Newsroom

स्वतन्त्रताभित्रको बन्धन

स्वतन्त्रताभित्रको बन्धन

आमाको विवाह पन्ध्र वर्षको उमेरमा भयो । करिब २० जनाको संयुक्त परीवारमा बुहारी भएर भित्रिनु जीवनलाई काँडाको बाटोमा हिँडाउनुसरह थियो । जीवनमा धेरै नै उतारचढाव आए । कहिले सन्तान वियोग त कहिले आफ्नै परिवारबाट विभिन्न लाञ्छना र आरोप । यी सबै सहजरूपमा स्विकारिन् । जे दिन्छन् त्यही खाइन् । जस्तो दिए त्यस्तै लाइन् । जसरी बोल भने त्यसरी नै बोलिन् । कहिलेकाहीँ विद्रोह गर्न तम्सिएकी पनी हुन् । घर छोड्नेसम्म पनि विचार गरिन् । बाँचेका सन्तानसहित आफैँलाई नै मार्ने पनि विचार गरिन् । तर, यस्ता सबै विचार विचारमै सीमित रहे । अनि दोष दिन लागिन् आफ्नै भाग्यलाई – छैठीमा लेखिएको मैले चाहेर किन परिवर्तन हुन्थ्या र ? । यही हो उनको अहिलेसम्मकै निष्कर्ष । 

आमालाई लिखित वा मौखिकरुपमा कसैले पनी सहेर बस, तिमीले आफ्नो बारेमा सोच्न हुँदैन, पाउँदिनौ, छोरा नजन्माए तिमी घरबाट निकालीन्छौ वा सौता भित्रिन्छे भनेन । तर, व्यवहार, हाउभाउ, चलिआएको रीतले उनलाई हरप्रहर यिनै कुरा भनीरहे । फलस्वरुप, छोराको आशमा एकपछि अर्की छोरी जन्माइरहिन्, आफ्नो शरीरभन्दा घरको कामलाई नै महत्त्व दिइन् । दस जना सन्तानमध्ये ४ जनामात्र जीवित छौँ । शरीरमा दम, एलर्जी, उच्च रक्तचाप लागेका छन् । यी सबै भोगाइ उनका इच्छा थिए कि बाध्यता उनीलाई नै थाहा होला । अहिले भन्छिन्  – महिला भएपछि सहनु नै पर्छ, कहाँ पुरुषसरह बन्न सकिन्छ ? उनले परिवार र समाजबाट यही सिकिन् । के उनकोे इच्छा नै यही हो ? की समय र परिस्थितिले विभेद र हिंसालाई सहज ठानेर सहन सिकाएको हो ? परम्परा, मान्यता, परिवार र समाजको इज्जत धान्ने निःशुल्क र अन्यायपूर्ण ठेक्का भिराइएकी उनलाई के आफ्नो इच्छा के हो भन्ने पनि थाहा होला र ? 

र, यो प्रश्न हजारौँ आमाहरुलाई पनि !  

महिलाको इच्छा के हो ? ती इच्छा कस्ता देखिन्छन् ? के ती इच्छा स्वतन्त्र हुन्छन् ? यी प्रश्न मभित्र दौडन थाले ? झल्याँस्स एउटा कुरा सम्झेँ । एकजना नाम चलेकी महिला मोडलले आफ्नो अंग प्रर्दशन नितान्त व्यक्तिगत इच्छा र स्वतन्त्रतामा पर्छ भनेको । उनले त्यतिभन्दा मलाई सोध्न मन लागेको थियो – के त्यो नितान्त व्यक्तिगत खुसी र सहजताको लागि थियो ? या उनको शरीरका हरेक अंग पुजीवादी बजारमा विक्रीका लागि रहेको दृष्टान्तको पुष्टि थियो ? म आफैँलाई पनि छोटा लुगा लगाउन मनपर्छ, आरामदायी लाग्छ र लगाउँछु पनि । तर, मेरो शरीरलाई कुनै वस्तुजस्तो बजारमा झुन्याइएको मन पर्दैनमात्र भने । उनले केही पनि प्रतिक्रिया दिइनन् । सायद, मेरो कुरा मन परेन । 

महिला कस्तो देखिनुपर्छ भन्ने निर्धारण कसले गर्छ ? के महिलालाई त्यो स्वतन्त्रता छ ? महिलाले लाउने, खाने, हिँड्ने, बोल्ने, काम गर्ने, आफ्नो यौनिकताका बारेमा छलफल गर्ने आदि मामिलामा अलिखित कानुन भनिने सामाजिक मूल्य मान्यताले निर्धारण गर्छन् । महिलालाई यी मान्यताले आफ्नो प्राकृतिक सुन्दरतामा विश्वास गर्नबाटै वन्चित गरीदिएको छ ।

त्यसैले कस्मेटिक्स बजारमा अर्बौंको व्यापार फस्टाउँदो छ । फेसनको नाममा कथित छनोटको नारीवादी खेती पनि उत्तिकै फस्टाउँदो छ । कुनै महिला आफ्नो छाला कालो छ भन्दै ‘ह्वाइट्निङ’ क्रिमको प्रयोग गर्छिन् च्वाइसको नाममा । उनलाई सीकाइएको छ – सुन्दर त गोरो छाला, रातो ओठ, काला, लामो परेला, छिनेको कम्मर पो हो । महिलालाई कति अमानवीय वस्तु बनाइदिएको छ भने उनीहरु संसारमा काला, राता, गहुँगोरा वर्णका मानिस पनि छन् । प्रत्येक व्यक्ति आफैँमा सुन्दर र विशेष छ भन्ने बिर्सन्छन् । 

पितृसत्ताले आफ्नो हैकम टिकाइराख्न महिलालाई उसकै अनुकूलताको नीति नीयम बनाएर बाँधिदियो । समयसँगै पितृसत्ताको रणनीति पनि बदलिएको छ । अहिले आधुनिकीकरणका नाममा सुन्दरताको परिभाषासहित महिलालाई पुँजीवादको जंजिरले बाँधेर स्वतन्त्रताको खोल ओडाएको छ । हामीलाई बाहिरबाट हेर्दा लाग्छ आहा हामी कति स्वतन्त्र, हाम्रो त विश्व बजारसम्म पहुँच छ । हामी सशक्त भयौँ, आर्थिकरुपमा सक्षम भयाैँ ।

तर, के हामीले त्यो कथित स्वतन्त्रताको खोलभित्रको जन्जीरलाई देख्न सकेका छौँ ? की झलक्क परेको बोक्रामै रमाइरहेका हौँ ?  महिलालाई वस्तुसरह बजारमा बिकाएर, आधुनिकीकरणसँगै कथित स्वतन्त्रता र इच्छाको नारा घन्काइरहँदा आउनुस् एकपटक छलफल गरौँ । के साँच्चै हामी महिलाहरु आफ्नो इच्छा र स्वतन्त्रतामा बाँचेका छौँ ? के हाम्रो शरीर, विचार र सुन्दरताको पिरभाषा हामी आफैँले लेख्न सकेका छौँ त ? 

-सुनिता मैनाली

(मैनाली ओरेक उदयपुर शाखाको जिल्ला संयोजक हुनुहुन्छ)

बाह्रखरीमा प्रकाशित

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May