महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारका घटनाप्रति ओरेकको गम्भीर ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा सञ्चार माध्यम मार्फत सार्वजनिक भएको महिलाको मर्यादामा आँच पु¥याउने व्यवहार, अनुचित दबाब तथा धम्की सम्बन्धी गम्भीर आरोप प्रति ओरेक को गम्भीर ध्यानाकर्षण भएको छ ।

यस घटनाले महिलाको सुरक्षा, सम्मान र मानवअधिकारका साथै राजनीतिक क्षेत्रमा क्रियाशील महिलामाथि सांसद जस्तो गरिमामय पद धारण गरेको व्यक्तिवाट नै भएको यस प्रकारको घटनाले महिलाको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको छ । नेपालमा महिलामाथि हुने हिंसाका घटनामा सामाजिक प्रतिष्ठा, राजनीतिक पहुँच, आर्थिक शक्ति र संस्थागत प्रभावका आधारमा प्रभावित महिलाको आवाज दबाउने, चरित्रमाथि प्रश्न उठाउने र न्याय प्रक्रियालाई प्रभावित पार्ने प्रवृत्ति अझै विद्यमान छ । यस्ता प्रवृत्तिले प्रभावित महिलालाई थप पीडा र असुरक्षीत बनाउनका साथै यस प्रकारका घटनाहरुले समाजमा दण्डहीनताको संस्कृतिलाई बलियो बनाउँछ । साथै राजनीतिक रुपमा अगाडी बढ्दै गरेका महिलाहरुलाई नेतृत्व तहमा आउन झन् हतोत्साहित गर्दछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको र छानबिनको निष्कर्ष नआएसम्म आरोपितलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको विषयलाई ओरेकले सकारात्मक रूपमा लिएको छ । तथापि, आन्तरिक छानबिनसँगै राज्यका सम्बन्धित निकायबाट घटनाको स्वतन्त्र, निष्पक्ष र प्रभावमुक्त अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न ओरेक जोडदार माग गर्दछ ।

साथै, सार्वजनिक भएका आरोपको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्दै प्रभावित महिला र उनको परिवारमाथि हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी उनीहरूको सुरक्षा, गोपनीयता र मर्यादाको संरक्षणका लागि तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । अनुसन्धानबाट आरोप प्रमाणित भएमा प्रचलित कानुनबमोजिम सम्बन्धित व्यक्तिलाई प्रतिनिधि सभा सदस्य पदबाट निलम्बन तथा पदमुक्तिसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउनुका साथै कानुनअनुसार हदैसम्मको कारबाही गर्न ओरेक जोडदार माग गर्दछ ।

महिलामाथि निजी तथा सार्वजनिक जीवनमा हुने कुनै पनि प्रकारका हिंसा, दबाब र धम्कीप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न तथा प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न ओरेक सम्बन्धित सबै पक्षसँग आग्रह गर्दछ ।

रेखा श्रेष्ठ शर्मा
कार्यकारी निर्देशक

  • Attention letter_Violence against women_2026 PDF 136 KB
    Download
Back to Top