Newsroom

प्रधानमन्त्रीज्यू ! हामी बच्चा जन्माउने मेसिन होइनौं

प्रधानमन्त्रीज्यू ! हामी बच्चा जन्माउने मेसिन होइनौं

प्रधानमन्त्रीज्यू ! हामी बच्चा जन्माउने मेसिन होइनौं

  • हामी बच्चा जन्माउने मेसिन होइनौं र नेताहरूले शासन गर्ने जमात उत्पादन गर्न हामीले ठेक्का पनि लिएका छैनौं । इच्छा लाग्दा भने कतिवटा, कहिले र कसरी जन्माउने यो हाम्रो निर्णयको कुरा हो । इच्छा लाग्दैन भने सन्तान जन्माउँदैनौं पनि ।

सुनिता मैनाली

काठमाडौँ — महिलावादी लेखिका सिमोन दे बुभुआले ‘द सेकेन्ड सेक्स’ कृतिमा पितृसत्तात्मक समाजले महिलाको शरीर, यौनिकता र प्रजनन क्षमतामाथि कसरी नियन्त्रण गर्छ भन्ने विषयमा गहिरो रूपमा आलोचनात्मक विश्लेषण गरेकी छन् ।

उनको विश्लेषणले राज्य, धर्म र कानुनजस्ता सामाजिक संस्थाले महिलाको यौनिकतालाई कसरी नियन्त्रित गर्छन् भन्ने कुरा बुझ्न एक सशक्त आधार प्रदान गर्छ । सन् १९४९ मा गरिएको यो विश्लेषण आज पनि उत्तिकै सान्दर्भिक छ ।

अहिले पनि दैनिक सयौं महिला कुटिएका छन्, मारिएका छन् । छोरी जन्माएकै कारणले महिला विभिन्न प्रकारका हिंसा भोग्न बाध्य छन् । शतप्रतिशत महिला घरभित्रको स्याहारमूलक काममा संलग्न छन्, जसको सामाजिक, सांस्कृतिक र कानुनी रूपमा मान्यता छैन । फेरि कामकै आधारमा विभेदित छन् । घरभित्र र बाहिरका कार्यक्षेत्रमा पाइला पाइलामा पितृसत्तालाई चुनौती दिई नै रहनुपरेको छ । पुष्टि गरी नै रहनुपरेको छ, म पनि समान हैसियतको नागरिक हो भनेर । सबैभन्दा जटिल कुरा त वैवाहिक सम्बन्धभित्रको असमान शक्ति सम्बन्ध र त्यसलाई वैधता दिने घरेलु हिंसा कसुर तथा सजाय ऐनको आडमा सयौं महिला मारिएका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा लैंगिकताका आधारमा १५ हजार ७ सय ५४ हिंसाका घटना अभिलेखीकरण भएका छन् । जसमा ७८.३ प्रतिशत घरेलु हिंसाका घटना छन् । यिनमा पनि प्रजनन उमेर समूहका महिलाको संख्या बढी छ । बलात्कारका घटनामा राजनीतिक चलखेल हुन्छ । ‘केस’ हरूलाई ‘होस्टाइल’ हुन बाध्य पारिन्छ अनि प्रभावितलाई नै दोषी ठहराइन्छ । के यस्ता भोगाइमा महिला बच्चा जन्माउन मानसिक र शारीरिक रूपले तयार होलान् ?

केही वर्षअघि मात्र नेपाललगायत कम विकसित देशलाई पश्चिमाहरूले करोडौंको परिवार नियोजनका साधन भित्र्याए, यसले महिलाको शरीरमा चाहिँ कस्तो प्रभाव पार्‍यो भन्ने विषयमा कसैको चासो रहेन । भलै यसले महिलालाई अनिच्छित गर्भधारण हुनबाट जोगायो तर यस्ता साधनको प्रयोग गर्न पाउनु महिलाको आफ्नो शरीरमाथिको निर्णय गर्न पाउने अधिकारको सवाल हो भन्ने भाष्य भने निर्माण हुन सकेन । आज आएर सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवटा बच्चा जन्माऊ भनेर अभिव्यक्ति दिइरहेका छन् ।

अहिलेको आर्थिक अवस्था जहाँ २६.६७ ट्रिलियन सार्वजनिक ऋणको भार छ, यस्तो अवस्थामा अहिलेको पुस्ताले यो भार बहन गर्न अर्को पुस्ता जन्माउनुपर्ने ? यो बेथिति र भ्रष्टाचारको भुमरीमा आफ्नो भविष्य रुमलिएको टुलुटुलु हेरेर आफ्नो मानसिक स्वास्थ्य बिगार्न हामीले बच्चा जन्माउनुपर्ने ? विश्वमा चलिरहेको नरसंहार, वातावरणीय संकट र मानवताविरोधी गतिविधिको मूकदर्शक बनेर धेरै सन्तान जन्माउनुपर्ने ? बजारमा श्रमिकको आपूर्ति खाडल पुर्दै पुँजीवादीहरूलाई अझ धनी बनाउन कहिल्यै थाक्न नमिल्ने फलामका हातहरू उत्पादन गर्नुपर्ने ?

प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय सन्धिहरू र संविधानको धारा ३८ मा उल्लेखित महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको व्यवस्थाविपरीत छ । एकातिर सदिऔंदेखि परिवार र समाजको दबाबमा महिलाले आफ्नो जीवनको इच्छा र खुसीको आहुति दिनुपर्ने र अर्कातिर राज्यको स्वार्थ पूरा गर्न हाम्रो शरीर तयारी अवस्थामा रहनुपर्ने ।

महिलाहरू परिवार र राज्यले नियन्त्रण गर्न मिल्ने बस्तु हाइनौं । हामी बच्चा जन्माउने मेसिन होइनौं र नेताहरूले शासन गर्ने जमात उत्पादन गर्न हामीले ठेक्का पनि लिएका छैनौं । हामीलाई इच्छा लाग्दा भने कतिवटा, कहिले र कसरी जन्माउने यो हाम्रो निर्णयको कुरा हो । इच्छा लाग्दैन भने सन्तान जन्माउँदैनौं पनि । बच्चा जन्माउन इच्छा भएकालाई राज्यले अहिलेको प्रतिस्पर्धात्मक, अत्यन्तै खर्चिलो बजार केन्द्रित अर्थ व्यवस्था र विभेदकारी सामाजिक व्यवस्थाको विकल्प दिएर सन्तान उत्पादनका लागि सहजीकरण गर्नुपर्छ । सन्तान उत्पादनलाई उत्पादनमूलक श्रमको मान्यता दिनुपर्छ ।

प्रधानमन्त्रीज्यू ! हामी बच्चा जन्माउने मेसिन होइनौं

https://ekantipur.com/opinion/2025/07/31/prime-minister-we-are-not-birthing-machines-00-57.html?fbcl

Related Posts

The Budget That Flatters the Middle and Forgets the Margins

Nationalism, the Rise of the Middle Class, and What Nepal’s

Looking at IMRF from the ground

Sunita Mainali Women’s Rehabilitation Centre (WOREC), Nepal From 5–8 May