महिला तथा किशोरी माथि हुने बलात्कार मानव अधिकार हनन्को जघन्य र निकृष्ट अपराध हो । पितृसत्तात्मक सामाजिक संरचनाले महिलाको शरीरलाई नियन्त्रण गर्ने एउटा महत्वपूर्ण हतियारको रुपमा बलात्कारलाई लिएको पाइन्छ । अमेरिकी लेखक सुसन ब्राउन मिलरले बलात्कारलाई, “पुरुषले महिलामाथि नियन्त्रण कायम राख्न प्रयोग गर्ने सामाजिक अस्त्र” को रूपमा परिभाषित गरेकी छन् । महिलाहरुको समान अस्तित्वलाई स्वीकार नगरी उनीहरुलाई उपभोग्य वस्तुको रुपमा प्रयोग गरिएकै कारण हरेक उमेर समूहका महिला तथा किशोरीहरु दिन प्रतिदिन बलात्कृत भइरहेका छन् । नेपालको संविधानले बलात्कार लगायत महिलामाथि हुने सबै प्रकारका हिंसालाई कानुनी रुपमा दण्डनीय बनाई प्रभावित÷पीडितले कानुन बमोजिम न्याय तथा क्षतिपुर्ति प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । यद्यपि हिंसाका घटनाहरु नियन्त्रण हुन सकिरहेको छैन । महिलाको शरीर माथिको नियन्त्रण महिलामा नै हुन नसक्नु, महिलाको यौनिकता माथि नियन्त्रण कायम गर्नु, परिवारको इज्जत जोगाउने जिम्मा महिलाको हो भन्ने बुझाई बनाइनु, महिलाको पहिचानलाई उनको यौनिकतासँग दाँजेर हेर्ने सोच समाजमा विद्यमान रहनु नै बलात्कारका घटना बढाउनका लागि जिम्मेवार देखिन्छन् ।
ओरेकले राष्ट्रिय स्तर र प्रादेशिक रुपमा त्रैमासिक रुपमा तथ्याङ्कहरुलाई विश्लेषण गरी प्रतिवेदन प्रकाशन गर्ने गरेको छ र यस वर्षदेिख जिल्ला स्तरमा पनि त्रैमासिक रुपमा तथ्याङ्कहरुलाई विश्लेषण गरी प्रतिवेदन प्रकाशन गर्न सुरु गरेको छ । यसैको सुरुवात स्वरुप कोशी प्रदेशको मोरङ्ग जिल्लामा २०२६ जनवरी देखि मार्चमा संकलन भएका हिंसाका घटनालाई विश्लेषण गरी विश्लेणात्मक प्रतिवेदन तयार गरी प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । आरेकमा यस त्रैमासिकमा जम्मा ४०७ वटा हिंसाका घटना संकलन भएका छन् जस्मा २० वटा राष्ट्रिय स्तरका पत्रपत्रिकाबाट र बाँकी ३८७ वटा जिल्लामा कार्यरत कर्मचारीहरुबाट । कुल ३८७ घटना मध्ये १२३ वटा कोशी प्रदेशका घटना रहेका छन् जस्मा मोरङ्गको ३७ वटा घटना रहेका छन् ।
आरेककै तथ्याङ्कमा हेर्ने हो भने अनुपातमा यस अवधिमा यौन हिंसा पछिल्लो त्रैमासिक भन्दा दोब्बर बढेको पाइएको छ । अघिल्लो त्रैमासिकमा कुल हिंसाको २२.४ प्रतिशत थियो भने यस त्रैमासिकमा ४५.९५ प्रतिशत पुगेको छ । कुल ३७ मध्ये १७ वटा यौन हिंसाका घटनाका रहेका छन् । कुल हिंसाको ४५ प्रतिशत (१७ वटा) यौन हिंसाका घटना हुनु कुनै सामान्य कुरा होइन, यो एकदम जटिल विषय हो जस्मा सम्बन्धित निकायले अझ गम्भीर र संवेदनशील भएर काम गर्नु पर्ने अवस्था छ । त्यती मात्र नभएर, यौन हिंसाको शिकार सबै भन्दा बढी १८ वर्ष मुनीका किशोरी रहेको तथ्याङ्कले पुष्टि गरेको छ । त्यस्तै, घरेलु हिंसा ३२.४३ प्रतिशत (१२ वटा), सामाजिक हिंसा ५.४१ प्रतिशत (२ वटा), हत्या र हत्याको प्रयास (२ वटा), आत्महत्याको प्रयास र साइबर अपराध २.७०/२.७० प्रतिशत (१/१ वटा) र अलपत्र ५.४१ प्रतिशत (२ वटा) घटना रहेका छन् ।

यौन हिंसाको बहुपक्षीय विश्लेषण
१. यौन हिंसाका प्रकार
अभिलेखिकरण भएका १७ वटा यौन हिंसा मध्ये ५६.२५ प्रतिशत (९ वटा) बलात्कारका घटना छन् भने १८.७५ प्रतिशत (३ वटा) बलात्कारको प्रयास रहेका छन् । त्यस्तै बाँकी १२.५०÷१२.५० प्रतिशत अर्थात २—२ वटा यौन दुव्र्यवहार र वैवाहिक बलात्कार रहेका छन् ।

२. उमेरगत विवरण
उमेर समूहका आधारमा गरिएको विश्लेषणले बलात्कारका घटनाहरु कुनै एक निश्चित उमेर समूहमा सीमित नभई सबै उमेर समूहका महिलाहरु प्रभावित भएको स्पष्ट देखाउँछ तर १८ वर्षमुनिका बालिका बलात्कारको सिकार बढी भएको पाइएको छ जुन कुल हिंसाको ५८.८२ प्रतिशत (१० वटा) रहेको छ । त्यस्तैगरी, १८ देखि २५ र ३६ देखि ३५ वर्ष उमेर समुहका १७.६५ प्रतिशत (३ –३ वटा) र ४६ देखि ५५ वर्ष उमेर समुहका (१ जना) महिला रहेको पुष्टि भएको छ । सबै उमेर समुहका महिला बलात्कारमा परेको तथ्याङ्कले बलात्कार कुनै एक निश्चित उमेर समुहमा सीमित नभई बालिका देखि वृद्ध महिलासम्म सबै नै प्रभावित भएको अवस्था छ र विशेषगरी १८ वर्षमुनीका बालिका बलात्कारको उच्च जोखिममा रहेको यस तथ्याङ्कले देखाएको छ ।

३. घटना भएको स्थल
घटनाको बारेमा थप विश्लेषण गर्दा धेरै जसो घटना घर भित्र नै घट्ने गरेको पाइएको छ । कुल १७ घटनाको ७६.४७ प्रतिशत (१३ वटा) घटना घर भित्रै घटेको छ भने बाँकी २–२ वटा घटना सार्वजनिक स्थलमा र मनोरञ्जन क्षेत्र जस्तै डान्सबार, दोहोरी साँझमा घटेको पाइएको छ ।

४. आरोपितसँगको सम्बन्ध
प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा बालिकाहरु अपरिचत भन्दा आफ्नै छिमेकी र प्रेमीबाट बलात्कार भएको पाइएको छ । यसैगरी छिमेकीले विभिन्न प्रलोभन तथा धाग धम्की देखाई बालिकाहरुको बलात्कार गरेको पाइएको छ । कुल १७ यौन हिंसा मध्ये ३.९४ प्रतिशत (५–५ जना) प्रभावितको छिमेकी र प्रेमी रहेको रहेका छन् भने १.५७ प्रतिशत (२ जना) श्रीमान्, ०.७९ प्रतिशत अविवाहित तर सँगै बसेका, ३.१५ प्रतिशत (४ जना) अन्य सम्बन्धित व्यक्ति (सेवा प्रदायक, प्रेमी, साथी) रहेका छन् ।

घटना १
गायत्री (नाम परिवर्तन), एक ७ वर्षीय बालिका हुन् । उनी यु.के.जी कक्षामा पढ्छिन् । विदाको दिन साथीभाईसँग खेलेर उनी साथीहरुसँग मिठाई किन्न पसल जान्छिन् । पसलेले उनको हात समाती फकाउन थाल्छन् र आफ्नो घर लिएर जान्छन् । घरमा लगी आफ्नो कोठामा ढोका बन्द गरि गायत्रीलाई बलात्कार गर्छन् । बलात्कार गरिसकेपछि त्यो कुरा कसैलाई नभन्न र यदि भनेमा कुट्ने धम्की दिन्छन् । गायत्रीले पनि यो कुरा घरमा कसैलाई भन्दिनन् , उनी आरोपितको घर र पसल भएको बाटो हिड्न मान्न छोडिन् र ति व्यक्ति देखि डर लाग्छ भन्थिन् । एकदिन बेलुका पिसाब गर्न बस्दा यौनीमा सहन नसक्ने पिडा भएपछि उनले आमालाई यौनआङ्गको दुखाईबारे बताइन् र आमाले धेरैबेर फकाई फुलाई गरी सुधपुछ गरेपछि उन्ले आफूमाथि घटेको घटनाबारे बताइन् ।
घटना २
१६ बर्षीया प्रियंका (नाम परिवर्तन) को जन्म आर्थिक अवस्था कमजोर भएको परिवारमा भयो । आर्थिक अवस्था कमजोर भएको घरमा जन्मेकी उनी पढाईमा एकदम मिहिनेती थिइन् र छात्रवृतिमा पढ्थिन् र वार्षिक २५००० नगद समेत छात्रवृतिको रुपमा प्राप्त गर्थिन् । बुवा ट्रयाक्टर चालक थिए तर ढाडमा समस्या भएका कारण उनी घरमै बस्थे । आमा पनि विरामी भइन् अब घरको जिम्मेवारी प्रियंकाको काधमा आयो । ८ कक्षा सम्म पढेकी उनी धेरै के नै गर्न सक्थिन । एकदिन उनी साथीलाई भेट्न विराटनगर जान्छिन्, तर घर फर्किइनन् त्यही एउटा बारमा काम सुरु गरिन् । आपसी समझ्दारीमा काम सुरु गरेकी उनलाई सञ्चालकले ग्राहकहरु संग शारीरिक सम्बन्ध राख्न लगाउँथे । । एकदिन विहानै सबैजना सुतेको मौका पारी उनी भागेर घर गईन् तर फेरी उनलाई विभिन्न कुरा गरि बाँकी रहेको पैसा दिन्छु भनी फर्काएर त्यहीँ ल्याइयो र ल्याएपछि पहिलाको जस्तै व्यवहार गरियो । उनले ग्राहकसँग सम्बन्ध राख्न नमान्दो ग्राहकसँगको भिडियो सामाजिक सञ्जालमा राखिदिने धम्की दिई एउटा कोठामा थुनियो र मोबाइल पनि खोसीयो तर ग्राहकलाई पठाउने क्रम भने रोकिएन । थुनेर राखेको ३ दिन पछि उनलाई मोबाइल दिइयो र उनले चिनेको दाईलाई खबर गरी प्रहरीमा जानकारी गरौपछि प्रहरीले उद्धार गरेको हो ।
घटना ३
घरको आर्थिक अवस्था कमजोर भएका कारण रमिता (परिवर्तित नाम) वैदेशिक रोजगारमा गएकी थिइ्न । श्रीमान् जाँडरक्सी खाने र केही काम नगर्ने भएका कारण रमिताले आफ्नी दुई छोरीलाई नन्दको घरमा राखेर गइन् । उनीहरु फुपुको घरमा बसी पढिरहेका थिए । परीक्षा चलिरहेको बेला थियो दुवै दिदी बहिनी छिमेकी सानीआमाको घरमा गएर पढिरहेका थिए, त्यक्तिकैमा छिमेकी (आरोपित) आँउछन् र घरमा को को छन् भनी सोध्छन् । घरमा कोही नभएको र नानीहरु एक्लै भएको थाहा पाएपछि माया गरे जस्तो गरी आरोपितले उनीहरुको संवेदनशील अंगमा हात राख्छन् । उनीहरु डराएर चिच्याउछन्, चिच्याएको आवाज सुनेपछि वरपरका मान्छे भेला हुन्छन् रआरोपितलाई समात्छन् । उनीहरुलफुपुलाई खबर गरी आरोपितलाई पनि उनकै जिम्मा लगाँछन् र पछि फुपुले आरोपित विरुद्द प्रहरीमा उजुरी दिन्छिन् ।
निष्कर्षः
माथि उल्लेख गरिएका केही घटनाहरु प्रतिनिधिमुलक घटना मात्र हुन् जुन सार्वजनिक भएका छन्, यस्ता कैंयौ घटना भित्रै लुकेर बसेका छन् । कति घर परिवारबिच, कति प्रहरी चौकीमा त कती प्रभावित भित्रै । अचेल भने केहि घटनाहरु दैनिक यस्ता घटना बाहिर आउन थालेका छन् । अहिले यौन हिंसा विरुद्द उजुरी रिर्पोटिङ्ग हुन थालेको छ । आरेककै तथ्याङ्कमा हेर्ने हो भने यौन हिंसा पछिल्लो त्रैमासिक भन्दा दोब्बर बढेको पाइएको छ । अघिल्लो त्रैमासिकमा कुल हिंसाको २२.४ प्रतिशत थियो भने यस त्रैमासिकमा ४५.९५ प्रतिशत पुगेको छ । घटनाहरूको रिपोर्टिङ्ग बढ्नु एकातिर प्रभावित व्यक्तिहरूले न्यायिक प्रक्रियाप्रति विश्वास गर्न थालेको संकेत हो भने अर्कोतर्फ हिंसाविरुद्ध बोल्ने हिम्मत बढ्दै गएको सकारात्मक संकेतका रूपमा पनि लिन सकिन्छ । यसले पीडितहरू मौन बस्न बाध्य नहुने र आफ्ना अनुभव सार्वजनिक गर्न सक्ने वातावरण विस्तार हुँदै गएको देखाउँछ ।
तर अहिले कोही प्रभावितले आफू विरुद्घ भएको हिंसाबारे बोले विशेषगरी यौन हिंसाका घटनामा प्रभावितहरुले सार्वजनिक रुपमा बोल्दा र सामाजिक सञ्जालमा प्रभावितबारे नकारात्मक टिका टिप्पणी गर्ने, प्रभावितलाई नै दोषारोपण गर्ने र घटनालाई सामान्यीकरण गर्ने प्रवृत्ति बढ्दो छ । जसले पीडितलाई थप मानसिक दबाबमा पार्ने मात्र होइन, आरोपितका परिवारलाई समेत सामाजिक रूपमा प्रभावित बनाउने अवस्था सिर्जना गर्छ । परिणामस्वरूप, केही घटनाहरू पुनः भित्रै दबिने जोखिम रहन्छ ।
यस अवस्थाले स्पष्ट रूपमा देखाउँछ कि घटनाको उजुरी बढ्नु मात्र पर्याप्त होइन; न्यायिक प्रक्रिया र सामाजिक वातावरण दुवै सुरक्षित र पीडित तथा प्रभावित मैत्री हुनु आवश्यक छ । प्रहरी प्रशासनले दर्ता भएका उजुरीलाई प्रभावकारी रूपमा अनुसन्धान गरी निष्पक्ष न्यायिक प्रक्रियामा लैजानु अत्यन्त आवश्यक छ । साथै, सामाजिक सञ्जालमा हुने पीडितविरुद्धका अनावश्यक टिप्पणी, चरित्रहत्या, दोषारोपण र संवेदनहीन बहसहरूलाई रोक्न स्पष्ट सामाजिक जिम्मेवारी र नियमन आवश्यक देखिन्छ । हिंसा कुनै पनि अवस्थामा स्वीकार्य होइन, र यस्ता घटनामा कानुनी प्रक्रिया अनिवार्य रूपमा अघि बढाइनुपर्छ । महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पितृसत्तात्मक सोच, सामाजिक सहिष्णुता र मौन समर्थन पनि यस्ता हिंसाका मूल कारण भएकाले ती विभेदकारी संरचनागत दृष्टिकोणहरूलाई चुनौती दिँदै परिवर्तन गर्नु आवश्यक छ । दोष प्रमाणित भएको अवस्थामा मात्र होइन, सबै पक्षमा निष्पक्ष अनुसन्धान, उत्तरदायित्व सुनिश्चितता र प्रभावकारी कानुनी कारबाही अनिवार्य रूपमा कार्यान्वयन हुनुपर्छ ।