Newsroom

स्याहारमूलक काम : आर्थिक सशक्तीकरण कि अन्याय ?

स्याहारमूलक काम : आर्थिक सशक्तीकरण कि अन्याय ?

स्याहारमूलक काम : आर्थिक सशक्तीकरण कि अन्याय ?

हालका दिनहरूमा स्याहारमूलक कामबारे विभिन्न सार्वजनिक मञ्चमा बहस भइरहेको पाइन्छ । यस्ता छलफलमा प्रायः महिलालाई नै केन्द्रमा राखिन्छ । स्याहार र हेरचाहको काम जो–कोहीले गर्न सक्ने र गर्नुपर्ने मानवीय आवश्यकता हो तर इतिहासदेखि नै यो जिम्मेवारी विशेषतः महिलामाथि थोपरिएको छ । 

पितृसत्ताको उदयसँगै महिलाको गतिशीलता नियन्त्रण गर्न र उनीहरूलाई घरभित्रै सीमित राख्न स्याहार कार्यलाई महिलाको ‘प्राकृतिक’ भूमिका भनेर व्याख्या गरियो । यसरी निर्माण गरिएको सामाजिक भूमिकाले महिलालाई सामाजिक, राजनीतिक र आर्थिक जीवनबाट अलग राख्ने रणनीतिका रूपमा काम गर्‍यो । साथै, जातमा आधारित श्रम विभाजनले दलित समुदायलाई अझ जोखिमपूर्ण र अरू कसैले पनि गर्न नचाहने स्याहारसम्बन्धी पेसामा सीमित ग‍र्‍यो । यस पेसालाई जातकै आधारमा कम सम्मानित भनेर धारणा निर्माण गरियो ।

तर विडम्बना ! आज स्याहारमूलक कामबारे भइरहेका बहसमा यस्ता ऐतिहासिक, लैंगिक र जातीय सन्दर्भ प्रायः उपेक्षित छन् । अहिलेको बहस बजार–केन्द्रित र संरक्षणवादी दृष्टिकोणले प्रभावित देखिन्छ । जसले संरचनात्मक असमानताको पुनरुत्पादनलाई चुनौती दिनुको सट्टा स्याहारमूलक काममा संलग्न श्रमिकको जोखिम र बजार आपूर्तिको चुनौतीलाई बहसको मुख्य विषय बनाएको छ । तर के जात, वर्ग र लिंगका आधारमा विद्यमान श्रमको व्याख्या र दृष्टिकोणमा संरचनागत रूपान्तरण नभएसम्म स्याहारमूलक काममा संलग्न श्रमिकहरूको सवालको सम्बोधन होला ?

स्याहारमूलक काम भन्नाले कुनै व्यक्तिको आवश्यकतालाई पूरा गर्न गरिने सबै प्रकारका शारीरिक तथा भावनात्मक श्रमलाई जनाउँछ । जस्तै : बालबालिका, वृद्ध, बिरामी वा अपांगता भएका व्यक्ति स्याहारकार्य, सरसफाइ, खाना पकाउने, भाँडा माझ्ने, कपडा धुनेलगायत अन्य घरेलु श्रम आदि । यो काम पारिश्रमिकसहित वा बिनापारिश्रमिक दुवै हुन सक्छ र यसले व्यक्तिगत तथा सामाजिक जीवनलाई अघि बढाउनका लागि अत्यावश्यक भूमिका खेल्छ । यस्ता काम घरेलु तथा व्यावसायिक दुवै परिवेशमा सञ्चालन हुन्छन् । यद्यपि यी कार्य आर्थिक प्रणालीमा योगदान पुर्‍याउने महत्त्वपूर्ण श्रम भए पनि वर्तमान आर्थिक र सामाजिक संरचनामा यी कामको उचित मूल्यांकन गरिएको हुँदैन ।

हाल नवउदारवादी पुँजीवादी बजार व्यवस्थाले आफ्नो नाफाका लागि महिलालाई घरबाहिर श्रम बजारमा सहभागी गराएको छ । तर, यो व्यवस्थाले कहिल्यै पनि श्रमका आधारमा हुने विभेदका अन्तर्निहित कारण खोतल्दैन । त्यसैले श्रमिक वर्गको पुनरुत्पादनका लागि आवश्यक स्याहारमूलक श्रम अझै पनि परम्परागत लैंगिक भूमिकामा आधारित रहिरहेको छ । चाहे यो श्रम महिलाले आफ्नो घरमै बिनापारिश्रमिक प्रदान गरून् वा अन्यका घरमा वा बाहिर कतै पारिश्रमिकसहित । यसको चरित्रमा खासै परिवर्तन आएको छैन ।

घरबाहिरको श्रमबजारमा सहभागी भए पनि महिलाको घरभित्रको भूमिकामा भने कुनै उल्लेखनीय कटौती देखिँदैन । अर्थात् उनीहरूद्वारा बहन गरिने स्याहार र घरेलु कामकाजको दोहोरो भार कायमै छ ।

यति बेला विश्वव्यापी रूपमा स्याहारमूलक श्रमको मूल्य र मान्यतासम्बन्धी बहस चलिरहेका भए तापनि यस श्रममा संलग्न श्रमिक महिलाको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्य स्थितिबारे पर्याप्त बहस भएको पाइँदैन । महिलावादी विश्लेषणले यस अवस्थालाई पितृसत्तात्मक संरचना र पुँजीवादी श्रम व्यवस्थाबीचको मिलनबिन्दुका रूपमा हेर्छ, जहाँ महिलाको श्रम अदृश्य, बिनापारिश्रमिक वा न्यून पारिश्रमिकमा सीमित रहन्छ । एक तथ्यांकअनुसार नेपालमा करिब २ लाख घरेलु कामदार रहेको अनुमान छ, जसमा अधिकांश महिला छन् ।

श्रमशक्ति सर्वेक्षण २०७४/७५ अनुसार करिब ७३ हजार नेपाली निजी घरमा घरेलु सहयोगीका रूपमा कार्यरत छन्, जसमा ८८ प्रतिशत महिला छन् । स्याहारमूलक कामलाई अनौपचारिकतामा नै सीमित गर्दा यी श्रमिक श्रमसम्बन्धी सुरक्षाबाट वञ्चित छन् । घरेलु कामदारले घरपरिवार सञ्चालन गर्न अत्यावश्यक सेवा प्रदान गर्छन् तर अधिकांशले वर्ग, जाति, जातीयता वा लिंगका आधारमा हुने हिंसा र विभेदको जोखिममा काम गरिरहेका छन् । समाज र अर्थतन्त्रमा योगदान दिँदै अत्यावश्यक सेवा प्रदान गर्दासमेत उनीहरू कानुनी तथा सामाजिक सुरक्षाबाट बारम्बार बहिष्कृत हुनुपरेको छ । धेरैजसो देशमा घरपरिवारलाई औपचारिक कार्यस्थलका रूपमा मान्यता दिइएको छैन, जसका कारण घरेलु श्रमिकलाई श्रमिकका रूपमा औपचारिक पहिचान प्राप्त हुन सकेको छैन ।

सर्वेक्षणका केही तथ्यांकले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रूपमा गएका महिलाले शोषणपूर्ण अवस्थामा स्याहारसुसारको काम गरिरहेको देखाउँछ । राजनीतिक भूगोलका प्राध्यापक डा. आयुष्मान भगतका अनुसार अनधिकृत माध्यमबाट बाहिरिने नेपाली श्रमिक महिला सरकारी अभिलेखमा छैनन् । आफ्ना नागरिकको बिनासर्त सुरक्षा गर्नुको साटो नेपाल सरकारले उनीहरूलाई बेवास्ता गरिरहेको छ । राज्यको यस्तो रणनीतिले अन्तर्राष्ट्रिय श्रम बजारमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिलाको सुरक्षामा चुनौती थपिरहेको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) को एक तथ्यांकअनुसार सबैभन्दा धेरै घरेलु कामकाजमा संलग्न महिला हिंसामा पर्ने गरेका छन् । २०८१ मा ९ सय ११ वटा घरेलु हिंसाका घटनामा ४२ प्रतिशत आफ्नै घरभित्र स्याहारमूलक काम गर्ने महिला हिंसामा परेका छन् ।

श्रम ऐन, २०७४ ले घरेलु कामदारलाई श्रमिकका रूपमा मान्यता दियो । तर कति जना घरेलु श्रमिक यसबाट लाभान्वित छन् ? के ऐनमा उल्लेखित बुँदाले पूर्ण रूपमा यी श्रमिकको अधिकार सुनिश्चित गर्न सक्छ ? अहिलेको अवस्थामा सक्दैन र सकेको छैन । सामाजिक सुरक्षा ऐन, २०७५ अन्तर्गत उनीहरू अझै समावेश हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सी १८९ अझै नेपालले अनुमोदन गरेको छैन, जसले न्यूनतम पारिश्रमिक, सुरक्षित कार्य अवस्था र श्रमिक अधिकार सुनिश्चितका लागि राज्य पक्षलाई जवाफदेही बनाउँछ ।

स्याहारमूलक काम : आर्थिक सशक्तीकरण कि अन्याय ?

https://ekantipur.com/opinion/2025/07/08/care-work-economic-empowerment-or-injustice-58-04.html?fbcl

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May