Newsroom

घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै

घरभित्रै असुरक्षित महिला : ६६.६७ प्रतिशत हिंसा घर भित्रै

लैंङ्गिक हिंसा सम्बन्धी सुनसरी जिल्लाको प्रेस विज्ञप्ती २०८३, बैशाख

ओरेक महिला तथा किशोरी अधिकार स्थापनार्थ (अधिकारका लागी स्थापनाकाल देखि) तथ्यगत पैरवी गर्दै आइरहेको गैरसरकारी संस्था हो । यसका लागि संस्थाले विभिन्न सामुदायिक संस्था, महिला समुह, युवा तथा किशोरी समुहसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेखन गरी विश्लेषणात्मक प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिदै आइरहेको छ । संस्थाले सुनसरी जिल्लामा जनवरी देखि मार्च २०२६ सम्म कार्यालयमा आएका घटनाहरु अभिलेखिकरण गरि तथ्याङ्कलाई त्रैमासिक प्रतिवेदनको रुपमा प्रकाशन गरेको छ । यस समयावधिमा सुनसरी जिल्लामा महिला हिंसा सम्बन्धी कुल ३३ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखिकरण भएको छ । यस त्रैमासिक अवधिमा ओरकमा कुल ३८७ वटा हिंसाका घटना संकलन भएका छन् र कोशी प्रदेशमा मात्रै १२७ वटा जसमा सुनसरी जिल्लाको ३३ वटा घटना रहेका छन् । सुनसरी जिल्लाको घटनाहरुलाई विश्लेषण गर्दा सबै भन्दा बढी ६६.६७ प्रतिशत ( २२ ) महिला घरेलु हिंसाबाट प्रभावित भएको देखिएकोे छ ।
यो त सार्वजनिक भएका तथ्याङ्क मात्र हुन् । घरेलु हिंसालाई निजि मामिलाको रुपमा लिने प्रवृत्तिका कारण महिलाले हिंसा सहनुपर्छ भन्ने पितृसत्तात्मक सोच, हिंसालाई बाहिर ल्याउँदा समाज र परिवारबाट भोग्नुपर्ने लाञ्छना, झन्झटिलो न्यायिक प्रक्रिया लगायतका विविध कारणले कयौँघटनाहरु बाहिर ल्याउन नसकी हिंसालाई महिलाहरु दबाएर राख्न बाध्य छन् । कतिपय हिंसा त अझै पनि सहनुपर्छ भन्ने मान्यताको कारण सहेर बस्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । घरेलु हिंसा अपराध तथा सजाय ऐन, २०६६ अनुसार घरेलु हिंसालाई कानुनी अपराधको रुपमा परिभाषित गरी पीडितलाई सुरक्षा तथा न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गरेता पनि धेरै घटनाहरु लाज, डर र सामाजिक दबाबका कारण बाहिर आउन सकेको छैन् ।


क) महिला हिंसाको प्रकार:


ओरेकले सङ्कलन गरेको सुनसरी जिल्लामा जनवरी देखि मार्च सम्ममा जम्मा ३३ वटा महिला हिंसाका घटनाहरू सङ्कलन गरिएकोमा, घरेलु हिंसा सबैभन्दा बढी (२२ वटा घटना, ६६.६७ प्रतिशत) रहेको छ । जस मध्ये १५ वटा शारीरिक हिंसा र ७ वटा मानसिक तथा भावनात्मक हिंसाका घटना समावेश छन् । त्यस पश्चात् सामाजिक हिंसा दोस्रो स्थानमा रहेको छ । जसमा ६ वटा (१८.१८ प्रतिशत) घटना दर्ता भएका छन् । त्यसैगरी यौन हिंसा जसमा यौनजन्य दुव्र्यवहार ४ वटा (१२.१२ प्रतिशत) रहेको छ भने अन्य हिंसा अन्तर्गत साइबर हिंसा १ वटा (३.०३ प्रतिशत) रहेको छ । उक्त घटनामा प्रभावितहरूलाई इन्टरनेटको माध्यमबाट मानसिक हिंसाभएकोे पाइएको छ् । महिलामाथि हुने हिंसाको प्रकृति हेर्दा घरेलु हिंसा निरन्तर अग्रस्थानमा रहँदै आएको छ । महिलाको शरीरलाई परिवार वा श्रीमान्को सम्पत्तिको रुपमा हेर्ने पितृसत्तात्मक सोचको कारणले गर्दा आज पनि महिलाको आफ्नै शरीरमाथिको स्व–निर्णय स्थापित हुन सकेको छैन । यसैले, परिवार महिलाका जुन महिलाका लागि सबैभन्दा सुरक्षित स्थल हुनुपर्ने हो, त्यही स्थान महिलामाथि हिंसा हुने प्रमुख स्थलका रुपमा देखा परेको छ ।


केहि प्रतिनिधिमुलक घटनाहरु
:
घटना १ः
रमा (परिवर्तित नाम) सानै उमेरमा अभिभावकविहीन भई अनाथालयमा हुर्किइन् । बाल्यकालदेखि नै माया, साथ र सहयोगको अभावमा उनले अत्यन्तै कठिन परिस्थितिमा जीवन बिताइन् । अपरिपक्व उमेरमै, करिब १५ वर्षको उमेरमा, उनको विवाह भयो । तर वैवाहिक जीवन सुरुदेखि नै चुनौतीपूर्ण रह्यो, जहाँ श्रीमानबाट कुटपिट, गालीगलौज तथा विभिन्न प्रकारका दुव्र्यवहारहरू सहनुप¥यो । यसबीच उनको एक छोरी जन्मिइन् । तर छोरीको जन्मपछि पनि हिंसाका घटनाहरू झन् बढ्दै गए। निरन्तर हिंसा सहन नसकी अन्ततः उनी छोरीलाई लिएर अलग बस्न थालिन् । केही वर्षपछि जीवन सुधारिने आशामा उनले दोस्रो विवाह गरिन्। तर दुर्भाग्यवश, दोस्रो वैवाहिक सम्बन्ध पनि सुरक्षित हुन सकेन। दोस्रो श्रीमानले पनि उनीमाथि कुटपिट गर्ने, आर्थिक रूपमा वञ्चित गर्ने तथा आधारभूत आवश्यकताहरूबाट समेत वञ्चित गर्ने जस्ता व्यवहार गर्न थाले, जसले उनको अवस्था झन् जटिल बनायो । यस परिस्थितिबाट बाहिर निस्कने प्रयासस्वरूप उनी वैदेशिक रोजगारीका लागि कुवेत गइन् । त्यहाँ करिब तीन वर्ष काम गरी उनले सानो घर निर्माण गरिन् र आफ्ना चारजना छोराछोरीको पालनपोषण तथा शिक्षामा सहयोग गर्न थालिन् । विदेशबाट फर्किएपछि केही समय पारिवारिक सम्बन्ध सामान्य जस्तो देखिए पनि पछि श्रीमानले लागू पदार्थ सेवन गरी पुनः हिंसात्मक व्यवहार देखाउन थाले। उनीमाथि कुटपिट गर्ने, यातना दिने र ज्यान मार्ने धम्की दिने कार्यहरू निरन्तर हुन थाले । दशैंको समय नजिकिँदै गर्दा, एक दिन घरमै बसिरहेको अवस्थामा श्रीमानले पछाडिबाट खुकुरी प्रहार गरी उनको टाउकोमा गम्भीर चोट पु¥याए र हातमा समेत गहिरो चोट लाग्ने गरी आक्रमण गरे । उक्त घटनापछि उनलाई तत्काल अस्पताल भर्ना गर्नुपरेको थियो, जहाँ करिब एक महिनासम्म उपचार गर्नुप¥यो । उक्त घटनापछि उनले कानुनी प्रक्रिया अगाडि बढाउँदै जाहेरी दर्ता गरिन्, र श्रीमान हाल कारागारमा छन् । तथापि, यसपछि पनि उनले सामाजिक तथा पारिवारिक दबाबको सामना गर्नुपरेको छ। विशेषगरी, “श्रीमानलाई जेल पठाएको” भन्दै परिवार तथा आफन्तबाट गालीगलौज गर्ने र मिलापत्र गर्न दबाब दिने जस्ता व्यवहारहरू निरन्तर भइरहेका छन् ।

घटना २ः सीता (परिवर्तित नाम) को विवाह सामाजिक परम्पराअनुसार आफ्नै गाउँमा भएको हो । विवाहपछि श्रीमानले नियमित रूपमा मदिरा सेवन गर्ने र उनीप्रति राम्रो व्यवहार नगर्ने अवस्था रह्यो । विवाहको दुई वर्षपछि उनकी छोरी जन्मिइन् । सुत्केरी अवस्थामा समेत उनले सानो बच्चालाई घरमा छोडेर प्लाइ कम्पनी तथा घर निर्माण कार्यमा श्रम गरी परिवार चलाउने जिम्मेवारी निर्वाह गरिन् । समयसँगै छोराछोरी विद्यालय जान थाले, र हाल छोरी होटल व्यवस्थापन अध्ययन गरिरहेकी छन्, जसका लागि आवश्यक खर्च सीताले आफ्नै मेहनतबाट जुटाएकी हुन् । तथापि, वैवाहिक जीवनको २२ वर्ष बितिसक्दा पनि श्रीमानको व्यवहारमा सुधार आउनुको सट्टा झन् क्रूर बन्दै गएको छ । उनले दैनिक रूपमा मदिरा सेवन गरी कुटपिट गर्ने, गालीगलौज गर्ने तथा छोरीमाथि समेत हिंसा गर्ने गरेका छन् । केही समयअघि श्रीमानले कुटपिट गर्दा उनको खुट्टा भाँचिएको थियो, र हाल उनी उपचारको क्रममा माइतमा बसिरहेकी छन् । यसबीच प्रहरीमार्फत पटक–पटक छलफल र कागजी प्रक्रिया भए पनि कुनै सुधार नआएपछि, छोराछोरीको सल्लाहअनुसार उनले सम्बन्ध विच्छेदका लागि कानुनी सहयोग खोज्दै ओरेकमा सम्पर्क आएर, उनले आवश्यक मनोसामाजिक परामर्श तथा कानुनी सहयोग लिइरहेकी छन् ।

ख) उमेरगत विवरण

उमेरका आधारमा विश्लेषण गर्दा सबैभन्दा बढि १९ देखि २५ वर्षको ४३ प्रतिशत , क्रमशः २६ देखि ३५ वर्षको २७ प्रतिशत , ३६ देखि ४५ वर्षको २१ प्रतिशत, १८ वर्ष भन्दा मुनि ६ प्रतिशत (जना) र ४६ देखि ५५ सम्म ३ प्रतिशत रहेको देखाउछ । यस तथ्यांकबाट यो स्पष्ट हुन्छ कि सबैभन्दा बढी १९ देखि ३५ वर्ष उमेर समुहका बढी प्रभावित रहेको छन् । यसबाट यो स्पष्ट हुन्छ कि सबैभन्दा बढी प्रभावित १९ देखि ३५ वर्षका महिलाहरु जम्मा ७० प्रतिशत हिंसा भोग्न बाध्य रहेका छन् । यस समय र्सिजनशील र उत्पादनशील उमेर भएकोले गर्दा उनीहरु शारीरिक, मानसिक विभिन्न हिंसा भोग्नुपरेको अवस्था छ ।जसले गर्दा उनीहरु आयआर्जनका कामबाट पनि बन्चित रहेका छन् ।

ग) प्रभावित र आरोपित बिचको सम्बन्ध


प्रभावित र आरोपित बीचको सम्बन्धलाई विश्लेषण गर्दा सबैभन्दा बढी हिंसा श्रीमान्बाट भएको छ, जसमा कुल घटनाहरू मध्ये ४८.४८ प्रतिशत ( १६ जना) रहेका छन् । यसले पारिवारिक संरचना भित्र हुने हिंसाको गम्भीरतालाई उजागर गर्दछ । परिवारका सदस्यबाट ७ जना (२१.२१ प्रतिशत) घटनाहरू, छिमेकीबाट हुने हिंसाका घटनाहरू ४ वटा (१२.१२ प्रतिशत )र अपरिचित व्यक्तिहरूबाट २ वटा (६.०६ प्रतिशत ) घटनाहरू रहेका छन् भने समुदायका सदस्यबाट जम्मा ३ वटा ( ९.०९ प्रतिशत )शक्ति सम्बन्ध असन्तुलन र विवाह संरचना समानतामुलक नहुँदा नजिकको व्यक्तिबाट नै महिलाहरुले हिंसा भोगिरहनुपरेको छ ।


घ. पेशागत विवरण


प्रभावितहरुको पेशागत विवरण हेर्दा, महिला जो घरायसी काममा बढी सम्लग्न छन्, उनीहरु माथि बढी हिंसा भएको पाइएको छ । तथ्याङ्कको आधारमा हेर्दा, ४२.४२ प्रतिशत (१४ जना) घरायसी काममा संलग्न भएका छन् भने ३३.३३ प्रतिशत( ११ जना) प्रभावित कृषि तथा पशुपालनमा सम्लग्न छन् । त्यसैगरी, ९.०९ प्रतिशत (३ जना) दैनिक ज्यालादारी मज्दुरी, ३.०३ प्रतिशत (१ जना) निजी क्षेत्र, ६.०६ प्रतिशत विद्यार्थी, ६.०६ प्रतिशत २ घरेलु कामदारमा सम्लग्न महिलामाथि हिंसा भएको पाइएको छ ।


निष्कर्ष तथा विश्लेषणः


घरेलु हिंसा नेपाली समाजमा गहिरो रूपमा जरा गाडेको एक गम्भीर सामाजिक समस्या हो, जसको मूल कारण पितृसत्तात्मक सोच, लैङ्गिक असमानता तथा असन्तुलित शक्ति सम्बन्धहरूमा आधारित सामाजिक संरचना रहेको छ । प्रस्तुत तथ्याङ्क तथा घटनाहरूको विश्लेषणले स्पष्ट रूपमा देखाउँछ कि महिला हिंसाका प्रमुख कारणहरू पारिवारिक तथा वैवाहिक संरचनाभित्र विद्यमान असमान सम्बन्धहरू नै हुन् । उत्पादनशील उमेर समूहभित्रै एक पक्ष हिंसात्मक व्यवहारमा संलग्न हुने र अर्को पक्ष निरन्तर हिंसा सहन बाध्य हुने अवस्था देखिनु अत्यन्त चिन्ताजनक छ । विशेषगरी, महिलाका लागि सबैभन्दा सुरक्षित मानिने घरभित्रै हिंसा हुने अवस्था कायम रहनु मानव अधिकार तथा सामाजिक न्यायको गम्भीर उल्लङ्घन हो । यसले महिलाहरू सुरक्षित, सम्मानजनक र स्वतन्त्र जीवनयापन गर्नबाट वञ्चित भइरहेको यथार्थ उजागर गर्दछ ।


पितृसत्तात्मक सोच र व्यवहारले महिलाको शरीरलाई नियन्त्रणयोग्य वस्तुका रूपमा हेर्ने र उनीहरूको श्रमलाई बिना पारिश्रमिक स्याहारमूलक काममा सीमित गर्ने प्रवृत्ति दीर्घकालदेखि संस्थागत रूपमा स्थापित छ । महिलाले गर्ने श्रमलाई आर्थिक मूल्यसँग नजोडिनु र सामाजिक मान्यता नपाउनु पनि हिंसाको संरचनात्मक कारणका रूपमा देखा परेको छ ।


यस सन्दर्भमा, घरेलु हिंसा तथा महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि केवल एकल प्रयास पर्याप्त हुँदैन । यसको समाधानका लागि व्यक्तिगत सोच, पारिवारिक व्यवहार, र महिलालाई हेर्ने विभेदकारी दृष्टिकाण र विभेदकारी सामाजिक मान्यतामा परिवर्तन आवश्यक छ । साथै, स्थानीय तहदेखि नै प्रत्येक घरलाई सुरक्षित बनाउने उद्देश्यले दीर्घकालीन अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ । अतः महिलाको श्रमको मान्यता, आर्थिक तथा सामाजिक पहिचान, र आफ्नो शरीरमाथि स्व–अधिकार सुनिश्चित नभएसम्म लैङ्गिक हिंसाको अन्त्य सम्भव छैन । त्यसैले, समाजमा स्थापित लैङ्गिक भूमिकाहरू परिवर्तन गर्ने अभियान, प्रभावकारी नीतिगत व्यवस्था, र तिनको कडाइका साथ कार्यान्वयन अपरिहार्य छ ।

Related Posts

“महिलामाथि बहुविवाहका कारण हिंसा बढ्दोे क्रममा”: प्रादेशिक प्रेस विज्ञप्ति (सुदूरपश्चिम प्रदेश)

ओरेकले महिला तथा किशोरीहरुको अधिकार संरक्षण र प्रबर्धनका लागि निरन्तर

घरदेखि सार्वजनिक स्थलसम्म असुरक्षित महिला : बढ्ढो हिंसाको अवस्था :महिला हिंसा सम्बन्धि त्रैमासिक प्रेस विज्ञप्ति

ओरेकले महिला तथा किशोरी अधिकार स्थापनार्थ तथ्यगत पैरवी गर्दै आइरहेको