Newsroom

महिलालाई हेर्ने विभेदकारी सोचका कारण बलात्कारका घटनाहरुमा बढोत्तरी, एक महिनामा २७ जना महिला तथा बालिका बलात्कृत, ३ जनाको बलात्कार पछि हत्या

महिलालाई हेर्ने विभेदकारी सोचका कारण बलात्कारका घटनाहरुमा बढोत्तरी, एक महिनामा २७ जना महिला तथा बालिका बलात्कृत, ३ जनाको बलात्कार पछि हत्या

महिला तथा किशोरी माथि हुने बलात्कार मानव अधिकार हनन्को जघन्य र निकृष्ट अपराधको स्वरुप हो । पितृसत्तात्मक सामाजिक संरचनाले महिलाको शरीरलाई नियन्त्रण गर्ने एउटा महत्वपूर्ण हतियारको रुपमा बलात्कारलाई लिएको पाईन्छ । महिलाहरुको समान अस्तित्वलाई नस्वीकारी उनीहरुलाई उपभोग्य वस्तुको रुपमा प्रयोग गरिएकै कारण हरेक उमेर समूहकामहिला तथा किशोरीहरु दिनप्रतिदिन बलात्कारबाट प्रभावित हुन बाध्य छन् । नेपालको संविधानले बलात्कार लगायत महिलामाथि हुने सबैप्रकारका हिंसालाई कानुनी रुपमा दण्डनीय बनाई प्रभावित÷पीडितले कानुन बमोजिम न्याय तथा क्षतिपुर्ति प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । यद्यपि हिंसाका घटनाहरु नियन्त्रण हुन सकिरहेको छैन । महिलाको शरीर महिलाको आफ्नो नियन्त्रणमा नहुनु, यौनिकतामाथिको नियन्त्रण, परिवारको इज्जत जोगाउने जिम्मा महिलालाई दिईनु, महिलाको पहिचानलाई उनको यौनिकतासँग दाँजेर हेर्ने सोच समाजमा विद्यमान बढ्दो “बलात्कार” का घटनाका लागि जिम्मेवार देखिन्छन् । 

बलात्कारको अवस्था 
यस महिनामा अभिलेखीकरण भएका जम्मा १२७ वटा महिला हिंसाका घटनाहरुमध्ये २१ प्रतिशत (२७ वटा) बलात्कार र २ प्रतिशत (३ वटा) बलात्कारको प्रयास भएको पाईएको छ । जसमध्ये ३ जनाको बलात्कार पछि हत्या भएको पाइएको छ । यसरी भएका बलात्कारका घटनाहरुका प्रमुख जिम्मेबार आफ्ना वरपरका छिमेकीहरु ४८ प्रतिशत र आफुले आत्मिय मानेका साथीहरु १५ प्रतिशत रहेका छन् । बलात्कार भएका मध्ये सबैभन्दा बढी ५६ प्रतिशत १६ बर्षभन्दा कम उमेर समूहका बालिका तथा किशोरीहरु र १७ देखि २५ बर्ष उमेर समुहका महिलाहरु २६ प्रतिशत महिलाहरु रहेका छन् ।
 

केही प्रतिनिधिमुलक घटनाहरु
मोरङ्ग जिल्लामा हालसालै एक ११ वर्षिया बालिकाको विद्यालयबाट एक्लै घर फर्किरहेको अवस्थामाबाट बलात्कृत भई उनको हत्या गरिएको छ  । बालिका हराएको दुइदिन पछि परिवारले खोजी गर्दै जाँदा नग्न रुपमा खाल्डोमा पुरिएको अवस्थामा उनको शव फेला पर्र्यो । शब खोज्ने क्रममै प्रहरीले स्थानीय आरोपितलाई शंका गरी सोधपुछ गर्दा बलात्कारपछि कसैलाइ नभन्नु भनेर धाकधम्की दिएर छोडे पनि बालिकाले बाबा लाई भनिदिन्छु भनेपछि उनको घाँटी थिचेर हत्या गरी खाल्डोमा पुरेको बयान दिएको थियो । अहिले मृृतक बालिकाको पोष्टमार्टम गरि दाहसंस्कार गरिएको छ । 

यस्तै सुनसरी जिल्लामा ७ बर्षीया बालिकालाई गत पुष महिनामा छिमेककै दाइले मोवाइल चलाउन दिन्छु भन्दै कोठामा लगेर बलात्कार गरे । बालिकालाई कसैलाई भनेमा मार्ने धम्की दिएकोले घटनाको बारेमा कसैलाई थाहा भएन । त्यसको केही पछि पुनः उनी बलात्कृत भइन् । पीडकले धम्की दिएको भएपनि डराउँदै आफ्नो दाइ सहित आफ्नो हजुुरआमालाई पनि घटनाको बारेमा सुनाइन् । घटनाको बारेमा थाहा पाइसकेपछि पनि समाजमा लाज हुने, इज्जत जाने डरले  घटना परिवारले घटनालाई गुपचुपमा नै राख्यो । घटना भएको केही समय पछि बालिकालाई दिशा पिसाव गर्न गाहे हुने, बालिका बेलाबेलामा झस्किइरहने, मलाई मारिदिन्छु भनेको छ भन्दै चिच्याउने गरेपछि बालिकाको आमाले उक्त घटनाको बारेमा थाहा पाइन् । परिवारमा सल्लाह गरेर २०७८ फागुन १९ गते किटानी जाहेरी दिए पछि पीडकले प्रहरीमा आत्मसमर्पण गरे । अहिले पीडकलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानको म्याद थप गरि थुनामा राखिएको छ । प्रहरीमा घटना पुगेको कुरा प्रभावित बालिकाको बिमारी बुवाले थाहा पाएर झुण्डीएर आत्महत्या गरेपछि परिवार थप तनाव र दुःखमा छ । 

फागुन २७ गते मोरङ्गमा १८ महिनाकी बालिका साँझ ५ बजे घरबाट हराइन । बालिकाकी आमा र छिमेकीहरुले खोजी गर्दा साँझ ६ः३० बजे घर नजिकैको झाडीमा बालिका नग्न र अचेत अवस्थामा फेला परिन् । बालिकाको टाउको सुनिएको थियो भने गुप्ताङंबाट रगत बगिरहेको थियो । बालिकालाई नजिकैको अस्पतालमा उपचार सम्भव नभएपछि नोबेल अस्पतालमा लगियो । राती १२ वजे बालिकाको उपचारको क्रममा ज्यान गयो । 
लमजुङ्गकी १७ बर्षीय गायिकाले कलाकार पलशाहले विभिन्न प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको भनी जाहेरी दर्ता गरेपछि कानुनले अपराध भनिसकेको कुरामा अनुसन्धान भइरहँदा पनि पीडकको पक्षमा प्रदर्शन तथा  सामाजिक सञ्जालमा भएको बहसले हिंसा प्रभावितले आफुमाथि भएको हिंसालाई बाहिर ल्याउँदा खेप्नुपर्ने लाञ्छना, डर, धाक धम्कीले हाम्रो समाजको कुरुप तस्वीरलाई छर्लङ्ग पारेको छ । 

क) हिँसाका प्रकार

निष्कर्श 
सभ्य समाजको कलंकको रुपमा रहेको बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु न्यूनिकरण हुनुको साटो झनै भयानक प्रकृतिका घटनाहरु घटिरहेका छन् । सदियाँैदेखि समाजमा जरो गाडेर बसेका सामाजिक मूल्य मान्यता र हानिकारक अभ्यासहरुले प्रत्यक्ष र परोक्ष रुपमा यस्ता अपराध जन्माउन सहयोग गरिरहेका छन्। जसका कारण  महिला भनेको पुरुषको भोगको साधन हो भन्ने तथ्य प्रमाणित गरिरहेका छन् जो एउटा सभ्य समाजका लागि लज्जास्पद विषय हो । तसर्थ जबसम्म यस्ता जकडिएर रहेका परम्परागत अभ्यास भत्कँदैनन् र महिलाको आफ्नो शरीरमाथि आफ्नै नियन्त्रण रहने वातावरण तयार हुँदैन तबसम्म महिलामाथि हुने हिंसा अन्त्य हुन सक्दैन ।

लुभराज न्यौपाने
कार्यकारी निर्देशक
ओरेक

Related Posts

यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकार सुनिश्चितताका लागि ध्यानाकर्षण

सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यका सुनिश्चतता महिला तथा किशोरीको शारीरिक

बढ्दो मूल्यवृद्धिको प्रभाव : श्रमिक अधिकारका लागि राज्यको तत्काल सम्बोधनको माग

प्रेस विज्ञप्ति हाल मध्यपूर्वी एसियामा भइरहेको यूद्धका कारण विश्व अर्थतन्त्र