महिला पुनर्स्थापना केन्द्र (ओरेक) मानव अधिकार, सामाजिक न्याय र पर्यावरणीय न्यायप्रति प्रतिबद्ध एक महिलावादी संस्था हो । हामी काठमाडौं उपत्यकामा विगत एक हप्तादेखि देखिएको खतरनाक स्तरको वायु प्रदूषण प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउदछैं । काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) ले निरन्तर रूपमा ‘अति अस्वस्थकर’ सीमा नाघेको छ र पटक–पटक ‘खतरनाक’ स्तरमा पुगेको छ । यसले सम्पूर्ण नागरिकहरू, विशेषगरी महिला, बालबालिका, गर्भवती तथा स्तनपान गराउने आमाहरू र जेष्ठ नागरिकहरू र सडकपेटीमा रहेर श्रम गर्ने श्रमिकहरूमा गम्भीर स्वास्थ्य जोखिम सिर्जना गरेको छ ।
नेपालको संविधानमा, २०७२ को धारा ३० अनुसार प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने मौलिक अधिकार प्राप्त छ । यद्यपि, हालको वायु प्रदूषण संकटले यो संवैधानिक अधिकारको उल्लंघन गर्दै जनस्वास्थ्य र कल्याणमा गम्भीर खतरा सिर्जना गरेको छ । काठमाडौँका अस्पतालहरूले हालैको तथ्याङ्कमा श्वासप्रश्वास सम्बन्धी आपत्कालीन घटनाहरूमा वृद्धिको संकेत गरेका छन्, जहाँ विशेष गरी महिला र बालबालिका बढी प्रभावित भएका छन् । बिभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् कि वायु प्रदूषणले महिला र बालबालिकालाई असमान रूपले प्रभावित पार्दछ, जसले श्वासप्रश्वासका रोगहरू, मातृ स्वास्थ्य जटिलताहरू र शिशुहरूको दीर्घकालीन विकास सम्बन्धी समस्याहरूलाई बढाउँछ । उच्च प्रदूषण स्तरको सम्पर्कमा रहेका गर्भवती महिलाहरूलाई समय अगावै प्रसव, कम जन्म तौल भएका बच्चा जन्मिने र अन्य जटिलताहरूको जोखिम बढी हुन्छ, जबकि वृद्ध नागरिक र पहिले नै स्वास्थ्य समस्याहरू भएका व्यक्तिहरूलाई गम्भीर श्वासप्रश्वास र हृदयरोगको उच्च जोखिम छ । यतिमात्र हैन सडकपेटी मै ज्यालादारी गरी जिविका चलाउन वाध्य श्रमिकहरूलाई झन् बढी प्रभाव परेको छ र उनीहरुको यो असरबाट बच्ने विकल्प समेत छैन ।
यतिमात्र हैन, २०२५ को फेव्रुअरी महिनामा काठमाडौँ महानगरपालिकाले परीक्षण गरेका सवारी साधनहरूको ५४ % उत्सर्जन मापदण्ड गर्न सकेनन् । धनी देशबाट नेपालमा पुराना र उच्च उत्सर्जन गर्ने सवारी साधनहरूको आगमनले यस समस्यालाई थप गम्भीर बनाएको छ । १९८९ देखि २०१८ सम्म डिजेलको खपत १३ गुणा वृद्धि भएको छ, जसले प्रदूषणमा अझ वृद्धि गरेको छ । थप रूपमा, पछिल्ला वर्षहरूमा जंगल डढेलोका घटनाहरू बढेका छन्, जसले वायुमण्डलमा विषाक्त ग्याँस र कण पदार्थहरू फैलाउँदै वायु गुणस्तरलाई थप बिगारिरहेको छ ।
वायु प्रदूषणको बढ्दो प्रवृत्तिले तत्काल र दीर्घकालीन हस्तक्षेपको आवश्यकतालाई उजागर गर्दछ । सवारी साधनको उत्सर्जन घटाउने, निर्माणजन्य धूलो नियन्त्रण गर्ने, जंगल डढेलो रोकथाम, र औद्योगिक प्रदूषण सीमित गर्ने जस्ता तात्कालिन उपायहरू बिना ढिलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछ । साथै, शहरी हरित योजना, स्वच्छ
ऊर्जाको प्रवद्र्धन, र क्षेत्रिय सहकार्य लगायतका दीर्घकालीन रणनीतिहरू दिगो वायु गुणस्तर सुधार सुनिश्चित गर्न आवश्यक छन् । वायु प्रदूषणको दीर्घकालीन समाधानका लागि सार्वजनिक सचेतना र सामुदायिक सहभागिता आवश्यक छ । विशेष गरी, सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गर्दै जंगल डढेलो रोकथामलाई प्राथमिकतामा राखी सोही अनुसारका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ किनभने बढ्दो डढेलोका घटनाहरूले वायु गुणस्तरलाई थप बिगार्दै जनस्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गरिरहेका छन् । त्यसैले, यी उपायहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न यँहाहरुसमक्ष माग गर्दछौं ।
वर्तमान संकटले नेपालको दिगो विकास लक्ष्य (क्म्न्) प्राप्त गर्ने प्रतिबद्धतालाई गम्भीर चुनौती दिएको छ, विशेष गरी दिगो विकास लक्ष्य ३ (स्वास्थ्य र कल्याण), ५ (लैंगिक समानता), ११ (दिगो शहर र समुदाय), र १३ (जलवायु परिवर्तन न्यूनीकरण) मा प्रत्यक्ष असर परिरहेको कुरामा ध्यानाकर्षण गराउँदछौं । हाल बढ्दै गएको वायु प्रदूषणलाई सम्बोधन गर्न असफल भएमा जनस्वास्थ्य, आर्थिक उत्पादकता, र वातावरणीय स्थिरता तथा मानव अधिकार प्रति नेपालको विश्वव्यापी प्रतिबद्धतामा नकारात्मक असर पर्ने कुरालाई समेत यँहाहरु माझ प्रश्ट पार्न चाहान्छौं ।
यस गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै, संस्थाले नेपाल सरकारलाई निम्न कदमहरू चाल्न जोडदार माग गर्दछौं ।
१. वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्काल घोषणा गरी तत्काल न्यूनीकरणका उपायहरू कार्यान्वयन गर्ने ।
२. अनुगमन संयन्त्रहरूलाई प्रभावकारी बनाउने र वातावरणीय नियमनहरूलाई कडाइपूर्वक कार्यान्वयन गर्ने ।
३. महिला र सीमान्तकृत समुदायहरूमा वायु प्रदूषणको असमानुपातिक प्रभावलाई सम्बोधन गर्न लैंङ्गिक–उत्तरदायी नीतिहरू लागू गर्ने ।
४. वायु गुणस्तर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रवद्र्धन, र शहरी हरियालीको विस्तार जस्ता दीर्घकालीन, दिगो समाधानहरूमा लगानी गर्ने ।
५. वायु प्रदूषण नियन्त्रण गर्न छिमेकी देशहरूसँग क्षेत्रीय सहकार्य स्थापित गर्ने ।
मानव अधिकार र पर्यावरणीय न्याय प्रति प्रतिबद्ध संस्थाको रूपमा, ओरेक, वायु प्रदूषण न्यूनीकरण तथा नेपाली नागरिकहरूको स्वास्थ्य र कल्याण संरक्षणमा दृढ अडिग छ । हामी सम्बन्धित निकायहरूलाई तत्काल प्रभावकारी कदम चाल्न आह्वान गर्दै, दीर्घकालीन समाधानहरू विकास गर्न सहकार्य गर्न समेत तयार छौं । स्वस्थ वातावरण सबैको अधिकार हो, र यसलाई सुनिश्चित गर्नका लागि आवश्यक कदम तत्काल चाल्न यँहा समक्ष जोडदार माग गर्दछौं ।