Newsroom

किशोरीका लागि असुरक्षित हुदै सावर्जनीक स्थल

किशोरीका लागि असुरक्षित हुदै सावर्जनीक स्थल

महिला पुनर्स्थापना केन्द्र, -ओरेक- महिला तथा किशोरी अधिकार स्थापनार्थ तथ्यगत पैरवी गर्दै आइरहेको गैरसरकारी संस्था हो । यसका लागि संस्थाले विभिन्न सामुदायिक संस्था, महिला समूह, युवा तथा किशोरी समूह, समान उद्देश्य बोकेका संस्थाहरूसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेखन गरी विश्लेषणात्मक प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिँदै आइरहेको छ। संस्थाले कार्यालयमा आएका, सुरक्षा आवासबाट सेवा लिएका र फिल्डबाट आएका घटनाहरूलाई जनवरी २०२६ देखि मार्च २०२६ सम्म अभिलेखीकरण गरिएका तथ्याङ्कलाई त्रैमासिक प्रतिवेदनको रूपमा प्रकाशन गरेको छ । यस समयावधिमा उदयपुर जिल्लामा घटेका महिला हिंसा सम्बन्धी कुल ५० वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखीकरण भएको छ । जसमा सबैभन्दा बढी ३९ जना महिला घरेलु हिंसाबाट प्रभावित भएको देखिएको छ भने उदयपुर जिल्लामा मात्रै ५ वटा बलात्कार र बलात्कारको प्रयासका घटना भएको देखिएको छ । संस्थाको सम्पर्कमा आएपश्चात् सङ्कलन भएका यी तथ्याङ्क हुन् । घरेलु हिंसालाई निजी र पारिवारिक मामिलाको रूपमा लिने प्रवृत्ति, महिलाले परिवार र बच्चाको जिम्मेवारीको लागि सम्बन्धलाई जोगाउन सधैँ झुक्नु पर्ने र हिंसा सहनुपर्छ भन्ने पितृसत्तात्मक सोच, हिंसालाई बाहिर ल्याउँदा समाज र परिवारबाट भोग्नुपर्ने लाञ्छना र झन्झटिलो न्यायिक प्रक्रिया लगायतका विविध कारणले गर्दा सयौँ हिंसाका घटनाहरू बाहिर आउने अवस्था नभएकाले महिलाहरूलाई सहेर बस्न बाध्य बनाइएको छ।

पछिल्लो केही महिनादेखि उदयपुर जिल्लामा यौन दुर्व्यवहार र बलात्कारका घटनाहरू बढ्दै गएको तथ्य ओरेकको दस्तावेजीकरण गरिएको तथ्याङ्कबाट पुष्टि भएको छ । दस्तावेजीकरण भएका घटनाहरूलाई हेर्दा बालिकाहरू वा युवतीहरू निर्धक्क भएर हिँड्न पाउनुपर्ने बाटो, सवारी साधन या धेरै मानिसको जमघट हुने मेला पर्व जस्ता सार्वजनिक स्थलहरूमा वा सुरक्षित हुनुपर्ने स्थानमा समेत असुरक्षित रहेको अवस्था देखिएको छ । समुदायमा घटेका बलात्कार वा बलात्कारका प्रयास जस्ता जघन्य अपराधका घटनाहरू कानुनी प्रक्रियामा पुग्न नपाई गुपचुप राख्न प्रयासरत रहने वा कानुनी प्रक्रियामा पुगेता पनि पारिवारिक मामिला वा सामान्य घटनाको रूपमा लिई मिलापत्र गर्ने वा उजुरी फिर्ता लिन दबाब दिने गरेको पाइन्छ।

२०२६ जनवरीदेखि मार्चसम्मको ३ महिनाको तथ्याङ्क विश्लेषण गर्दा उदयपुर जिल्लामा लैङ्गिक विभेदमा आधारित हिंसाका कुल ५० वटा घटनाहरू अभिलेखीकरण गरिएको छ, जसमा उदयपुर जिल्लामा मात्र घटेको यौन हिंसाको घटना ५ वटा अर्थात् १० प्रतिशत रहेको छ। जसअन्तर्गत बलात्कारका घटना २ वटा (४०%), सामूहिक बलात्कार २ वटा (४०%) र बलात्कारको प्रयास १ वटा (२०%) रहेका छन्।

सानैमा परिवारको मायाबाट बञ्चित भई हजुरआमाको साथमा हुर्कदै गरेकी किशोरीलाई १६ वर्षको उमेरमा काकीले धेरै दुःख भयो भनेर फकाएर चिनजानको केटासँग विवाह गराइदिनुहुन्छ। विवाह पछि श्रीमान् बैदेशिक रोजगारको लागि जान्छन् र उनी घर सम्हाल्दै बस्छिन्। घरमा नन्द सुत्केरी भएको हुनाले लिन भनेर जाँदा बाटोमा नन्द ज्वाइँसँग भेट हुन्छ र सँगै जान भनेपछि एउटै घर जाने मान्छे सँगै जाउँ न भनेर आउँदा राती भएको र नियमित हिँड्ने बाटो छोडी जंगलको बाटोबाट गाडी लगी सुनसान जंगलमा जबरजस्ती करणी गर्दछ। घरमा सुनाउँदा सासुले छोरीको घर बिग्रन्छ भन्दै कसैलाई नभन्नु र गर्भ रहे फाल्ने भनेको र सासु आमाले नन्दलाई सुनाएपछि नन्दले श्रीमानलाई आरोप लगाएको भनेपछि आफ्नो श्रीमानलाई सुनाइन्छ। श्रीमान्ले उजुरी दिनुपर्छ भनेर ओरेकको सहयोगमा प्रहरीलाई उजुरी दिई कानुनी प्रक्रिया पछि सेफहाउसमा बस्न गएको तर श्रीमानले घरनै गएर बस्नु भनेपछि घर गएको तर सासु र नन्दले उजुरी फिर्ता लिनलाई दबाब दिएको र घरमा श्रीमान्ले पनि अहिले राम्रो व्यवहार गर्न छोडेका छन् उनी घरमा हिसां सहेर बस्न बाध्यभएकी छन्।

१४ वर्षीया किशोरी गोरु चराउनको लागि जान्छिन् र त्यहाँ जाँदा दिदीको पूर्व प्रेमीसँग भेट हुन्छ र दिदीले आफूलाई धोका दिएर अरुसँग विवाह गर्नाले आफूसँग गलत भएको भन्दै गुनासो पोख्छन् र अहिले उनलाई मन पराउने र माया गर्ने गरेको कुरा बताउँछन् र विवाह गर्ने भन्दै फकाउन थाल्दछन् । केटीले पनि माया गर्छु भनेपछि विवाहको लागि सहमति जनाउँछिन् र केटाले शारीरिक सम्बन्धको लागि जोड गर्छ तर केटीले नमाने पछि जबरजस्ती करणी गर्छ र कसैलाई नभन्न भन्छ। त्यसपछि सम्बन्ध फोनमा अघी बढ्छ। अर्को पटक घरमा कोही नभएको बेला केटा केटीको घरमा गई पुनः सम्बन्ध राख्छ र गर्भ रहन जान्छ तर केटाले सो गर्भ आफ्नो नभएको र अहिले अन्य केटीसँग सम्बन्धमा रहेको बताउँछ त्यस पछि केटीले आफ्नो आमा बुवालाई बताउँछिन् र चेकजाँच गर्दा ३ महिना पुगिसकेको हुनाले स्थानीय हस्पिटलमा रिस्क भएपछि धरान रिफर गरि गर्भपतन गराईन्छ केटालाई अदालती प्रक्रियामा लगिएको छ। घर, समाजमा उनीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ।

माथि उल्लिखित घटनाहरु प्रतिनिधिमूलक मात्र हुन्। यस्ता दैनिक रुपमा थाहा नपाई हुने घटनाहरु कैयौं छन् जसले किशोरी तथा बालिकाहरु आज पनि कामले वा अन्य कारणले बाहिर जाँदा स्वतन्त्र भएर हिँडडुल गर्न नसकेको र नजिक र चिनजानकै व्यक्तिबाट पीडित हुनु परेको छ।

निष्कर्ष

उदयपुरमा सन् २०२६ को जनवरीदेखि मार्चसम्म १८ वर्षमुनिका बालिकामाथि भएका हिंसाका घटनाहरू चुनौतीपूर्ण देखिएका छन्। सार्वजनिक स्थानमा बालिकाहरू असुरक्षित छन्, चिनजानकै व्यक्तिबाट दुर्व्यवहार हुने गरेको छ, र कानुनी प्रक्रियामा ढिलाइले समस्या थपेको छ। पारिवारिक दबाबले बालिकाहरू न्यायबाट वञ्चित हुनुपर्छ। संरचनागत समस्याको रूपमा लिएर राज्यले बालिका मैत्री वातावरणमा प्रतिबद्ध हुनुपर्छ ।

Related Posts

“महिलामाथि बहुविवाहका कारण हिंसा बढ्दोे क्रममा”: प्रादेशिक प्रेस विज्ञप्ति (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रबर्धनका लागि निरन्तर

घरदेखि सार्वजनिक स्थलसम्म असुरक्षित महिला : बढ्ढो हिंसाको अवस्था :महिला हिंसा सम्बन्धि त्रैमासिक प्रेस विज्ञप्ति

ओरेकले महिला तथा किशोरी अधिकार स्थापनार्थ तथ्यगत पैरवी गर्दै आइरहेको