फैलिएको गम्भीर र संरचनागत सामाजिक समस्याको रूपमा स्थापित भएको स्पष्ट देखाउँछ । । विशेषगरी, अधिकांश घटना घरभित्रै घट्नुले घर—जसलाई सामान्यतया सुरक्षित स्थान मानिन्छ त्यही नै महिलाका लागि नै सबैभन्दा

जोखिमपूर्ण र असुरक्षित स्थान बन्दै गएको यथार्थ उजागर गर्छ । यसले हिंसा प्रायः अपरिचितबाट नभई नजिकका व्यक्ति, परिवारजन वा चिनजानकै व्यक्तिबाट हुने प्रवृत्तिलाई संकेत गरेको छ । यस्तै, शैक्षिक संस्था, कार्यस्थल तथा मनोरञ्जन स्थलहरूमा समेत हिंसाका घटना देखिनुले सार्वजनिक तथा संस्थागत संरचनाहरू पनि पर्याप्त रूपमा सुरक्षित नभएको देखाउँछ । सामाजिक सञ्जाल र सार्वजनिक यातायातजस्ता स्थानहरूमा देखिएको हिंसाले डिजिटल र सार्वजनिक दुवै क्षेत्रहरूमा महिलाको असुरक्षा विस्तार हुँदै गएको बुझिन्छ । समग्रमा, यी तथ्यहरूले महिलाका लागि कुनै पनि स्थान पूर्ण रूपमा सुरक्षित नरहेको यथार्थलाई प्रस्तुत गर्दै, सुरक्षित वातावरण निर्माणका लागि केवल भौतिक संरचना मात्र होइन, सामाजिक सोच, व्यवहार र संस्थागत प्रणालीमा व्यापक परिवर्तन आवश्यक रहेको संकेत गर्दछ ।

Related Posts

“महिलामाथि बहुविवाहका कारण हिंसा बढ्दोे क्रममा”: प्रादेशिक प्रेस विज्ञप्ति (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रबर्धनका लागि निरन्तर

घरदेखि सार्वजनिक स्थलसम्म असुरक्षित महिला : बढ्ढो हिंसाको अवस्था :महिला हिंसा सम्बन्धि त्रैमासिक प्रेस विज्ञप्ति

ओरेकले महिला तथा किशोरी अधिकार स्थापनार्थ तथ्यगत पैरवी गर्दै आइरहेको