Newsroom

ओजस: मनको कुरा खोल्ने सुरक्षित स्थल’ उदयपुरमा उद्घाटन

ओजस: मनको कुरा खोल्ने सुरक्षित स्थल’ उदयपुरमा उद्घाटन

ओजस: मनको कुरा खोल्ने सुरक्षित स्थल’ उदयपुरमा उद्घाटन

जेठ १४, २०८२ बुधबार । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस (मे २८) को अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–९, राजाबासस्थित महिला पुनस्थापना केन्द्र ओरेकमा ‘ओजसः मनको कुरा खोल्ने सुरक्षित स्थल’ को औपचारिक उद्घाटन गरिएको छ ।
मानसिक स्वास्थ्य समस्याको गम्भीरता दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा ओरेकद्वारा सञ्चालित यस केन्द्रले महिलाहरू (र इच्छुक पुरुषहरू) ले आफ्ना मानसिक अनुभव, पीडा र अवस्थाहरू खुला रूपमा अभिव्यक्त गर्न सक्ने सुरक्षित र समावेशी वातावरण उपलब्ध गराउने उद्देश्य राखेको छ।
विश्व स्वास्थ्य संगठन (who) का अनुसार सन् २०२० मा मानसिक स्वास्थ्य समस्याहरूको प्रभाव २५% ले बढेको थियो। त्यस्तै, नेपाल जनसांख्यिकीय तथा स्वास्थ्य सर्वेक्षण (NDHS) २०२२ अनुसार १५–४९ वर्ष उमेर समूहका २२% महिलाहरूमा चिन्ताका लक्षण तथा ५% मा डिप्रेशनका लक्षण देखिएको छ। किशोरी तथा युवामा समेत यस्ता समस्या दिनानुदिन गहिरिँदो अवस्थामा रहेको तथ्याङ्कले देखाउँछ।
‘ओजस’ ले समुदायमै आधारित प्रारम्भिक मनोसामाजिक परामर्श सेवा, मानसिक स्वास्थ्यसम्बन्धी जानकारी र मासिक रूपमा मनोचिकित्सकको सहकार्यमा जटिल केसहरूको मूल्याङ्कन तथा उपचार सेवा प्रदान गर्दै आएको छ। सन् २०२२ देखि २०२४ सम्म ओरेकले १६५६ जनालाई मनोपरामर्श सेवा प्रदान गरिसकेको छ।
कार्यक्रममा ओरेकका संस्थापक अध्यक्ष डा. रेनु अधिकारीले “ओजस केवल एक परियोजना होइन, यो सुनुवाई, सम्बोधन, समझदारी र सशक्तिकरणको दीर्घकालीन प्रक्रिया हो,” भन्दै मानसिक स्वास्थ्यलाई सबैका लागि आधारभूत अधिकारको रूपमा स्थापित गर्न संस्थाले लिएको प्रतिबद्धता प्रस्ट पार्नुभयो। उहाँका अनुसार, ओजस महिलावादी दृष्टिकोणमा आधारित सामाजिक न्याय र सहभागिताको उदाहरणीय प्रयास हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले लागुऔषध दुव्र्यसन समस्या जिल्लामा गम्भीर रूप लिइरहेको बताउँदै यसलाई न्युनिकरण गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले परिवारको स्वास्थ्य सुधारका लागि महिलाको मानसिक तथा शारीरिक स्वास्थ्य सबल हुनु अत्यावश्यक भएकोमा पनि जोड दिनुभयो।
अन्य वक्ताहरूले मानसिक स्वास्थ्यलाई केवल उपचारको विषय नभई मानव अधिकार र सामाजिक सरोकारको मुद्दाको रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरेका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति उपप्रमुख, सुरक्षा निकायका प्रतिनिधि, जिल्ला अस्पतालका मेडिकल अधिकृत, स्थानीय विद्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।

Related Posts

The Digital Frontline: Online Gender-Based Violence as a Barrier to Women’s Political Participation and Democracy in Nepal

By – Manisha Neupane & Apeksha Dahal Digital harassment is

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s