Newsroom

घरभित्रै असुरक्षित छन् महिला

घरभित्रै असुरक्षित छन् महिला

विराटनगर । ५२ वर्षीया रमिला (परिवर्तित नाम) सँग वैवाहिक जीवनको पीडादायी अनुभव छ । विवाह भएको दुई वर्षसम्म श्रीमानसँग उनको सम्बन्ध राम्रै थियो, तर समय बित्दै जाँदा सम्बन्धमा खटपट आउन थाल्यो ।

श्रीमान् व्यापार गर्न बाहिर जाने र धेरैजसो मदिरा सेवन गरेर आउने अनि घरमा गालीगलौज गर्न थाले । ‘म सहेरै बस्थेँ । गालीगलौजबाट सुरु भएको हिंसा कुटपिट हुँदै ज्यान लिने प्रयाससम्मको अवस्थामा पुग्यो । कति पटक कुटपिट गर्दा प्रहरीसम्म लग्यौँ, तर उसको व्यवहारमा केही परिवर्तन भएन,’ रमिलाले भनिन् ।

एक दिन भान्सामा काम गर्दै गर्दा उनका श्रीमानले अचानक रोटी बेल्ने बेलनाले हिर्काए । जसले गर्दा उनको मुख सुन्नियो र ओठ काटियो । चिच्याएको सुनेर छिमेकीहरू आए र प्रहरी बोलाए । घरभित्रै हिंसामा पर्ने रमिला एक प्रतिनिधि पात्र हुन् ।

यही परिस्थिति २९ वर्षीय सिर्जना (परिवर्तित नाम) ले पनि भोगिन् । विवाह भएको १ महिना नबित्दै उनका श्रीमानको व्यवहार बदलियो । सिर्जनालाई कोठामा राख्ने, आफू बाहिर अरू महिलाहरूसँग घुम्ने र सम्बन्ध राख्ने गरेका उनका श्रीमानको व्यवहारमा कुनै सुधार आएन ।

वैदेशिक रोजगारीबाट फर्किएपछि पनि उनीहरूको सम्बन्धमा सुधार भएन । हिंसा त्यतिबेला चरम सीमामा पुग्यो, जब सिर्जनाले उनका श्रीमानसँग बच्चा जन्माउने कुरा गर्दा कुटपिट गरी घरबाट निस्केको व्यक्ति आजसम्म सम्पर्कमा आएका छैनन् ।

कोशी प्रदेशका तीन जिल्लाको पछिल्लो एक तथ्याङ्कले सबैभन्दा बढी महिला हिंसा हुने ठाउँ आफ्नै घर रहेको खुलेको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) द्वारा सङ्कलित तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो त्रैमासिक (जनवरीदेखि मार्च) मा कोशी प्रदेशका तीन जिल्ला उदयपुर, सुनसरी र मोरङमा ८४ वटा महिला हिंसाका घटना भएका छन् । जसमध्ये ७१ प्रतिशत घरेलु हिंसाका घटना रहेको उल्लेख छ ।

सबैभन्दा बढी हिंसा (६४ प्रतिशत) श्रीमानबाट भएको छ, जसले परिवारिक संरचनाभित्र हुने हिंसाको गम्भीरतालाई उजागर गर्दछ । उमेरका आधारमा विश्लेषण गर्दा २६–३५ वर्षका महिलाहरू (३४ प्रतिशत) सबैभन्दा बढी हिंसाबाट प्रभावित भएका छन् । त्यसपछि १८ वर्षभन्दा मुनिका किशोरीहरू (२० प्रतिशत) र १९–२५ तथा ३६–४५ वर्ष उमेर समूहका महिलाहरू (१८ प्रतिशत) रहेका छन् ।

पेसागत विवरण हेर्दा, घरायसी काममा संलग्न महिलाहरू (३१ प्रतिशत) र विद्यार्थीहरू (२० प्रतिशत) सबैभन्दा धेरै हिंसाको सिकार भएको देखिन्छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) का संयोजक शोभा बजगाईंको विचारमा ‘घरेलु हुने हिंसा एक गम्भीर सामाजिक समस्या हो, जुन पितृसत्तात्मक सोच र असमान शक्ति सम्बन्धहरूका कारण उत्पन्न हुन्छ ।’

घरेलु हिंसा तथा महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने उनको भनाइ छ । यसका लागि व्यक्तिगत सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने र स्थानीय तहदेखि नै हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May