हालैका दिनहरूमा देशभर बढ्दै गएका आत्मदाह र आत्मदाहका प्रयासका घटनाहरूले सम्पूर्ण समाजलाई स्तब्ध र चिन्तित बनाएको छ । राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको दुःखद निधन, सर्लाहीको गोडैता नगरपालिकामा विवेक मण्डलले गरेको आत्मदाह प्रयास, र काठमाडौंमा आश्विन राउतले घरभित्रै पेट्रोल छर्केर गरेको आत्मदाहको प्रयास लगायतका घटनाहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल प्रहरीकै तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असार २७ गतेसम्म मात्रै देशभर ११ जनाले आत्मदाह वा आत्मदाहको प्रयास गरेका छन । जसमध्ये आठ जनाको मृत्यु भइसकेको छ । यी सबै घटना पृथक् वा संयोगवश भएका होइनन् । यो राज्य, सार्वजनिक सेवा प्रणाली र सामाजिक उत्तरदायित्वमाथिको गम्भीर प्रश्न हो, ब्यक्तिको सम्मानपुर्बक बाँच्न पाउने अधिकारको उल्लघंनको परिणाम हो । कुनै नागरिकले आफ्नो जीवनको मूल्य नै गुमाएको महसुस गर्नुपर्ने अवस्थामा पुग्नु वर्षौंदेखि राज्यबाट भोगिँदै आएको गरिबि, भुमिहिनता, बेवास्ता, लैंगिक तथा जातिय विभेद, उत्पीडन, संरचनागत हिंसा र सामाजिक अन्यायको सञ्चित परिणाम हो । सम्मानपूर्वक बाँच्न पाउने आधारभूत अधिकारका लागि नागरिकले आफ्नै राज्यसँग पटक पटक गुहार माग्नुपर्ने अवस्था कहिलेसम्म रहिरहने हो ? यदि लोकतन्त्रले नै सबैभन्दा पछाडि पारिएका नागरिकलाई सुरक्षा, सम्मान र न्याय दिन सक्दैन भने, हामीले निर्माण गरिरहेको यो शासन व्यवस्था कसका लागि हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।
यसै सन्दर्भमा, यस्ता घटनाहरुको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, विद्यमान सामाजिक असमानताको गहिरो विश्लेषण गरी त्यसलाई सम्बोधन गर्ने रणनिति निर्माण गरि कार्यान्वयन गर्न, र यसका लागि जिम्मेवार निकायहरूको जवाफदेहिता सुनिश्चित गर्न हामी नेपाल सरकारसँग दृढतापूर्वक माग गर्दछौं । साथै, नागरिकको तत्काल आवश्यकता जस्तै आवास, रोजगारी, सामाजिक सुरक्षा र आधारभूत आवश्यकताहरु सम्बोधन गर्ने ठोस र आपतकालीन कार्यक्रमहरू तुरुन्तै ल्याई सम्मानपुवक बाँच्न पाउने अधिकारको तत्काल सुनिचिचतता गर्न हामी माग गर्दछौँ । यसैगरि राज्यले कहिले पनि नागरिकको असन्तुष्टि व्यक्त गर्ने अधिकारमाथि अंकुश लगाउने काम नगर्न हामी सरकार समक्ष अनुरोध गर्दछौँ । आवाज उठाउने अधिकार नै लोकतन्त्रको मर्म हो ।
सुनिता मैनाली
कार्यकारी निर्देशक