लोकतन्त्रका लागि दबाब अभियानले भन्यो– महिलाको अधिकार संकुचित गर्ने प्रयास हुँदैछ

  • News

लोकतन्त्रका लागि दबाब अभियानले भन्यो– महिलाको अधिकार संकुचित गर्ने प्रयास हुँदैछ

अभियानकी संयोजक डा. रेणु अधिकारी

गणतन्त्र दिवसको अवसर पारेर ‘लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान’ सुरु गरिएको छ। यस अभियानमा ३० भन्दा बढी संघ–संस्था, व्यक्ति, समूह, सञ्जाल र सञ्चारकर्मीहरूको संयुक्त सहभागिता रहने छ।

अभियानकी संयोजक डा. रेणु अधिकारीले लोकतन्त्रलाई सुदृढ गर्दै महिला अधिकारको सुनिश्चितताका लागि दबाब सिर्जना गर्नु आवश्यक रहेको बताएकी छन्।

अभियानले लोकतन्त्रलाई जीवनशैलीको रूपमा स्वीकार गर्दै नागरिकको स्वतन्त्रता, सम्मान, सहभागिता र समानताको अनुभूति सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै महिलाको प्रतिनिधित्व, सहभागिता र अधिकारमा महत्वपूर्ण उपलब्धीहरू हासिल भए पनि व्यवहारमा ती अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अभियानको भनाइ छ।

राजनीतिक दलहरूले महिला अधिकारका विषयहरू कार्यान्वयनमा प्रतिबद्धता जनाए पनि कानुन संशोधनको नाममा बनेका कानुनलाई झन खुम्च्याउने र अधिकारहरू संकुचित गर्ने प्रयास भइरहेको अभियानले जनाएको छ। अभियानले लोकतान्त्रिक व्यवस्थामा देखिएका विकृतिहरूको समाधान लोकतन्त्रको अन्त्य होइन, रूपान्तरणसहितको लोकतन्त्र हो भन्ने धारणा राखेको छ।

त्यस्तै अभियानले सम्पूर्ण राजनीतिक दलहरूलाई लोकतन्त्रलाई जोगाउन, यसलाई बलियो बनाउन र यस विरोधी गतिविधि हुन नदिन सचेत रहन आग्रह गरेको छ। देशमा बढिरहेको भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न बिनादबाब र प्रभाव सरकारका सबै अंगहरुले प्रभावकारी रूपमा काम गर्न सके मात्र लोकतन्त्रप्रति नागरिकको विश्वास बढ्ने अभियानको विश्वास छ।

अभियानले सम्पूर्ण नागरिक समाज, राजनीतिक नेतृत्व र सबै नागरिकहरूलाई सामाजिक न्यायमा आधारित लोकतन्त्रलाई जीवन्त बनाउने यस अभियानमा ऐक्यवद्धताका लागि आह्वान समेत गरेको छ।

https://nepalkhabar.com/society/238300-2025-5-29-13-51-12?fbclid=IwY2xjawK0ph5leHRuA2FlbQIxMQBicmlkE

Back to Top