Newsroom

महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९

महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९

महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन श्रावण, २०७९

ओरेकले श्रावण महिनामा संस्थामा अभिलेखिकरण गरेका (१९०) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४७) तथ्याङ्कका आधारमा जम्मा २३७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको छ । हरेक महिना झैँ श्रावण महिनामा अभिलेखीकरण भएका घटनालाई विश्लेषण गर्दा समग्रमा १२६ जना (५३ प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । यसैगरी ५० जना (२३ प्रतिशत ) माथि यौन हिंसा र २६ जना (११ प्रतिशत) माथि सामाजिक हिंसा भएको पाइएको छ । घटनालाई हेर्दा १८ देखी २५ बर्ष उमेर समुहका  महिला (२९ प्रतिशत) माथि सबैभन्दा बढी हिंसा भएको तथ्याङ्क संकलन भएको छ ।  यो तथ्याङ्कबाट प्रत्येक व्यक्तिका लागि घर सुरक्षित हुनुपर्नेमा घरभित्रै महिला तथा बालिका अझ बढी असुरक्षित र हिंसाको जोखिममा रहेको देखाउँछ ।

क) महिला तथा बालिकामाथि हिसाको प्रकार

यसैगरी श्रावण महिनामा ओरेकले अभिलेखीकरण गरेको घटनाको तथ्याङ्कलाई विश्लेषण गर्दा १२६ जना (५३ प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको छ । ३२ जना (१४ प्रतिशत­­­) महिला तथा बालबालिका माथि बलात्कार भएको घटना तथ्याङ्ककले देखाउँछ । साथै २ जनालाई बलात्कार पछि हत्या र १ जनालाई बोसीकोसीको आरोप लगाई हत्या गरिएको छ । त्यस्तै ११ वटा (५ प्रतिशत) यौन दुव्र्यवहारको घटना, ९ वटा (४ प्रतिशत) हत्याको घटना, ६ वटा आत्महत्या र ३ वटा (१ प्रतिशत) मानव वेचविखन जस्तो जधन्य अपराधको घटना संकलन भएको छ । ।

ख) हिंसा प्रभावितको उमेरको आधारमा वर्गीकरण

यस महिनामा संकलन भएका जम्मा हिंसाका घटनामध्ये ६८ जना (२९ प्रतिशत­­­) १८  देखि २५ वर्ष उमेर समुह रहेका छन् । त्यसैगरि ६३ जना (२७ प्रतिशत)­­­ २६ देखि ३५ वर्ष,४१ जना (१७ प्रतिशत)­­­ १८ वर्ष भन्दा कम उमेर समूहका, २७ जना (११ प्रतिशत­­) ­३६ देखि ४५ बर्ष, १५ जना  (६ प्रतिशत­­­) ४६ देखि ५५ वर्ष सम्म, १२ जना (५ प्रतिशत­)­­ ५६ वर्ष भन्दा माथि रहेका छन् ।

ग) हिंसा प्रभावितको आरोेपितसँगको सम्बन्ध

तथ्याङ्क  हेर्दा प्राय जस्तो घटना श्रीमान् (४४ प्रतिशत­ )र (१५ प्रतिशत­) परिवारका सदस्यबाट भएको पाइन्छ । त्यसै गरि ३१ जना (१३ प्रतिशत) छिमेकि, १४ जना (६ प्रतिशत प्रेमी) , १३ जना (५ प्रतिशत) अपरिचित व्यक्ति र ५ जना (२ प्रतिशत) समुदायका सदस्यबाट हिंसा भएको पाइएको छ । कुनै पनि व्यक्तिको सबैभन्दा नजिकको सम्बन्ध श्रीमान/परिवार सदस्य हो । यद्यपि, तथ्याङ्क हेर्दा आधा भन्दा बढी (५९ प्रतिशत­) हिंसा श्रीमान र परिवारका सदस्यहरूद्वारा प्रभावितले सामना गरिरहेका छन् । घरलाई सबैभन्दा सुरक्षित ठाँउ मानिन्छ तर यो तथ्याङ्कले महिलाहरु घरमा असुरक्षित रहेको प्रमाणित गरेको छ ।

घ) आरोपित र उमेर (श्रावण—२०७९)

यस्तै, हिंसामा संलग्न आरोपितको उमेरको विश्लेषण गर्दा श्रावण महिनामा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ७८ जना (२९ प्रतिशत) युवा पुरुषहरु रहेका छन् । यसैगरी ६७ जना (२५ प्रतिशत) ३६ देखि ४५ उमेर समुहका, ४१ जना (१५ प्रतिशत) १८ देखि २५ वर्ष उमेर समुहका, ३९ जना (१४ प्रतिशत) ४६ देखि ५५ वर्ष भन्दा उमेर समुहका र ५ जना (२ प्रतिशत) १८ बर्षभन्दा कम उमेर समूहका हिंसामा संलग्न रहेको पाइएको छ भने ३१ जनाको (११ प्रतिशत) आरोपितहरुको उमेर समुह थाहा नभएका तथ्याङ्क संकलन भएको छ ।

निश्कर्षः

घर परिवार जहाँ महिलाले सबैभन्दा बढी सुरक्षा पाउनु पर्ने हो त्यस ठाउँ नै सबैभन्दा बढी असुरक्षित देखिएको छ । महिलाहरु आफ्नै श्रीमान् र परिवारका सदस्यहरुबाट हिंसाभोग्न बाध्य भएका छन् । महिलाको मानव अधिकारको सम्मान गर्दै घरभित्र वा घरपरिवारसँग जोडिएर हुने हिंसाजन्य कार्यलाई दण्डनीय बनाई त्यस्ता कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसाबाट प्रभावितलाई संरक्षण गरी न्याय प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले घरेलु हिंसा तथा कसुर सजायँ ऐन, २०६६ र नियमावली २०६७ समेत निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । तथापि समाजका हरेक संरचनामा स्थापित विभेदपूर्ण सामाजिक सोच र महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोणमा व्यक्तिगत देखि नीतिगत तहसम्म परिवर्तन हुन नसकेको कारण घरेलु हिंसा तथा महिलामाथि हुने हिंसाले निरन्तरता पाउँदै आएको छ । तसर्थ प्रत्येक नागरिकको हिंसा रहित वातावरणमा सुरक्षित र सम्मानित तवरले जीवन जिउन पाउने अधिकार सुनिश्चितताका लागि राज्य थप संवेदनशील हुनु जरुरी छ ।

Related Posts

बढ्दो विद्युतीय अपराध सम्बन्धी प्रादेशिक प्रेस विज्ञप्ती (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर

“घरभित्रै असुरक्षितः महिलामाथि बढ्दो हिंसा र महिला हत्याका घटना”

लैैङ्गिक हिंसा सम्बन्धी त्रैमासिक प्रेस विज्ञप्ति, २०८२ माघ पृष्ठभूमि महिलामाथि